पूर्वी अफगानिस्तानको घाजनी राज्यमा आइतबार सडक दुर्घटना हुँदा कम्तिमा ७३ जनाको मृत्यु भएको अफगानी अधिकारीले जनाएका छन्।
दुई बस र एउटा तेल ट्याङ्कर ठक्कर खाएपछि भएको उक्त दुर्घटनामा महिला, बालबालिकासहित ७३ जनाको ज्यान गएको छ भने दर्जनौँ यात्रु घाइते भएका अफगानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता इस्माइल काबसीले बताए।
बस तेलको ट्याङ्करसँग ठोकिएपछि ट्याङ्करबाट पोखिएको तेलमा आगलागी भएपछि मृतकमध्ये धेरैको शव आगोले जलेर चिह्न नसकिने अवस्थामा रहेका छन् भने दर्जनौँ यात्रुलाई घाइते अवस्थामा उपचारका लागि घाजनी तथा कान्दाहार शहर पुर्याइएको छ।
केही घाइते यात्रुको स्वास्थ्य अवस्था गम्भीर रहेकाले मृतक सङ्ख्या योभन्दा बढ्न सक्ने उनको भनाई छ ।
द्वन्द्वले विक्षिप्त अफगानिस्तानमा सडक दुर्घटनाका घटना सडकको कमजोर संरचनाका कारण सामान्य मानिन्छ । यद्यपि दुर्घटनामा यति ठूलो हताहती भने कमै हुने गरेको थियो ।
यसै वर्ष मे महिनामा अफगानिस्तानको पश्चिमी इलाका वादगिसमा भएको एक दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए । त्यसैगरी बसले इन्धन बोकेको ट्याङ्करलाई ठक्कर दिँदा सन् २०१३ मा कान्दाहार सहर नजिकै पनि ४५ जनाले ज्यान गुमाएका थिए ।
पटकपटकका दुर्घटनामा सयौँ मानिसको ज्यान गएपछि विश्व बैंकले सन् २०१५ को नोभम्बरमा अफगानी सडक कमजोर संरचनालाई सुर्धानका लागि भनेर २५० करोड अनुदान रकम प्रदान गरेको थियो । रासस/एएफपी