भुईंचालो गएको वर्षदिनपछि सर्वाधिक क्षति भएको सिन्धुपाल्चोकमा पुनर्निर्माणको शुरुआत भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज भुकम्पपीडितको घर शिलान्यास गर्दै पुनर्निर्माण अभियानको औपचारिक रुपमा सुरु गरेका हुन्।
प्रधानमन्त्री ओलीले भुईंचालो गएको ठिक समय ११ः५६मा चौतारा नगरपालिका–३ का भुकम्पपीडित सर्भे तामाङको घर शिलान्यास गरेका हुन्। यो सँगै जिल्लाको क्षेत्र नं. १ मा त्यस क्षेत्रका साँसद मोहनबहादुर बस्नेतले कर्थली गाविस र क्षेत्र नं. ३को भोटेचौरमा साँसद शेरबहादुर तामाङले जनताको घर शिलान्यास गरे। वर्षदिनअघि भुईंचालो गएकै समयमा जिल्लाको तीनै क्षेत्रमा एकैचोटी अभियानलाई शुभारम्भ गरिएको हो।
भुईंचालोले सर्वाधिक क्षति पुर्याएको सिन्धुपाल्चोकमा आजैबाट पुनर्निर्माण प्राधिकरणको समन्वय कार्यालयको उद्घाटनसमेत गरिएको छ। कार्यालयलाई वन तथा भुसंरक्षण मन्त्री अग्नी सापकोटाले उद्घाटन गरेका हुन्।
भुईंचालो गएको वर्षदिन पुग्दासमेत सिन्धुवासी अस्थायी टहरामा बसोबास गर्दै आएका छन्। २०५८को जनगणनाअनुसार ६६ हजार ६ सय ३० घरधुरी रहेको सिन्धुपाल्चोकका ९५ प्रतिशत घर भुईंचालोबाट पूर्ण क्षति पु¥याएको जिल्ला दैवी प्रकोप उद्दार समितिको तथ्यांक छ। जिल्लामा भुईंचालोबाट ३ हजार ५ सय ७० ले ज्यान गुमाएका थिए।