धेरै सभ्यता र संस्कृतिको घुलमिलले नै नेपाललाई सहिष्णु बनाएको हो
हामीले लामो समयदेखि 'नेपाली समाज सहिष्णु छ' भन्दै आएका छौं। सामन्तवादबाट गुज्रिँदै गर्दा विश्वका थुप्रै सामन्ती समाजभन्दा हिजोको नेपाली सामन्ती समाज उदार तथा सहिष्णु थियो र आजको समाज पनि छ। यसका धेरै कारण छन्। मुख्यत: धेरैवटा सभ्यता र संस्कृतिका मानिस घुलमिल भएर बसोबास गर्नु नै प्रमुख कारण हो। जहाँ धेरैवटा सभ्यता र संस्कृतिको समानस्तरको बसोबास छ, जहाँ एकले अर्कालाई निषेध गर्न सक्दैन, त्यहाँको समाज स्वत: सहिष्णु हुन पुग्छ। त्यहाँ एकअर्कालाई स्वीकार गर्नुको विकल्प हुँदैन। त्यसैले, नेपाली समाज किन सहिष्णु भयो भन्ने प्रश्नको जवाफ खोज्दा नेपालमा कुन-कुन सभ्यता कसरी आइपुगे भन्ने अध्ययन गर्नुपर्ने हुन्छ।
नेपालको इतिहास अध्ययनका लागि प्रशस्त लिखित सामग्री फेला पर्दैन। लिखित ग्रन्थ फेला पर्ने भनेको लिच्छवी कालदेखिको मात्रै हो। त्यसभन्दा अघिको कथा भन्ने गोपालराज वंशावलीले हो। त्यो पनि बाग्मती उपत्यकाको कथा हो तर बाग्मती उपत्यका बाहिर पनि त नेपाल छ। त्यहाँभन्दा पर दैलेख, दुल्लुको शिलालेखसम्म पुगेका छन्। तर, नेपालको वास्तविक इतिहास थाहा पाउन त्यहाँभन्दा पर जानु आवश्यक छ।
नेपालबारे सुरुमा चिनियाँ र बेलायतीहरूले लेखे। त्यो उनीहरूको दृष्टिकोणमा, उनीहरुकै प्रयोजनका लागि लेखिएको हो। यद्यपि त्यो राम्रै कुरा थियो-- कम्तिमा केही इतिहास लेख्न त लेखियो। त्यसैगरी नेपालबारे थाहा पाउन केही कुरा चीन-तिब्बतको इतिहासबाट अध्ययन गर्नुपर्छ। भारतको उत्तराखण्डको इतिहास हेर्नुपर्छ। नेपालका विभिन्न समुदायको संस्कृति, भाषा र परम्परा अध्ययन गर्नुपर्छ। हामीसँग उपलब्ध सबै प्रकारका धार्मिक पुस्तक, श्रुतिपरम्पराका गाथा, गीतहरू सबै एकै ठाउँमा राखेर समग्रमा अध्ययन गर्नु आवश्यक छ। धार्मिक परम्परा र कुलपूजाजस्ता कुरा समेत एकै ठाउँ राखेर समग्रमा हेर्नुपर्छ।
यस आधारमा विश्वमा विकसित भएका पाँच महासभ्यताका विरासत नेपालमा पाइन्छ।
१. ह्वाङहो र याङ्सी नदीको महासभ्यता
चिनियाँ महासभ्यता दुईवटा विशाल नदी, ह्वाङहो र याङ्सीको किनारमा विकास भएको हो। त्यही महासभ्यताबाट पटक-पटक मानव समूह तिब्बत हुँदै नेपालको आजको भूखण्डमा प्रवेश गरेको छ। यो प्रजाति मंगोलिया आसपासको क्षेत्रमा आधुनिक मानव, होमोस्यापेन्सको अवस्थामा आइपुगेको हो। त्यसैले उनीहरूलाई मंगोलियन पनि भन्ने गरिन्छ।
