पाँच वर्षजति अघिको कुरा हो। साँझको बेला थियो। डा. आभाष लाभ भर्खरै आफ्नो क्लिनिक फर्किएका थिए।
क्लिनिकमा काम गर्नेले भने, ‘सरलाई दिउँसो एक जना मान्छे भेट्न आएको थियो।’
आभाषले भेट्न आउनेको हुलिया सोधे। कामदारले भने, ‘तपाईंजस्तै ‘इन्डियन’ थियो।’
...
संघीय गठबन्धनको राजधानीकेन्द्रित आन्दोलनको दोस्रो दिन सोमबार गायिका आस्था राउतको ‘चौबन्दीमा पटुकी’ बोलको गीतलाई प्यारोडी बनाएर गाएपछि डा. आभाष लाभ एकाएक चर्चित बने। कसैलाई गाली नगरी अधिकार माग गर्नु नै उनको प्यारोडीको सशक्त पक्ष रहेको भन्दै धेरैले प्रशंसा गरे। सामाजिक सञ्जालदेखि छरछिमेक, विदेशसम्म उनका प्रशंसक बढेका छन्।
बुधबार सेतोपाटीसँग गफिँदै गर्दा डा. आभाषको फोन बज्यो। उताबाट बोल्नेको आवाज प्रस्टै सुनिन्थ्यो, ‘डाक्साब त राम्रो गाउनुहुँदो रै’छ त!’
आभाषले भने, ‘पेसेन्टका लागि पो म डक्टर। मेरो ठाउँमा त मलाई गायक नै भनेर चिन्छन् नि।’
खासमा आभाष गायक नै हुन्।
पेसाले दन्तचिकित्सक आभाष करिब एक दशकदेखि अनामनगरमा डेन्टल क्लिनिक चलाउँछन्। चिकित्सक बन्नुअघि उनी गायनमा सक्रिय थिए। मैथिली भाषामा गाउने भएकाले राजधानीले उनलाई चिनेको भने थिएन।
उनका बाबु राजेन्द्र विमल प्रख्यात नेपाली साहित्यकार हुन्। भाषा साहित्यमा योगदान पु¥याएबापत विमलले थुप्रै सम्मान पाइसकेका छन्। विमलले हालै नेपाल प्रज्ञा प्रतिष्ठानबाट सामाजिक शास्त्र, संस्कृति र दर्शनतर्फ पुरस्कार प्राप्त गरेका छन्।
बाबुकै प्रेरणा पाएर आभाषले सानै उमेरदेखि गीत गाउन थालेका थिए। २० देखि ३० वर्ष उमेरमा उनी सक्रिय गायक थिए। गीत गाउनकै लागि थुप्रै देश चहारिसकेका छन्।
२९ वर्ष उमेरमा भारतबाट डाक्टरी पढेर आएपछि र बिहे गरेपछि उनको गायन छायामा प¥यो। निष्क्रिय भने होइन। उनी अहिलेसम्म मिथिला क्षेत्रमा चल्तीकै गायकमा पर्छन्। मैथिलीबाहेक भोजपुरीमा करिब आधा दर्जन गरी डेढ सयभन्दा बढी गीत गाएका आभाषले नेपाली गीत भने गाएका थिएनन्।
मधेसमा आन्दोलन चलेपछि दर्जनौं मारिए। केही महिनाअघि मात्र उनले ‘प्रहरी न मधेसी, मर्ने मारिने नेपाली नै हुन्’ भन्ने भावमा गीत लेखेर श्रद्धाञ्जली गीत रेकर्ड गराएका थिए। त्यो गीत पनि मैथिली भाषामै थियो।
यता मधेस आन्दोलनसँगै भारतीय नाकाबन्दीले काठमाडौं आक्रान्त थियो। कतिले भारतीयलाई गाली गर्थे भने कतिले मधेसीलाई। राजधानीको केन्द्र मानिने सिंहदरबारको पूर्वी गेट, अनामनगरमा साहित्यकारदेखि, पत्रकार, कलाकार, राजनीतिज्ञदेखि सरकारी कर्मचारीको भेटघाट र चिया गफ हुने गर्छ। यही ठाउँमा क्लिनिक चलाएर बसेका आभाषले मधेस आन्दोलनपछि अनामनगरका चिया गफलाई ‘आउटसाइडर’ बनेर सुने। थुप्रैपटक आफ्नै अगाडि कानमा मधेसीसँगै ‘भारतीय दलाल’ शब्द ठोक्किन्थे।
