फ्रान्समा जारी युरो कप अन्तर्गत मंगलबार समूह एफका २ खेल हुँदैछन्। आज हुने खेलहरूमा समूह एफबाट पहिलो खेलमा अष्ट्रिया र हंगेरी तथा दोस्रो खेलमा आइसल्याण्डले पोर्चुगलको सामना गर्नेछ।
अष्ट्रियाविरूद्ध हंगेरी

आज हुने पहिलो खेलमा अष्ट्रिया र हंगेरी एक आफसमा भिड्नेछन्। पेरिसस्थित स्टेड डे बोर्डेक्स रंगशालामा नेपाली समय अनुसार पौने १० बजे खेल हुनेछ।
दोस्रो पटक युरो कप खेल्न लागेको अष्ट्रियाले यसअघि सन् २००८ मा सह-आयोजकको हैसियतले प्रतियोगिता खेलेको थियो।
युरोकपमा समूह चरणभन्दा अगाडि बढ्न नसकेको अष्ट्रियाले अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा ठूलो सफलता भनेको सन् १९५४ मा विश्वकपमा पाएको तेस्रो स्थान हो।
युरो २०१६ को छनोट खेलमा ९ खेल जितेको अष्ट्रियाले १ खेलमा बराबरी खेलेको थियो।
यस्तै सन् १९७२ पछि पहिलो पटक युरो कप खेल्न लागेको हंगेरीका लागि सन् १९८६ पछि यो पहिलो मुख्य प्रतियोगिता हो।
सन् १९३८ र १९५४ मा विश्वकप फुटबलको फाइनल खेलेको हंगेरीले युरो कप २०१६ को प्ले अफमा नर्वेलाई हराउँदै प्रतियोगिता खेल्न लागेको हो।
हेड टु हेड
अष्ट्रिया र हंगेरीबीच अहिलेसम्म १३७ पटक भिडिसकेका छन्। जसमा हंगेरीले ६६ खेलमा जित निकालेको छ भने ४० खेलमा अष्ट्रियाले जितेको छ। ३१ खेल बराबरीमा सकिएका छन्।
प्लेयर्स टु वाच
बालाज डिसुडसा (हंगेरी)
बालाज हंगेरीका सर्वाधिक रूचाइएका विंगर हुन्। हंगेरीका कप्तानसमेत रहेका बालाज प्रतिभावान र चतुर खेलाडी मानिन्छन्। विगत ९ वर्षदेखि राष्ट्रिय टोलीमा रहेका उनले ७८ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।
यसैबीचमा उनले १८ अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका छन्।
दुई वर्षअघि हंगेरीका उत्कृष्ट खेलाडी घोषित बालाजबाट हंगेरीले निकै आषा राखेको छ। नेदरल्याण्ड र रसियामा व्यवसायिक फुटबल खेलेपछि हाल उनी टर्कीस क्लब बुर्सापोरबाट खेलिरहेका छन्।
डेबिड अल्बा (अष्ट्रिया)
अष्ट्रियाको हालको टोलीमा हाल एकसेएक प्रतिभावान खेलाडी छन्। ती मध्ये डेबिड एक हुन्। जर्मन क्लब बायर्न म्युनिखका खेलाडी अलबा नै टोलीका पहिलो रोजाइमा पर्छन्।
युरो कप छनोटमा ७ गोल गरेका उनी सेल्टर ब्याक र मिड फिल्डमा पनि उत्तिकै खेल्न सक्छन्। सन् २००९ देखि राष्ट्रिय टोलीमा खेल्न थालेका अल्बाले ४२ क्याप खेल्दै ११ गोल गरेका छन्।
आइसल्यान्ड भर्सेज पोर्चुगल

पहिलो पटक युरोकपमा खेल्दै गरेको आइसल्यान्डले समूह ‘एफ’ अन्तर्गत आफ्नो पहिलो खेल आज पोर्चुगलविरूद्ध खेल्दैछ।
छनोट चरणमा आइसल्यान्डले चेक रिपब्लिक, हल्यान्ड र टर्की जस्ता बलियो टोलीलाई हराएको पनि थियो।
यसैगरी लगातार छैठौ पटक युरो कपमा छनोट भएको पोर्चुगल सन् २००४ को उपविजेता पनि हो। ग्रिससँग १-० गोलले पराजित भएर उपविजेतामा चित्त बुझाएको पोर्चुगल पछिल्लो समय लयमा छ।
युरो छनोट अन्तर्गत उसले ७ खेलमा जित निकाल्दा एक खेल गुमाएको थियो।
हेड टु हेड
हेड टु हेडमा पोर्चुगल अगाडि रहेको छ। गत युरोपियन च्याम्पियनसिप २०१२ छनोटमा यी दुई राष्ट्रबीच दुई खेल भएको थियो। पोर्चुगलले पहिलो खेलमा ५–३ ले र दोस्रो खेलमा ३–१ ले जितेको थियो। दुवै खेल जिते पनि त्यतिबेला पनि आइसल्यान्डले पोर्चुगलविरुद्ध चार गोल गरेको थियो।
प्लेयर्स टु वाच
क्रिष्टियानो रोनाल्डो (पोर्चुगल)
युरो २०१६ मा सबैभन्दा प्रभावशाली खेलाडीको रूपमा क्रिस्टियानो रोनाल्डोलाई लिन सकिन्छ। कप्तान समेत रहेका रोनाल्डोबाट पोर्चुगलले धेरै आषा लिएको छ। इंलिस क्लब म्यान्चेष्टर युनाइटेड हुँदै स्पेनिस क्लब रियल म्याड्रिडमा आवद्द रोनाल्डोले क्लब फुटबलमा सबैभन्दा ठूलो प्रतियोगिता जितिसकेका छन्।
सन् २००७ यता पोर्चुगिच राष्ट्रिय टोलीको नेतृत्व गर्दै आएका उनी तीन पटक फिफा वर्ष खेलाडी बनेका थिए। उनले १८ वर्षकै उमेरमा युरोकपमा डेब्यु गरेका हुन्।
सन् २००४ को युरो कपमा पहिलो पटक खेलेका रोनाल्डोले अहिलेसम्म देशका लागि उपाधि दिलाउन सकेका छैनन्।
ग्लेफी सिगर्डसन् (आइसल्याण्ड)
२३ वर्षिय सिगर्डसनले सन् २०१० यता राष्ट्रिय टोलीबाट खेलिरहेका छन्। ३९ क्याप जितेका उनले १३ अन्तर्राष्ट्रिय गोल गरेका छन्।
छनोट चरणको खेलमा १० खेलबाट उनले ६ गोल गरेका थिए। उनी हाल स्वान्सी सिटीबाट व्यवसायीक फुटबल खेलिरहेका छन्।