- अब हावाबाट बिजुली निकालिन्छ र एक वर्षभित्र घरघरमा उज्यालो ल्याइन्छ।
देशमा बढ्दै गएको लोडसेडिङलाई व्यवस्थापन गर्न नयाँ ग्राण्ड डिजाइन ल्याण्ड गराए ओलीले। हावाबाट बिजुली निकाल्नु असम्भव हुँदै होइन। बरु हाम्रो जस्तो डाँडाकाँडा भएको र हावा चलिरहने स्थान भएको मुलुकमा हावाबाट बिजुली निकाल्नु राम्रो विकल्प हो।
तर, प्रधानमन्त्री केपी ओलीले जुन कम्पनीलाई हावाबाट बिजुली निकाल्ने जिम्मा दिएका थिए सोही कम्पनी नै ‘हावा’ निस्क्यो। प्रधामन्त्रीजस्तो व्यक्तिको बोली नै हावा जोक्स बन्यो।
- सबैका घरमा पाइपबाट ग्यास जोडिन्छ। अब सिलिण्डर बोकेर लाइनमा बस्ने दिन गए।
पेट्रोलियम पदार्थलगायत सबै कुरामा परर्निभर रहेको नेपाललाई भारतले अधोषित नाकाबन्दी गर्यो। यसको प्रभाव चौतर्फी भयो। उद्योगधन्दा र पर्यटन व्यवसायमात्र धरासायी भएन, सर्वसाधारणको घरमा चुलो बल्न छोडेपछि सरकारलाई नै घिडीघिडी भयो। सर्वसाधारणको नागरिकता हेर्दै दाउरा बाँड्नपर्ने दिन आए। ओलीले भावुक हुँदै फ्याट्ट बोले, ‘अब परर्निभर नहुने। अब ग्यास उत्पादनको सम्भावना हेरेर ग्यास उत्पादन गर्ने र घरघरमा पाइपबाट ग्यास वितरण गर्ने। सिलिण्डर बोकेर लाइनमा बस्ने दिन गए।’
विकसित पश्चिमेली मुलुकहरूमा पाइपबाटै ग्यास वितरण गरिन्छ। तर, ग्यास उत्पादनको अध्ययन चरणमा पूरा नगरेको नेपालको सन्दर्भमा ग्यास उत्पादन गरेर पाइपमार्फत घरघरमा तत्काल ग्यास पुर्याउन सम्भव थिएन। ‘मेरै पालामा पाइपबाट घरघरमा ग्यास पुर्याउँछु’ भन्ने ओलीको भाषण फेरि जोक बन्यो।
- अब चाइना बाट रेलले नेपाल जोड्नेमात्र होइन, काठमाडौं उपत्काभरि रेल कुदाउने हो।
नेपाल चीनबीच पारवहन सम्झौता भएको करिब दुई महिनापछि चीनले एकाएक नेपालका लागि कन्टेनर बोकेर हिँडेको रेलको फोटोसहितको समाचार सार्वजानिक गर्यो। चाइनाको सिगात्सेसम्म मात्र रेल चल्छ। नेपाल चाइनाको बोर्डरसम्म आइपुग्न सिगात्सेबाट अर्को ५ सय ६४ किलोमिटर दुरी पार गर्नुपर्छ। चाइनिज रेलको अगाडि रातो ब्यानरमा ‘दक्षिण एसियाली अन्तर्राष्ट्रिय रेल यातायात, लान्चौं–सिगात्से–काठमाडौं’ भनेर लेखिएको थियो। चाइनाबाट सामानका कन्टेनरहरू बोकेको रेल काठमाडौंका लागि हिँडेको अर्थ बोकेको थियो उक्त ब्यानरले।
नेपालका लागि सामान बोकेर चाइनाबाट रेल हिँडेको समाचारले फेरि हौसिए प्रधानमन्त्री केपी शर्मा ओली।