संसारका अधिकांश ठूला सभ्यता नदी किनारमै विकास भएका हुन्। चीनमा दुईवटा विशाल नदी ह्वाङहो र याङ्सीको किनारमा उनीहरूको सभ्यता विकसित भयो। चिनियाँ इतिहासमा पनि यही भनिएको छ। त्यहाँबाट केही समूह अहिलेको नेपाली भूखण्डमा आइपुगे।
जसमध्ये एउटा समुदाय बाग्मती उपत्यकासहित पूर्वतर्फ बर्मासम्म फैलियो। यो प्रजातिलाई हामी किरात भन्छौं। तिब्बतको किरात नामसँग मिल्दो कुनै थलोमा केहिकाल बसोबास गरेको हुनाले उनीहरूको सभ्यताको नाम नै किरात रहेको मानिन्छ। बाग्मती उपत्यकामा मात्रै किरातहरूले ३२ पुस्तासम्म शासन गरेको सबैले मानेकै छन्। यो अवधी भनेको कम्तीमा पनि एकहजार वर्ष हो। उपत्यकाबाट किरातहरू लखेटिएको सन् १७१ देखि २०० को बीचमा हो।
नेवार भाषामा अहिले पनि नदीलाई 'खुशी' भनिन्छ। यो किरात भाषाको शब्द हो। यही 'खुशी' पछि 'कोशी' भएको हो। किरात राईहरूको बसोबास भएको क्षेत्रसम्म नदीको नाममा कोशी जोडिएको छ। त्यसयता किरात लिम्बु जातिको बसोबास भएको क्षेत्रमा नामपछाडि 'वा' लाग्छ, जस्तो 'काँवा'। ताप्लेजुङ-पाँचथरमा बग्ने कावेली नदीको संक्षिप्त लिम्बु भाषाको नाम काँवा हो। यो पनि किरात भाषाकै शब्द हो। अहिले पनि नेवार भाषामा आकाशबाट पर्ने पानीलाई 'वा' भनिन्छ। यसले पनि किरातहरू बाग्मती उपत्यका हुँदै पूर्वतर्फ फैलिएका हुन् भन्ने देखिन्छ।
महाभारतको युद्धमा समेत किरातहरुको उपस्थिति देखिन्छ। उनीहरू कौरवको पक्षबाट युद्ध लडेका थिए। महाभारत भनेको आजभन्दा करिब तीन हजार वर्ष पहिलाको हो। अर्थात्, तीन हजार वर्षपहिला नै उनीहरू गंगामैदानसम्म फैलिएका थिए।
महाभारतको समयभन्दा पहिले नै उनीहरू नेपाल आइसकेका र त्यसपछि एउटा झुन्ड गंगा मैदानतिर गएको हुनसक्छ। अथवा, तिब्बतबाट गंगामैदानमा फेरो मारेर पछि नेपाल प्रवेश गरेको हुनसक्छ। यो अहिले नै भन्न सकिन्न। तर, यस आधारमा उनीहरू तीनदेखि पाँच हजार वर्षअघि नेपाल आएका हुन् भन्ने प्रस्ट हुन्छ।
उनीहरू ह्वाङहो र याङ्सी महासभ्यताबाटै आएका हुन् भन्नलाई प्रशस्त प्रमाण छन्। उनीहरूमा भएको खादा संस्कृति यसको प्रमाण हो। चीनमा खादा संस्कृतिको अध्ययन गर्दै जाँदा इतिहासकारहरू ५२ सय वर्ष पहिलेसम्म पुगेका छन्। यही संस्कृतिको निरन्तरता किरातहरूमा र उत्तरबाट आएका अरु समुदायमा पनि छ। किरात सम्बतलाई हेर्ने हो भने यो कुरा पुष्टि हुन्छ। अहिले किरात येले सम्बत् ५०७६ पुगिसकेको छ। ह्वाङ्हो र याङ्सी नदी किनारमा विकसित सभ्यताबाट सुरु भएका सवंतहरू पनि पाँच हजार वर्ष आसपासका छन्।