‘अनामनगरले सम्मान दिएको छैन भन्न मलाई पाप लाग्छ,’ उनले भने, ‘तर मेरै अघि मधेसलाई भारत भनिन्थ्यो। भन्नेको भावमा मलाई तिरस्कार त हुन्थेन तर मबाहेक सबै मधेसी भारतीय दलाल भन्नेजस्तो सुन्थेँ। केही नेता खराब थिए होलान् तर माग नै नसुनी सबै मधेसीलाई भारतीय भन्नु त जायज होइन नि।’
अनामनगर मात्र होइन सामाजिक सञ्जालमा मधेसीप्रति गैर–मधेसीले पोख्ने गरेको आक्रोशले उनको मनलाई झन्झन् कोपर्दै जान्थ्यो। उनी यस्तो हुनुमा सरकार अझ विशेष त प्रधानमन्त्रीलाई दोष दिन्छन्।
प्रधानमन्त्रीले राष्ट्रियताका नाममा जनतामा संक्रमणको बीऊ रोपिदिएको उनको आरोप छ। उनलाई लाग्यो, संक्रमण फैलियो भने त मधेसमा पनि एक समुदाय र अर्को समुदायबीच काटमार हुन सक्छ। अहिले अधिकारका लागि मिलेर लडिरहेका मधेसी पनि भोलि आफैंमा झगडा गर्न थाल्छन्। मधेसी समुदायले अधिकारका लागि गरेको आन्दोलनका कारण पहाड–मधेस सद्भाव क्षयको संकेत देखेपछि त्यसलाई कम गर्न के गर्न सकिन्छ त भन्दै उनी गम्न थाले।
करिब चार महिनाजति अघि आभाषका छोराले ‘राइजिङ स्टार’ नामक गायन प्रतिभा प्रतियोगितामा भाग लिएका थिए। प्रतियोगितामा छोराकै प्रस्तुति टेलिभिजनमा हेरिरहँदा एक सहभागी बालिकाले आस्था राउतको गीत गाइन्, ‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा .... मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ?’
दुई वर्षअघि सार्वजनिक गीत चर्चित भइसके पनि उनले सुनेका थिएनन्।
‘मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ?’ लाइनले उनलाई अत्यन्तै छोएछ। ‘गीतले प्रतिनिधित्व गर्ने पात्रको पीडा एकातिर छ होला,’ उनले भने, ‘तर, यो लाइन त समग्र मधेसी जनताको आवाज बोल्ने लाइनजस्तो लाग्यो।’
उनको मनमा यसको धुन गडेर बस्यो। ‘कलाकार हुनुका नाताले अभिव्यक्तिका लागि संगीत नै सजिलो विधा भएकाले संगीतकै माध्यमबाट अधिकार माग्छु,’ उनले सोचे, ‘यही धुनमा मधेसीहरूको मागको शब्द भर्छु।’
उनको अर्को सोच पनि थियो, आस्था राउत र संगीतकार सुरेश अधिकारीसँग अनुमति लिएर प्यारोडीबाट नेपाली गीतमा डेब्यु गर्ने। गीतको भिडियो पनि बनाउने। तर, यसमा भर्ने शब्द फुरिरहेका थिएनन्।
मधेस आन्दोलन चलिरहँदा बनेका गीत–संगीत उनलाई चित्त बुझिरहेका थिएनन्। एउटा समुदायलाई लक्ष्य गर्दै अर्को समुदायलाई गाली गर्ने गीतले समस्या समाधान नहुने उनको तर्क थियो। त्यसैले उनी ‘समाधान गीत’ बनाउन चाहन्थे। खस पहाडे कसैलाई गाली नगरी ‘सबै दाजुभाइ हुन् र दाजुभाइले नै एकअर्काको पीडा बुझेर राज्यसँग अधिकार मागिदिन सक्छन्’ भावमा उनलाई गीत तयार पार्नु थियो।
गीत बनाउँदा उनले आफैंलाई प्रश्न गरे,‘हामीलाई नेपाली के कारणले भनिँदैन? के धोती दौरासुरुवाल नलगाउने भएर हो त?’ प्रश्नले तुरुन्तै गीत जन्मायो, ‘धोती, कुर्ता र गम्छा लाएको छु भन्दैमा, मलाई धोति÷मस्र्या भन्न कहाँ पाइन्छ?’
