नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी सम्बद्ध अनेरास्ववियु (क्रान्तिकारी)ले आफ्ना दुई जना विद्यार्थी नेताको रिहाइको माग गर्दै शिक्षणसंस्थामा अनिश्चितकालीन तालाबन्दी गर्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
अनेरास्ववियुले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्य प्रकाश अधिकारी र काठमाडौ जिल्ला सदस्य विकास अधिकारीको रिहाइको माग गर्दै जिल्ला शिक्षा कार्यालय घेराउ गर्नेदेखि शिक्षण संस्थामा तालाबन्दी गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।
काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकर गौतममाथि कालोमोसो दलेको अभियोगमा अधिकारीद्वय शुक्रबार जोरपाटीबाट पक्राउ परेका थिए। उनीहरुलाई स्वयम्भु प्रहरी परिसरमा राखिएको छ। अनेरास्ववियु क्रान्तिकारीले विद्यार्थी नेताद्वयलाई तत्काल रिहा नगरिए वैशाख २० गते जिल्ला शिक्षा कार्यालय घेराउ, वैशाख २१ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र क्याम्पस अगाडि प्रदर्शन गर्ने तथा वैशाख २२ गते जिल्ला शिक्षा कार्यालय काठमाडौका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउने बताएको छ।
उसले वैशाख २३ र २४ गते शिक्षण संस्थाको प्रशासन तथा २५ गतेदेखि शिक्षण संस्थामा अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनी दिएको छ ।