यतैबाट अर्को कालखण्डमा आएको अर्को मानव समुदाय बाग्मती उपत्यका पश्चिमतर्फ गयो। यो समुदायले गण्डकी सभ्यता निर्माण गरेको छ। त्रिशुलीदेखि कालीगण्डकी नदीभित्रको भूभागमा उनीहरूको बसोबास छ। मगर र गुरुङ यहाँका प्रमुख जाति हुन्। मगरहरू अलि अगाडि यो भूगोलमा आएको देखिन्छ। किनकि उनीहरूको ल्होसार परम्परा छैन। उनीहरूको आफ्नै माघी परम्परा छ। उनीहरुभन्दा अलि पछि आएका गुरुङहरूसँग ल्होसार परम्परा छ।
उत्तरतिरबाट सबैभन्दा पछि आएको ठूलो समुदाय तामाङ हो। उनीहरू पछि आएको किन पनि देखिन्छ भने उनीहरूको बसोबास भएको भूभागका मुख्य नदीहरूको नाम तामाङ भाषामा छैन, किरात भाषामा नै छ। अर्थात् उनीहरू आउनुपूर्व नै किरातहरूले नदीका नाम राखिसकेका थिए।
यी उत्तरी सभ्यताबाट आएका प्रमुख समुदाय हुन्। उनीहरूको जनसंख्या नेपालको कुल जनसंख्याको २५ प्रतिशत जति छ। राई, लिम्बु, गुरुङ, मगर र तामाङबाहेक अरु थुप्रै जातिहरू यो समुदायमा पर्छन्।
२. आष्ट्रिक र द्रविड महासभ्यता
आर्यहरू सिन्धुघाटी प्रवेश गर्नुअगावै त्यहाँ आष्ट्रिक र द्रविड सभ्यता विकसित भइसकेको थियो। आर्यहरू सिन्धुघाटी आजभन्दा पाँच हजार वर्षपहिले प्रवेश गरेको मानिन्छ। यो संसारका पुराना र ठूला सभ्यतामध्ये एक हो। आर्यहरूले राम्रोसँग खेतीपाती पनि गर्न नथालेको समयमा उनीहरूले नहर सहितको ठूला सभ्यता निर्माण गरेका थिए।
त्यही महासभ्यताबाट केही मानव समूह नेपाली भूखण्डमा आइपुगे। तराईका अधिकांश जनजाति यो सभ्यताबाट आएका हुन्। थारू, राजवंशी, ताजपुरिया, दनुवार लगायतका जाति यो सभ्यताबाट आएका समुदाय हुन्। तराईमा रहेका पासवान लगायतका समुदायले पनि यो दाबी गरेका छन्। यद्यपि पुष्टि भएको छैन।
यो सभ्यताका मानिस नेपालमा मात्रै नभएर सीमा जोडिएको भारतीय भूखण्डमा विशाल संख्यामा छन्। उनीहरू द्रविड अर्थात् आग्नेय परिवारको भाषा बोल्छन्। भारतमा अरू थुप्रै जातिले यो परिवारमा पर्ने भाषा बोल्छन्। उनीहरू सबै यही महासभ्यताबाट विकसित भएका समुदाय हुन्।
नेपालमा उनीहरूको १० देखि १२ प्रतिशत जनसंख्या छ। यो सानो संख्या होइन। तर, यो समुदाय कहिले नेपाल आइपुग्यो भन्ने आधार केही भेटिँदैन। रानाथारूहरू भने १२ औं शताब्दीको आसपास आएको मानिन्छ। तर दगौरा लगायतका थारू र अरू आष्ट्रिक तथा द्रविड जाति योभन्दा सयौं वर्षअघि नै यो भूमिमा आइसकेका हुन्। औलोसमेत पचाएर बसेको उनीहरूको शरीरले नै भन्छ- उनीहरू यो भूखण्डमा धेरै पहिले आएका हुन्।
३. खस महासभ्यता
नेपाल प्रवेश गर्ने आर्यहरूको दुई समूह छ, एउटा ककेसियन र अर्को वैदिक आर्य।