आस्था राउतले गाएअनुसारको गीतमा उनले आफ्ना शब्द भर्दै गए। उनलाई सबैभन्दा बढी पीडा यो लाइन लेखिरहँदा भयो, ‘काठमान्डु र पहाड–हिमाल नहिँडेको बाटो, तर मलाई प्यारो लाग्छ मेरै देशको माटो।’ उनी यसलाई आफ्नो गीतको ‘तगडा लाइन’ भन्छन्।
‘जो पुस्तौंदेखि नेपाली माटोमा हुर्केको छ, पसिना बगाएको छ। उसैले आफ्नो देशको माया लाग्छ भन्नुपर्ने अवस्था किन आयो?’ उनी प्रश्न गर्छन्, ‘झन् फेसबुकमा हेर्दा त मन साह्रै दुख्छ। के हामी नेपाली हौं भन्न अदालतमा गएर कागज गर्नुपर्ने हो? कि जीवनभर टुप्पीमा नेपाली झन्डा झुन्ड्याएर हिँडौं?’
राजधानीमा संघीय गठबन्धनको आन्दोलनको सुरसार हुँदै गर्दा करिब एक साताअघि राति उनले गीत तयार पारे। शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीको केन्द्रीय सदस्यसमेत रहेका आभाषले आन्दोलन प्रयोजनका लागि गीत लेखेको नभए पनि आन्दोलनकै माहोलमा गीत गाउनु ठीक ठाने र अध्यक्ष भण्डारीलाई प्रस्ताव राखे। भण्डारीले खुसी हुँदै ‘ओके’ गरिदिए।
गठबन्धनको सिंहदरबार घेराउ आन्दोलन चलिरहँदा आभाषले यो गीत गाए। गाउँदै गर्दा उनको ध्यान दर्शकदीर्घामा हुन्थ्यो। ‘आफूले जहाँ हान्नुपर्ने हो, गीत त्यही ठाउँमा लाग्यो’ भन्ने लागेपछि भित्रभित्र उनको जोश बढ्दै जान्थ्यो। झन् ‘वान्स मोर’ पाएपछि आफ्नो प्रयोग सफल भएको उनलाई लाग्यो। उनले अहिलेसम्म यो गीत करिब ६० पटक गाइसकेका छन्। रेकर्ड गराउने सोचमा पनि छन्।
गीतले हान्नुपर्ने कहाँ थियो?
‘म नेता पात्र होइन,’ उनले भने,‘ म जनता पात्र हो। राज्यले रोपिदिएको राष्ट्रियताको बीउले जन्माएको संक्रमण जनतामा फैलिएको थियो। मैले दुवै पक्षका जनतालाई चित्त बुझाउँदै राज्यसँग अनागरिक हुनुको पीडासँगै पहिचानको प्रश्न गर्नु थियो। गीतको प्रभाव जनतामा पर्यो। गीत मधेसीले मात्र मन पराएनन्। सबै समुदायका दाजुभाइले प्रशंसा गरिरहनुभएको छ।’
उनको भनाइ छ, परिवर्तनको सशक्त माध्यम संगीत हो, भाषण होइन। गीतले चर्चा पाएपछि गठबन्धन दलभित्र पनि छलफल भयो होलाजस्तो उनलाई लागेको छ। ‘खस, पहाडे, केपी ओलीलाई तुच्छ गाली गर्ने मनसाय भएका साथीहरूलाई त चित्त बुझेन होला,’ उनले भने, ‘मेरो मनसाय भने कसैलाई गाली गर्नु थिएन। तरिका फरक होला, पीडामा त पहाडे खसआर्य पनि छन्। बच्चैदेखि जुठो खाएर आएको पहाडे खसआर्य साथीहरू छन् मेरा। आफ्नै काँधले डोली बोकेर अन्माएकी पहाडे बहिनी छिन्। सीमित व्यक्तिको बदमासीका कारण म उनीहरूलाई कसरी गाली गर्न सक्छु?’
