नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले अब मुलुकको एजेन्डा आर्थिक समृद्धिको भएको बताएका छन्।
संविधान निर्माणपछि राजनीतिक कार्यभार पूरा भएकोले अब मुलुक आर्थिक एजेण्डामा केन्द्रित हुनुपर्ने उनको भनाइ छ।
नेकपा एमाले तिलोत्तमा नगर कमिटीद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले नेता पोखरेलले केपी ओली नेतृत्वको वर्तमान सरकारले प्रस्तुत गरेको बजेटले अबको दस वर्षमा मुलुकलाई अविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा पु¥याउने लक्ष्य लिएको बताए।
‘अहिलेको बजेट आर्थिक समृद्धिको दिशामा केन्द्रित छ, यसले नयँ युगलाई प्रतिनिधित्व गर्ने निश्चित छ। तसर्थ यो वर्ष नेपालको इतिहासमा विकास र समृद्धिको प्रस्थान वर्ष हो,’ पोखरेलले दाबी गरे।
अहिलेको सरकार राष्ट्रिय स्वाधीनताको जगमा निर्माण भएको र प्रधानमन्त्री ओली राष्ट्रिय स्वाधीनताको नायकको रुपमा स्थापित भएको दाबी गर्दै उनले मुलुक सधैंभरि अर्धऔपनिवेश भएर रहन नसक्ने दाबी पोखरेलले गरे।
‘छिमेकीको थिचोमिचोबाट मुलुक सधैंभरि चल्न सक्दैन, तसर्थ स्वाधीनताको जग बलियो बनाउनु जरुरी छ, जुन काम अहिलेको सरकारले गरेको छ,’ पोखरेलले भने।
संविधान निर्माणदेखि कार्यान्वयन तहसम्म कांग्रेस एमालेको मित्र शक्ति रहे पनि संविधान कार्यान्वयनको चरण सकिएपछि मुख्य प्रतिस्पर्धी पार्टीको रुपमा रहने बताउँदै कांग्रेसले पुँजीवादको नेतृत्व गरेको र एमालेले समाजवादको नेतृत्व गरेकाले यी दुई दल नै मुलुकका मुख्य प्रतिस्पर्धी दलको रुपमा स्थापित हुने उनले बताए।