युरोपबाट यात्रा सुरु गरेर मध्यएसियाको ककेसिया हुँदै गंगा मैदानसम्म एउटा समुदाय फैलिएको छ। उनीहरू मानसरोवर हुँदै नेपाल र दक्षिणतिर प्रवेश गरेको देखिन्छ। यो समुदायलाई खस भनिन्छ। महाभारत युद्धमा पनि यो समुदायको सहभागिता देखिन्छ। खसहरू कौरवका तर्फबाट युद्धमा सहभागी भएका थिए। यसले उनीहरू तीन हजार वर्षपहिले नै गंगा मैदानसम्म फैलिसकेका थिए भन्ने देखिन्छ। तर किरातजस्तै उनीहरू पनि पहिला गंगामैदान गएर नेपाल आए वा नेपालबाट एउटा झुन्ड त्यता फैलियो भन्ने निर्क्योल हुन सकेको छैन। सन् २०० सम्ममा उनीहरुले नेपालको भेरी नदी पारीदेखि भारतको गढवालसम्म आफ्नो राज्य स्थापित गरेका थिए भन्ने सबैजसो इतिहासकारले स्वीकार गरेका छन्।
उनीहरूलाई कसले खस भन्यो, भन्न गाह्रो छ। उनीहरूलाई खस नामाकरण गर्ने कि त वैदिक आर्य हुनुपर्छ कि त द्रविडहरू हुनुपर्छ। ककेससबाट आएको हुनाले कसबाट अपभ्रंश भएर खस भएको हुनसक्छ। 'खस मिर' बाट नै काश्मिर भएको हो।
नेपालमा उनीहरू मस्टोपूजकका रुपमा चिनिन्छन्। उनीहरू कुल देवताका रुपमा मस्टो पूजा गर्छन्। यो समुदायमा जात व्यवस्था थिएन। नेपालमा उनीहरूको मुख्य केन्द्र जुम्ला र डोटी हो। कहिले डोटी राज्य विस्तार हुने र जुम्ला खुम्चिने तथा कहिले जुम्ला विस्तार हुने र डोटी खुम्चिने भएको देखिन्छ। पाँचौ शताब्दीसम्ममा सिञ्जा एउटा ठूलो साम्राज्य नै विकसित भइसकेको थियो।
त्यस्तै डोटीलाई केन्द्र बनाएर विस्तार भएको डोट्याल भाषाको प्रभाव यो क्षेत्र हुँदै अहिले भारतमा पर्ने कुमाउँ, गढवाल लगायत भूभागसम्म फैलियो। यो भाषाको प्रभाव बाग्मती उपत्यकासम्म पनि आइपुग्यो। काठमाडौंको नाम यही भाषामा रहन गयो। डोट्याल भाषामा माडौं भनेको मन्दिर हो। काठमाडौंको अर्थ 'काठको मन्दिर' भन्ने हुन्छ। खसका मुख्य तीन विशेषता छन् - मस्टोपूजक, मतवाली (जाँडरक्सी खाने) र जात व्यवस्था नभएका।
४. वैदिक आर्य महासभ्यता
आर्यहरूकै अर्को समूह सिन्धुघाटी हुँदै गंगामैदानतर्फ फैलियो। वेद, उपनिषद र पुराणहरू रचना गरेर, महाभारतकाल हुँदै मनुस्मृति रचना भएपछि उनीहरू पश्चिमतिरबाट नेपाल प्रवेश गरे। नेपाल आउने क्रम दसौं शताब्दीपछि सुरु भएको देखिन्छ। इरानी मुसलमानहरूले भारतमा धेरैपटक आक्रमण गरिसकेपछि यो क्रम अलि तीब्र भएको देखिन्छ।
उनीहरू जात व्यवस्थासहित यता आएका हुन्। पछि खस राजाहरूसँग मिलेर उनीहरूले पश्चिममा जात व्यवस्थासहित हिन्दुकरण गरेको देखिन्छ।
