आर्थिक, सामाजिक, राजनीतिक र पर्यटकीय क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको कञ्चनपुरस्थित महाकाली नदीको झोलुङ्गे पुल यतिबेला उचित मर्मत सम्भार नहुँदा जीर्ण बन्दै गइरहेको छ।
दक्षिण एसियाकै सबैभन्दा लामो झोलुङ्गे पुलको दर्जा पाएको यसको निर्माण भएको १० वर्षसम्म पनि कुनै मर्मत सम्भार नहुँदा जीर्ण बन्दै गएको हो।
निर्माणपछि हुनुपर्ने नियमित मर्मत र सम्भार नपाउँदा पुलका महत्वपूर्ण किलाकाँटा, तारजाली र नटहरू हराउँदै गएका छन्। साथै पुल वरपर तीन सय मिटर टाढासम्म नदीबाट बालुवा र ढुंगाहरू निकाल्न नपाईने कानूनी मान्यता विपरित अन्धाधुन्द तरिकाले ढुंगा बालुवा उत्खनन भैरहेका छन्।
यसले गर्दा पुलका पिल्लरहरू जोखिममा पर्दै गएका छन् भने वर्षातको पानी र बाढीले पिल्लरलाई थप क्षति पुर्याइरहेको छ। नेपाली परम्परा, भेषभूषा र संस्कृतिबाट सधैं टाढा रहँदै आएका माहाकाली नदीपारीका दोधारा र चाँदनीलाई जिल्ला सदरमुकाम महेन्द्रनगरसँग जोड्न सरकारले ८ वर्षअघि बनाईको सो पुल त्यसपछि एक पटक पनि मर्मत सम्भार भएको छैन।
१ हजार ४ सय ५२ दशमलव ९६ मिटर लामो उक्त झोलुङ्गे पुल हेर्न नेपाल लगायत भारतका विभिन्न स्थानबाट दैनिक १ सय ५० जनाभन्दा बढी पर्यटक आउने गर्छन्। यसले गर्दा दोधारा–चाँदनी क्षेत्र पर्यटकीयस्थलका रूपमा स्थापित हुँदै गएको छ। तर पुलको अवस्था भने दिनानुदिन खस्किदै गएपछि पर्यटकको संख्यामा कतै कमी आउँछ कि भनेर स्थानीय चिन्तित बनेका छन्।
जिल्ला विकास समिति कञ्चनपुरको स्वामित्वमा रहेको पुलको सुधारका लागि हालसम्म कुनै काम हुन सकेको छैन। त्यसले गर्दा पुलका किलाकाँटा, तारजालीहरू हराउँदै गएका छन्।
दोधारा चाँदनीमा उत्पादन हुने दूध र सागपात पहिला भारतीय बजार बनवासा, खटिमा, टनकपुर र सम्पूर्णानगर जाने गरेपनि झोलुङ्गे पुल बनेपछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आउने गर्दछ। पुलले यस क्षेत्रको दैनिक आर्थिक जीवनमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको भए पनि पुलको सुधारका लागि भने कुनै पक्षबाट पहल नहुँदा जिल्लावासीहरु चिन्तित बनेका छन्। आर्थिक वर्ष २०६२/०६३ मा रु नौं करोडको लगानीमा निर्माण कार्य सम्पन्न भएको पुलमा आठ वटा पिल्लरहरु रहेका छन्। पुल निर्माणपछि महाकाली पारीका दोधार–चाँदनीका स्थानीयहरुको दैनिक जीवनमा महत्वपूर्ण परिवर्तन आएको छ।