‘ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ,नहटाउनुस् (पेसी) भन्नुहुन्छ’,अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीसँग मोबाइलमा भन्छन्। ‘हुन्छ भन्नुभा'छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,’ सेवाग्राही (वादी) कृष्णकुमारी ढकालले अन्तिम पेसीमा जितहारको सुनिश्चितता हुन्छ कि हुन्न भन्ने शंका व्यक्त गर्दै अधिकारीलाई जवाफ फर्काउँछिन्। नागरिक दैनिकमा समाचार छ।
‘मैले नै कुरा गरेको हो, नारायण श्रीमानमार्फत कुरा पुगिसकेको छ।’ अधिकारी विश्वस्त पार्दै थप्छन्, एकजना पदमराज भट्ट भन्ने न्यायाधीश हुनुहुन्छ क्या त्यहाँ, म घरमा गएको थिएँ, श्रीमानलाई त नारायण शाहले विपक्षीबाट भनेको रहेछ, मैले रियल कुरो बताएको छु, मेरा ६ जना रेडी छन् नहटाउ।’
‘यताबाट १० लाख दिए मिल्छ भन्छन्, म ढुक्क हौँ?’ वादी ढकालले मुद्दा मिलाउन आफूलाई अन्यले गरेको अफर सुनाइन्। दिदी हजुर, चिन्ता नलिबक्सियोस्, म सबै मिलाउँछु।’ अधिकारी ढकाललाई आस्वस्त पार्छन्।
पुनरावेदन अदालत पाटनमा चेक अनादरसम्बन्धी मुद्दामा अधिवक्ता र वादीबीच अन्तिम पेसीअघि भएको संवाद हो यो । संवादमा अधिवक्ताले पुनरावेदन अदालत पाटनका न्यायाधीश चण्डिराज ढकाल र पदमराज भट्टको नाम लिँदै मुद्दा मिलाउने आश्वासन दिइरहेको छन्।
नागरिकलाई प्राप्त संवादको अडियो रेकर्डमा विपक्षीले समेत नारायण शाह नामका व्यक्तिमार्फत न्यायाधीशसँग कुरा गरेको उल्लेख छ। प्रहरीले संवादका पहिलो पक्ष रहेका डिफेन्स ल फर्मका संचालक अधिवक्ता सञ्जयराज अधिकारीलाई मुद्दा मिलाईदिने भन्दै ठगी गरेको आरोपमो पक्राउ गरिसकेको छ ।