सुनचाँदीका गरगहना चोरी गर्ने दुई भारतीय नागरिकलाई झापा प्रहरीले शुक्रबार जिल्लाको बिर्तामोडबाट पक्राउ गरेको छ। बिर्तामोड-६ स्थित मुक्ति ओझाको घरको दराजमा राखिएको १ लाख ४७ हजार ४ सय ५० मुल्य बराबरका धातुका गहना चोरी गरेको अभियोगमा दुई भारतीय मजदुरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय बिर्तामोडका डिएसपी खड्गबहादुर खत्रीले बताए ।
प्रहरीका अनुसार दार्जीलिङ्ग बस्ने खोकन बर्मन र कौशिक बर्मनलाई पक्राउ गरिएको हो। उनीहरुले ओझाको तिनतले पक्की घरको एक कोठामा राखिएको दराजको चाबी फुटाएर गरगहना चोरी गरेको आरोप प्रहरीले लगाएको छ।
पक्राउ परेका दुबै जनाले प्रहरीसमक्ष आफूहरु ओझाको घर छेउमै निर्माण हुँदै गरेको घरमा ज्यामी काम गर्ने गरेको बताए। उनीहरुले निर्माणधीन घरको साहायताले ओझाको घरको कोठामा पसेर सुनका गरगहना चोरी गरेको वयान प्रहरीलाई दिएका छन्। उनीहरुविरुद्ध कारबाहीका लागि प्रक्रिया थालिएको प्रहरीले जनाएको छ।