यिनै दुई महासभ्यता मिसिएर अहिले खस-आर्य भन्ने परिचय बनेको छ। अहिले त को खस को वैदिक आर्य छुट्याउन नसकिने भएको छ। तर उसको कुलदेवता के हो भनेर छुट्याउने हो भने खस र वैदिक आर्य छुट्याउन सकिन्छ। हिन्दु देवीदेवतालाई कुल देवता भन्ने वैदिक आर्य र मस्टोलाई कुल देवता मान्ने अवैदिक खस आर्यहरू हुन्।
सुरुमा पश्चिम नेपालमा आइपुगेका वैदिक आर्यहरूले डोट्याल भाषा ग्रहण गरे। पछि यही भाषा अहिलेको नेपाली भाषा बन्यो। यी खस-आर्य अहिलेको पहाडी समुदायका रुपमा विकसित भए।
यिनै वैदिक आर्य अर्को किसिमले पनि नेपाली भूमिमा आइपुगे। गंगा मैदानबाट क्रमश: बस्ती फैलिँदै फैलिँदै नेपालको तराईसम्म उनीहरू आइपुगेका छन्। राजा जनक र गौतम बुद्धको समयअघि नै यहाँसम्म उनीहरूको बस्ती फैलिसकेको देखिन्छ। यसरी फैलिएको बस्तीमा अष्ट्रिक र द्रविडहरू पनि छन्। उनीहरू जात व्यवस्थासहित यहाँसम्म आइपुगेका हुन्। वैदिक आर्यको यो समूह नै अहिले मधेसी भनेर चिनिन्छ।
५. इस्लाम महासभ्यता
इस्लाम १४ सय वर्षअघि अरबमा विकसित भएको महासभ्यता हो। उनीहरू भारत हुँदै नेपाल आइपुगेका छन्। नेपालको कुल जनसंख्याको करिब पाँच प्रतिशत जनसंख्या इस्लाम समुदायको छ।
नेपालमा कति प्रकारका मुसलमान छन् भनेर अध्ययन चलिरहेको छ। बाग्मती उपत्यकामा मल्लकालमा भित्र्याइएका मुसलमानहरू छन्। उनीहरू चुराधागो बनाउने लगायत केही प्राविधिक कामका लागि भित्र्याइएका थिए। भारतको काश्मिरबाट आएको हुनाले उनीहरूलाई काश्मिरी मुसलमान भन्ने गरिन्छ। काश्मिरी बजार र काश्मिरी जामे मस्जिद भनेर नै नामाकरण पनि भएको छ।
यसैगरी नेपालमा टर्किस मुसलमान पनि छन्। उनीहरू के प्रयोजनाका लागि कहिले नेपाल आए भन्ने धेरै अध्ययन भएको छैन। उनीहरूलाई अहिले पनि तुर्की मुसलमान भन्ने गरिन्छ र उनीहरू आफैं पनि आफू टर्कीबाट आएको विश्वास राख्छन्। भारतबाट अरू जनसमुदायसँगै फैलिँदै फैलिँदै नेपालको तराईमा बसोबास गर्न थालेको मुसलमान समुदाय पनि छ। नेपालमा सबैभन्दा उपेक्षामा परेको समुदाय भएकाले मुसलमानबारे त्यतिधेरै अध्ययन नै हुन सकेको छैन।
मुस्लिमहरूको नेपालमा बसोबास नयाँ होइन। उनीहरू ५०० वर्षभन्दा अघिदेखि बसोबास गरिरहेका छन्। इस्लाम धर्ममात्रै नभएर एउटा महासभ्यता हो। हिन्दू राज्यले यता मनुस्मृति बनाएझैं उता सरियत कानुन बनाइयो। तर त्यो शासकहरूले आफ्नो स्वार्थ रक्षाका लागि बनाएको हो। कुरानसम्म जाँदा अर्कै कुरा छ।