- अब रेलले चाइनाबाट नेपाल जोड्नेमात्र होइन, काठमाडौं उपत्यकाभरि रेल कुदाउने हो।
काठमाडौं उपत्यकाभित्र रेल कुदाउने योजना पनि उनको नयाँ होइन। उपत्यकाभित्र रेल कुदाउने सम्बन्धी प्रारम्भिक अध्ययन पाँच वर्ष पहिले नै पूरा भइसकेको छ। उपत्यकाभित्र ७२ किलोमिटर रेल कुदाउन ३९ खर्ब लाग्नेसमेत उक्त अध्ययनले बताइसकेको थियो। उपत्यकाभित्र रेल कुदाउनका लागि प्रारम्भिक अध्ययनबाहेक कुनै काम अगाडि बढेको छैन। लगानीकर्ताको अभावमा थन्किएको उपत्यकामा रेल कुदाउने योजनालाई चाइनिज रेलसँग जोड्दै ओली फेरि कुर्लिए र जोकर बने।
काठमाडौंमा पानीको वर्षा हुन थालेपछि ओलीले फेरि फ्याट्ट भन्दिए, ‘हामी आफ्नै पानी जहाज किन्छौं र र हिन्द प्रशान्त महासागरमा नेपालको झण्डा फहराउँदै पानी जहाजमार्फत आफ्नो सामान आफैं ओसार्छौं।’
अन्तर्राष्ट्रिय पारवहन सन्धिअनुसार समुद्रसँग नजोडिएको राज्यले आफ्नै पानीजहाज किनेर सामान ओसारपसारका लागि प्रयोग गर्न पाउँछ।
नेपाल सरकारले ओली प्रधानमन्त्री हुनुभन्दा ४८ वर्ष पहिले नै ‘राज्यले अफ्नै पानी जहाज किन्ने र प्रयोग गर्ने’ योजना बनाएको थियो। तत्कालीन राजा महेन्द्रका पालामा २०२७ सालमा नेपालले पानी जहाज ऐन नै बनाइयो। कानुनी रुपमै राज्यले पानी जहाज किन्न र प्रयोग गर्न पाउने बाटो खुलेलगत्तै कलकत्ता बन्दरगाहमा नेपाली राष्ट्रिय झण्डा फहराएको पानी जहाज चल्न थालेको थियो।
किस्ता तिरेर पानी जहाजलाई ल्याउँदा राज्यलाई खासै नाफा नहुने निस्कर्षसहित सरकारले बजेट निष्कासन रोक लगाएपछि पानी जहाजको किस्सा सकिएर गयो। अत्यधिक महंगो पर्ने भएकाले थेग्न नसकेर त्यतिबेला रोकिएको पानी जहाजको किस्सा प्रधानमन्त्रीले बोलेपछि फेरि सतहमा आएको छ।
‘हामी आफ्नै पानी जहाज किन्छौं र र हिन्द प्रसान्त महासागरमा नेपालको झण्डा फहराउने पानीजहाजमार्फत सामान ओसार्छौं’ भन्ने प्रधानमन्त्री केपी ओलीको पछिल्लो भाषण पनि गहन र गम्भीर नै थियो। तर तथ्यमा आधारित नभएर प्रधानमन्त्रीले मनोगत तवरले उक्त भनाइ सार्वजनिक गरे। देशको कार्यकारी प्रमुखले सार्वजनिक गर्ने अभिव्यक्तिभित्र कति संवेदनशीलता अँटाइएको हुन्छ, त्यो हरेक दृष्टि र तप्काले विश्लेषण गरिरहेको हुन्छ। मनमा जे कल्पियो त्यै बोल्न माहिर छन् कि भनी आलोचकहरूले प्रधानमन्त्रीविरुद्ध व्यंग्य छेडेका छन्। पानी जहाजबाट सामान ल्याउने अभिव्यक्तिले प्रधानमन्त्रीलाई फेरि ‘जोकर’को संज्ञाले विभूषित गरिँदैछ।