एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनका लागि दलहरूबीच राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन्।
शुक्रवार आयोजित नेपाल वुद्धिजिवी संगठन दाङको तेस्रो सम्मेलन तुलसीपुरमा उद्घाटन गर्दै प्रचण्डले भने,‘ संविधानको कार्यान्वयन गर्न र मुलुकको आर्थिक क्रान्तिका लागि दलहरुबीच राष्ट्रिय एकता हुनु जरुरी छ।’
उनले दलहरुबीच राष्ट्रिय एकता नभएमा मुलुकमा ठूलो राजनीतिक दुर्घटना हुन सक्ने खतरा रहेको बताए। प्रचण्डले राष्ट्रिय एकताको नेतृत्व गर्ने जिम्मेवारी भने माओवादीको हात र काँधमा आएको दाबी गरे।
उनले माओवादी भित्रको आन्तरिक टुटफुटले पार्टी कमजोर बनेको बताए। ‘विरामी पर्दा उपचार गर्ने बैद्य पनि हुनुहुन्न र डाक्टर पनि हुनुहुन्न त्यसैले एजेण्डा स्थापित हुँदा पनि माओवादी संगठनका हिसावले कमजोर बन्न पुगेको छ। मिडियाले छुटेर गएका केही पार्टीलाई ठूलो पार्टी बनेको जसरी प्रचार प्रसार गरिरहेका छन्,’उनले भने।
प्रचण्डले दुईचार जना नातागोता मिलेर नयाँ पार्टी खोल्दैमा केही फरक नपर्ने बताए। विचारको दृष्टिकोणले अहिले पनि माओवादी नै देशको नम्वर वान पार्टी रहेको उनले जिकिर गरे।