बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित सांसद बन्न स्नातक हुनुपर्ने प्रस्ताव तत्काललाई अघि नबढाउने भएको छ।
पार्टी प्रवक्ता खिमलाल देवकोटाले सोमबार सुरू भएको छलफल सत्रमा प्रतिनिधिले समूहगत छलफलमा सो विषय उठाए पनि तत्काल निर्णय नलिइने जानकारी दिएका हुन्। आधिकारिक दस्तावेजमा सो विषय नरहेको भन्दै देवकोटाले बहस भने जारी राखिने बताए।
यसैगरी नयाँ शक्तिले नयाँ केन्द्रीय समिति चयन नगरी राष्ट्रिय भेला टुंग्याउने निर्णय गरेको छ। आज बिहान बसेको सचिवालय बैठकले विधान, संगठनात्मक दस्तावेज पनि अहिले अनुमोदन नगरी छलफल जारी राख्ने, त्यसको सहजीकरणका लागि टोलीहरु घोषणा गर्ने र आगामी महाधिवेशनबाट सुझाव तथा परिमार्जनसहित अनुमोदन गरिने बताइएको छ।
हालकै ४ सय ९९ सदस्यीय अन्तरिम केद्रीय परिषद्लाई महाधिवेशन आयोजक समितिमा बदल्ने, नयाँ केन्द्रीय समिति नबनाउने समेत निर्णय भइसकेको छ।
यद्यपी काठमाडौंको प्रज्ञा भवनमा छलफल सत्र भने जारी छ। १२ वटा समूहमा विभाजित प्रतिनिधिले तीन वटा कार्यपत्रमाथि टिप्पणी गरिरहेका छन्।