दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षामार्फत यस वर्ष नेपाली कामदार लैजाने कोटा घटाए पनि दरखास्त दिनको सङ्ख्या भने उल्लेखनीय रुपमा बढेको छ।
सन् २०१७ का लागि सातौँ भाषा परीक्षाका तय गरिएको अवधि बुधबारदेखि शनिबारसम्मको अवधिमा ६० हजार ६७८ जनाले दरखास्त दिएको इपएिस कोरिया शाखाले जनाएको छ। तीमध्ये उपत्यकाभित्रबाट ३१ हजार ४८८ र उपत्यका बाहिरबाट २९ हजार १९० जनाले आवेदन दिएका हुन्।
यो वर्ष दरखास्त सङ्कलनका लागि उपत्यकामा पाँच स्थानसहित उपत्यका बाहिर बुटवल, पोखरा, धरान, जनकपुर र डडेल्धुरा गरी १० स्थानमा दरखास्त सङ्कलन केन्द्र तोकिएको थियो।
यो वर्ष जम्मा तीन हजार १०० कामदार भाषा परीक्षामार्फत उत्तीर्ण गराइने इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले जाकनारी दिए।
गत वर्ष आठ हजार ४९० जना परीक्षार्थी उत्तीर्ण भएकामा यसवर्षभन्दा कम ५१ हजार ४९९ले मात्रै दरखास्त दिएका थिए।
पोखरा दरखास्त केन्द्रबाट दरखास्त दिएकाहरुका लागि पोखरामा नै परीक्षा दिन पाउनेछन् भने अन्य परीक्षार्थीले राजधानीबाट परीक्षा दिनुपर्नेछ।
यस वर्ष अनलाइन माध्यमबाट फारम भर्ने व्यवस्था मिलाउने गृहकार्य गरिए पनि तयारी नपुगेपछि स्थगित गरिएको थियो।
नेपाली युवाका लागि आकर्षक गन्तव्यका रूपमा चिनिएको कोरियामा हालसम्म ३५ हजार ८०० परीक्षा उत्तीर्ण गरी रोजगारीमा संलग्न छन्। यसवर्ष मेसिनले पढ्ने राहदानी (एमआरपी) भएकाले मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
कुल २०० पूर्णाङ्कको प्रश्नपत्र कोरियाबाटै तयार भएर आउने र उत्तरपुस्तिका समेत एचआरडी कोरियाले नै जाँच्ने गरेको छ।
कोरियाले विगतमा जस्तै यसपटक पनि उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा कामदार लैजाँदैछ। निर्देशक बाँस्तोलाले निर्माण क्षेत्रमा समेत नेपाली कामदार लैजान कोरियालाई आग्रह गरिएको जानकारी दिए।
परीक्षार्थीले दरखास्तमा भरेको विवरणका आधारमा सम्बन्धित क्षेत्रमा छनोट हुनेछन्। तर भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरिया जाने सुनिश्चिता नहुने भएकाले दुई वर्षसम्म रोजगारदाताको मागअनुसार मात्र जान पाइने इपिएसले जनाएको छ।
सन् २००७ मा नेपाल र कोरिया सरकारबीच इपिएस प्रणालीअन्तर्गत कामदार लिने सम्झौता भएको थियो। सम्झौतापछि सन् २००८ बाट नेपालमा भाषा परीक्षा सञ्चालन हुँदै आएको छ।
निर्देशक बाँस्तोलाले नेपाली कामदारलाई कोरियाले उच्च प्राथमिकता राखेको बताए। कोरियाले नेपालसहित १६ मुलुकबाट कामदार लिँदै आएकामा तीमध्ये नेपालीलाई कोरियाका रोजगारदाताले दोस्रो उच्च प्राथमिकतामा राखेको उनले जानकारी दिए।
विगतमा कामदार लिन पाँचौँ, छैटौँ स्थानको प्राथमिकतामा नेपालीलाई राख्ने गरेकामा नेपाली कामदारको इमान्दारिता र परिश्रम देखेर अहिले कोरियाले दोस्रो उच्च प्राथमिकतामा राखेको हो।
अहिले दर्खास्त दिएकाहरुले आगामी असार ४ र ५ गते भाषा परीक्षामा सहभागी दिन पाउनेछन्। रासस