नेकपा ( एमाले ) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा सबै दलको सहभागिताको राष्ट्रिय सरकारको निर्माणको आवश्यकतामा जोड दिएका छन्।
जनकपुर विमानस्थलमा शनिबार पत्रकारसँग कुराकानी गर्दै उनले कुरा कम, काम धेरै गर्ने पद्दतिको विकासतर्फ उन्मुख हुनु जरूरी रहेको बताए।
सविधानप्रति असन्तुष्टि रहेकाहरुका लागि वार्ताको वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले संविधानप्रति असन्तुष्टि, द्विविधा र अविश्वासलाई हल गर्ने प्रयासको खाँचो औँल्याए।
उनले जनतालाई पीडा, कष्ट दिने काम कुनै पनि पक्षबाट हुनु हुँदैन भन्दै नेपालमा भएका सबै जाति, समुदायले पराया नभएको अनुभूतिको वातावरण निर्माणतर्फ ध्यानाकर्षण गराए।
पूर्व नेपालले २ नम्बर प्रदेशमा विकासका प्रशस्त सम्भावना भएको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले पहिलो चरणमा सप्तरीदेखि पर्सासम्म र दोस्रो चरणमा लुम्बिनीसम्म रेल सेवाको विस्तार, हुलाकी सडकको निर्माण, कृषि, तरकारी, पशुपालन र पर्यटनको विकासमा सबै जुट्नुपर्ने बताए। रासस