प्रमुख सत्तारुढ दल नेकपा एमालेले स्थानीय, प्रदेश र संघीय तहको निर्वाचनको तयारीमा लाग्ने निर्णय गरेको छ।
एमालेको शनिबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रिपरिषद्ले पारित गरेको संविधान कार्यान्वयन कार्ययोजनाको स्वागत गर्दै अब तिनै तहको निर्वाचनमा ध्यान केन्द्रित गर्ने निर्णय गरेको हो। सरकारले आगामी मंसिर महिनामा स्थानीय, वैशाख जेठ महिनामा प्रदेश र २०७४ सालको कात्तिक मंसिर महिनामा संघीय संसदको निर्वाचन गर्ने कार्ययोजना दुई दिन पहिले सार्वजनिक गरेको थियो।
एमालेको स्थायी समितिले सरकारले सार्वजनिक गरेको कार्ययोजना कार्यान्वयनका लागि पूर्ण रुपमा सहयोग गर्ने निर्णय गरेको छ। बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईले कार्ययोजना अनुसार कानुन निर्माणका लागि सहयोग गर्न संसदीय दललाई परिचालन गर्ने निर्णय गरेको जानकारी दिए।
बैठकले सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका सम्बन्धमा असार १८ गते प्रदेश तहमा तथा असार २२ गतेदेखि २९ गतेसम्म जिल्लातहमा अन्तरक्रिया र सभा गर्ने निर्णय पनि गरेको छ। प्रदेश तहको अन्तरक्रिया र सभामा शीर्ष नेताहरू सहभागी हुने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए।
प्रदेश संरचना गठन सम्बन्धि एजेण्डामा भने बैठक प्रवेश गरेन। बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्था र सरकारका काम कारबाहीबारे जानकारी गराएका थिए।