घाँटी भिजाउने पानीमात्रै भईदिएको भए,
जुनकीरीजत्तीको प्रकाश मात्र भइदिएको भए
म भुइँचालोले भत्काएको
घरको भग्नावशेषभित्र
इनारमा रहेका कछुवाजस्तै
सयौं वर्ष जिइदिन्थें ।
घडी घुमेको टुक्टुक् आवाज
अस्प्रे विमानका भन्दा ठूला थिए
चुक अमिलो घोप्टिए जस्तो अन्धकार
मैले पढेको दन्त्यकथाका ओडारजस्तै थिए
म कुनै नयाँ ग्रहमा
सृष्टि गर्न देवताले पठाए जस्तो थिए
म पृथ्वीका मानिसको व्यग्र प्रतिक्षामा थिएँ ।
यो नौलो ग्रहमा
समयले मलाई बन्दी बनाएको थियो
भुपरिवेष्ठित मेरो घरको कोठामा
म नेपालजस्तै भएको थिएँ
बत्ती थिएन, पानी थिएन
बाटो थिएन
म आम नेपाली
फेरि पनि दरिद्र नेपाली बनेको थिएँ
श्वाश फेर्ने शालिकजस्तै भएको थिएँ ।
मलाई छोरा भनेर बोलाउने
आवाज चाहिएको थियो
मलाई बाबा भनेर कोट्याउने
छोरीको स्पर्श चाहिएको थियो
म खोजिरहेको थिएँ
आफ्नै मान्छेहरु
यो निर्जन स्थलबाट ।
म चाहन्थें
मलाई रकेट लिएर कोही लिन आओस्
म मेरै पृथ्विीमा फर्कन चाहन्थें
मलाई त्यही प्रकृति चाहिएको थियो
मलाई त्यही मायाका बहर चाहिएको थियो ।
यतिखेर,
मलाई आँखा खोलेर
सपना देख्न मन लागेको थियो
मृत कुकुरको शरिरबाट
किर्नाहरुले ठाउँ छाडेझैं
सपनाहरुले
मलाई पत्याउन छोडीसकेका थिए ।
मलाई आँसुका धारा बगाउन मन थियो
एक थोपा आँसुले पनि बाटो मोडिसकेका थिए ।
मलाई बिगुल फुक्न मन लागेको थियो
अफसोच मसँग आवाज पनि थिएन ।
भगवानहरु पुजें
एक एकआफन्त सम्झें
अनि जप्नथालें महामृत्युंजय मन्त्र ।
अन्ततः
मैले मृत्यु जितें,
कालकोठरी भित्र
प्रकाश छि¥यो
आवाज छि¥यो
मैले फेरि मेरै आकाश हेर्न पाएँ
मैले फेरि मेरै पृथ्वि छुन पाएँ
मैले मेरो देवतालाई प्रत्यक्ष भेट्न पाएँ ।