गीतकै कारण आन्दोलनको तरिका पनि फेरिन्छ कि जस्तो लागेको रहेछ उनलाई। गीतका माध्यमबाट मधेसले ‘दाइ म तेरै भाइ हुँ, पहिले मेरो कुरा सुन्’ भनेकाले पहाडेले दाजुभाइले पनि साथ दिने विश्वास छ उनको।
उनी आफैंलेचाहिँ मधेसी भएकै कारण कत्तिको अपमान खेपेका छन् त?
एक त मनमा वर्षौंदेखि गडेको हिनभावना छोटो समयमै नमेटिने उनको तर्क छ भने अर्कातिर चिकित्सकजस्तो सम्मानित पेसामा भएकाले अन्य मधेसीले भन्दा कमै अपमान व्यहोर्नुपरेको उनको भनाइ छ।
गत वर्ष एनआरएन, युएईको आयोजनामा उनी उदितनारायण झाको टोलीसँग दुबई गएका थिए। एनआरएनभित्र मैथिलीभाषी सदस्य पनि भएकाले मैथिली गायक ल्याउनुपर्ने मागअनुसार आभाष बोलाइए। मैथिलीभाषी स्रोता कम हुँदा कार्यक्रम सुरु हुनुअघि एनआरएन सदस्यबाटै अपमानित हुनुपर्यो। ती सदस्यले आभाषलाई भनेका थिए, ‘अब तँ आफैं काट् टिकट।’
भाषा र लवज अधिकारप्राप्तिमा अझै बाधक रहेको उनको बुझाइ छ। ‘द गेम’ नामक नेपाली फिल्ममा ‘घुम्टो खोल’ बोलको गीत गाउने प्रस्ताव सुरुमा उनलाई आएको थियो। लवजका कारण आभाषले गाउन पाएनन्। त्यो गीत पछि उदितनारायण झाले गाए। उनी भन्छन्, ‘जबकि अरू देशका संगीतमा भाषाभाषीका लवज विशेष रुचाइन्छन्।’
मधेस आन्दोलनपछि केही परिवर्तनको संकेत पनि भेटेका छन् उनले। हिजो आफू बसेको ठाउँभन्दा बाहिर पनि नेपाल छ भन्ने कतिलाई थाहै थिएन। त्यस्तालाई मधेस आन्दोलनले ‘मधेस पनि नेपाल हो र मधेसी पनि नेपाली हुन्’ भन्ने चेतना थोरै भए पनि बढेको छनक देखेका छन् उनले। यो आन्दोलनले मधेसीमा थोरै भए पनि ऊर्जा थपिएको उनको अनुभूति छ।
उनले भने, ‘हिजो श्रीमतीले फोनमा मैथिलीमा कुरा गर्दा छेउमा कोही मान्छे छ भने नेपालीमा बोलिन्थ्यो। अब मैथिलीमै कुरा गर्ने आँट आउँछ तर स्वीकारिसकेका भने छैनन्।’
नेतृत्व र केन्द्र तह भने अझै मधेसप्रति अनुदार रहेको उनको भनाइ छ। ‘मधेस कसैसँग रिसाएको होइन,’ उनी भन्छन्, ‘मधेसले राम्रो अभिभावक र मातृवात्सल्य खोजेको हो। अब बच्चाले केही माग्यो र नदिँदा स्कुल जान्नँ भन्यो रे, त्यसो भए गोली ठोक्ने? म नेता–नेताको कुरा गर्दिन, त्यो कुरा नेताले नै गरुन्। हामीजस्ता जनता तहको कुरा हो, हामीलाई इन्डियन नभनियोस्। नागरिकताको जुन मुद्दा छ, राज्यले यो प्रश्नको उत्तर देओस्, पहाड समुदायका कति नागरिक नागरिकताप्रति इमानदार छन्? डिभी भर्ने लाइनमा हेरियोस् कति मधेसी छन्? डिभीको अर्थ के हो? आइ वान्ट टु बी अ अमेरिकन होइन?’