दक्षिणी क्षेत्र रविमा इलाका प्रशासन कार्यालय स्थापना गरिएपछि सो क्षेत्रका १० गाविसका सचिव सम्बन्धित गाविसमै गएका छन् ।
कार्यालयबाट नागरिकता, नाबालक परिचय पत्रसँगै अन्य प्रशासनिक काम कारबाहीका लागि सम्बन्धित गाविसका सचिव गाउँमै गइसकेको प्रजिअ पुरुषोत्तम घिमिरेले बताए। द्वन्द्वकालमा असुरक्षा बढेपछि सराङ्डाँडा, माङ्जाबुङ, ओलामे, मौवा, हाङ्बुङ, कुरुम्बा, लिम्बा, दुर्गिम्बा, रवि र आङ्ना गाविसका सचिव सदरमुकाम फिदिम आएका थिए ।
सेवाग्राहीको सहजताका लागि सदरमुकाम छाडेर सम्बन्धित गाविसमा जानुपर्ने भएको हो । गाउँबाटै नागरिकता बन्ने र राहदानी सिफारिस हुने भएपछि अब आफूहरु गाउँतिरै गइसकेको सराङ्डाँडा तथा माङ्जाबुङ गाविस सचिव किशोरचन्द्र आचार्यले जानकारी दिए।
दश वर्षीय द्वन्द्वकालमा भने असुरक्षा बढेपछि सचिव सदरमुकाम आएकामा द्वन्द्व सकिए पनि अझैसम्म केही गाविसका सचिव सदरमुकाममै बस्दै आएका छन् । यस्तै इलाका प्रशासन कार्यालय रविबाट आजदेखि सेवासुविधा प्रवाह हुने भएको छ । रासस