इंल्याण्डलाई हराउँदै आइसल्याण्ड फ्रान्समा जारी युरोकप फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ।
गएराति भएको खेलमा इंल्याण्डमाथि २–१ गोल अन्तरको जित निकाल्दै पहिलो पटक युरोकप खेलिरहेको आइसल्याण्ड अन्तिम ८ मा प्रवेश गरेको हो।
एक सून्यले पछि परेको स्थिति उल्टाउँदै आइसल्याण्डले अन्तिम ८ मा स्थान पक्का गरेको हो। खेलमा अग्रता इंल्याण्डले चौथो मिनेटमै पेनाल्टी गोलमार्फत लिएको थियो। पेनाल्टीमा कप्तान वाइन रुनीले गोल गर्दै इंल्याण्डलाई सुरुवाती अग्रता दिलाए।
तर त्यसको दुई मिनेटपछि आइसल्याण्डका सेगुएडर्सनले गोल गर्दै खेल बराबरीमा ल्याए। यस्तै खेलको १८ औँ मिनेटमा आइसल्याण्डका लागि सिगोथर्सनले गोल गर्दै २–१ को अग्रता दिलाए।
पहिलो हाफमा २–१ को अग्रता कायम गरेको आइसल्याण्डले बाँकी समय बल आफ्नो नियन्त्रणमा राख्दै अग्रता जोगाएपछि इंल्याण्ड अन्तिम १६ बाटै घर फर्किन बाध्य भयो।
आइसल्याण्डले अब सेमिफाइनल प्रवेशका लागि अायोजक राष्ट्र फ्रान्सको सामना गर्नेछ।