नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजदूत नियुक्ति र न्यायाधीश सिफारिसमा सरकारले एकलौटी गरेको आरोप लगाएका छन्।
तेज–तीर्थ ट्रष्टले शनिबार क्षेत्रपाटीमा आयोजना गरेको राष्ट्रिय लोकतन्त्र शान्ति पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले प्रमुख प्रतिपक्षी दललाई नसोधी राजदूत नियुक्ति र न्यायाधिश नियुक्ति गरेको भन्दै आपत्ति जनाएका हुन्।
उनले संविधान कार्यान्वयनमा नेपाली कांग्रेसले सरकारले भन्दा धेरै काम गरेको दाबी गरे। सभापति देउवाले संविधान कांग्रेसको पहलमा निर्माण भएको भन्दै सबैको भावनालाई समेटेर कांग्रेसले संविधान संशोधन गर्ने उल्लेख गरे।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयनको नेतृत्व पनि काँग्रेसले नै गर्ने बताए। उनले भने, ‘राजनीति स्थायित्वका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्छ।’
नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले हिमाल, पहाड, तराईका जनताका भावनालाई समेटेर संविधान कार्यान्वयन गर्नुपर्ने बताए।
ट्रष्टका अध्यक्ष तीर्थमान डङ्गोल, नेपाली काँग्रेसका नेता लोकेश ढकाल, मानव अधिकारवादी नुतन थपलिया, एम्नेष्टी इन्टरनेसनल नेपाल शाखाका अध्यक्ष सूर्यबहादुर अधिकारीलगायतले संविधान चाँडो कार्यान्वयन गरेर मुलुकलाई विकासको बाटोमा अगाडि लैजानुपर्नेमा जोड दिए।
एम्नेष्टी इन्टरनेसनललाई एकलाख नगद पुरस्कार
ट्रष्टले स्थापना गरेको एक लाख नगद राशिको पुरस्कार एम्नेष्टी इन्टरनेसनल नेपाल शाखालाई प्रदान गरिएको छ। कार्यक्रममा सभापति देउवाले एम्नेष्टी इन्टरनेसनल नेपाल शाखाका अध्यक्षलाई सो रकम प्रदान गरे।
सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यका साथ गतवर्ष स्थापना भएको सो ट्रष्टले शान्ति र लोकतन्त्र, नेपाल भाषा साहित्यको विकास र नेपाली पत्रकारितामा विशेष योगदान पुर्याएको संस्था तथा व्यक्तिलाई पुरस्कार प्रदान गर्दै आइरहेको छ । रासस