नेपाल यी पाँच महासभ्यताहरूको महासंगम हो। यिनै महासभ्यताबाट विकसित समुदायहरू नेपालमा बसोबास गर्छन। तर, हामीले नेपाललाई यसरी बुझ्ने चेष्टा गरेका छैनौ। बेलायतीहरूलाई नेपालका यस्ता कुरामा चासो राख्नु नै थिएन। त्यसैले उनीहरूले लेखेको इतिहासमा यो कुरा आएन। बेलायती शिक्षा नै पढेकाहरूले पनि त्यही दृष्टिकोणले नेपालको इतिहासलाई बुझे। बनारस विश्वविद्यालय पढेकाले वैदिक आर्यको दृष्टिकोणबाट मात्रै इतिहासलाई हेरे। त्यसैले हाम्रो इतिहासको सही व्याख्या भएन।
कतिपय प्रसंगलाई शासकहरूले आफ्नो स्वार्थअनुसार लेखाए वा व्याख्या गर्न लगाए। इतिहासका धेरै कुरा लुकाइयो पनि। जस्तो, जुम्लामा अहिले पनि मतवाली खसहरू छन्। उनीहरू हिन्दुकरण हुन नमानेका विद्रोही खस हुन्। उनीहरूको बारेमा कतै चर्चा भएको छ? शासकको स्वार्थ रक्षाका लागि उनीहरूको चर्चा आवश्यक भएन। कतिपय इमानदार इतिहासकारको ज्ञानको सीमाका कारण पनि इतिहासको सही व्याख्या भएन। कतिपयले बोल्ने आँट नगरेको पनि हुनसक्छ।
नेपाल यी विभिन्न महासभ्यताको संगम हो भन्ने स्वीकार गरियो भने मात्रै हामीले लोकतन्त्रलाई सम्मुनत, समावेसी र सबैका लागि स्वीकार्य बनाउन सक्छौं। नत्र भने फेरि पनि कुनै समुदायले अतिरिक्त लाभ पाइरहने र कुनै समुदायले विभेद र हिंसाको सामना गरिरहनुपर्ने हुन्छ।
नीति निर्माता, कर्मचारी तथा राजनीतिज्ञले त यी कुरा बुझ्नैपर्ने हुन्छ। पाँचवटा महासभ्यतासँग सम्बन्धित समाज नेपालमा छन् भनेर स्वीकार गरियो भने मात्रै यी सभ्यतामाझ सन्तुलन ल्याउन सकिन्छ। त्यसपछि मात्रै आर्थिक र राजनीतिक नीति बनाउँदा यी सभ्यता र संस्कृतिलाई ध्यानमा राख्ने काम हुन्छ। यसले नेपालको वास्तविक लोकतन्त्रको अभ्यास सुरु गर्न सहयोग पुर्याउछ। अन्यथा थाहा नभइकन वा नियोजित रुपमा कुनै समुदायले अतिरिक्त लाभ पाइरहने र कुनै समुदायमाथि विभेद र अन्याय भैरहने हुन्छ, नेपालमा अहिले भइरहेको त्यही हो।
उदाहरणका लागि, लोकसेवा आयोगको लिखित परिक्षामा नाम निकालेको मुस्लिमलाई बहुविवाहबारे प्रश्न सोध्यो भने के जवाफ आउँछ? उसले चारवटासम्म बिहे गर्नु त ठीकै हो भन्न सक्छ। तर, मुस्लिम महासभ्यता नै नबुझेको मानिसले अन्तर्वार्ता लियो भने त त्यो उम्मेद्वार स्वत: फेल हुन्छ।
त्यसैले इतिहास पढ्नकै लागि मात्रै यी कुरा अध्ययन गर्ने होइन। प्रत्येक नीति बनाउँदा यो कुरा हेक्का राख्नुपर्ने भएकाले यो इतिहास सबैले थाहा पाउनुपर्छ। लोकतन्त्रलाई नेपाली समाज सापेक्ष बनाउन पनि नेपाली समाजमा पाँच महासभ्यताको संयोजन छ भन्ने स्वीकार गर्नुपर्छ।