वैशाख १२ को भुइँचालो आउँदा जिल्ला अस्पताल रसुवाको क्वाटरमा पुस्तक पढ्दै थिएँ डा.तेजेन्द्र साउद। सरकारी छात्रवृत्तिमा एमबीबीएस पढेका डा. साउद अनिवार्य दुर्गम सेवाका लागि २०७१ साल जेठ २५ मा धुन्चे पुगेँ।
शनिबार विदाको दिन भएकाले आफ्ना आवश्यक कागजपत्र फोटोकपी गर्न जनस्वास्थ्य कार्यालय गएको थिएँ। ‘कागजपत्र ब्यागमा राखेँ। फेरि के भयो, बजार निस्कने जाँगर लागेन फेरि क्वाटर लागेँ,’ डाक्टर सम्झना गर्छन्।
‘कोठा पुगेर भर्खर किताब पढ्दैथिएँ। कसैले हल्लाएजस्तो, रिगंटा लागेजस्तो भो। केही सेकेन्डमै भुइँचालो भन्ने थाहा भयो। भाग्न खोजेको लडिहाँले,’ डाक्टर १२ गतेलाई सम्झन्छन्।
‘लड्दा चोट लागेको थियो क्यारे गोडा दुख्न थाल्यो। उठ्नमात्र भ्याएको थिएँ रूमको गाह्रो भत्किएर ढुंगा खसेर ढोका लक भयो। झ्यालमा पर्दा लागेको थियो। बाहिर केही देखिएको थिएन। कोठा धुलाम्य थियो,’ गम्भीर मुद्रामा डाक्टर सुनाउँदै गए।
‘आज जीवनको अन्तिम दिन रहेछजस्तो लाग्यो। बाहिर जानसक्ने सम्भावना नै थिएन। जमिन हल्लिँदै थियो। गाह्रो चर्किदै गएपछि धुलो खस्दै गयो। अब मरिने भो भन्ने निश्चित भयो। घरपरिवार सबै सम्झिएँ। त्यतिकैमा एक्कासि खाटमुनि जानुपर्छ भन्ने चेत आयो अनि त्यतै छिरेँ। एकछिन त सक नै भइयो,’ बोल्दाबोल्दै गम्भीर बनेका डाक्टर लगातार सुनाउँदै गए।
‘भूकम्प नरोकिएसम्म खाटमुनि बसेँ। तीन चार मिनेटपछि खाटमुनिबाट निस्केँ। भित्रतिरको ढोकाबाट छेउको साथीको कोठामा पुगेँ। ढुंगा खसेको प्वाल रहेछ, त्यसैबाट बाहिर निस्किएँ,’ उनले भने।
भूकम्पका बेला जिल्ला अस्पताल धुन्चेमा कार्यरत डा. तेजेन्द्र हाल रोल्पा अस्पतालमा छन्।
मृत्युको मुखबाट बचेका डाक्टरको क्षति भनेको खुट्टाका दुई वटा नङमात्र उम्किएछ। ‘नाङ्गै खुट्टा, हाप पाइन्ट, टिसर्टमात्र। भएको सबै पुरिहाल्यो,’ उनले भने।
फोटोकपी गर्न बजार निस्केको साथीलाई भत्किएको क्वाटरबाट बाहिर निस्कदा अचम्ममा परेँ।

चारैतिर धुलो कोलाहलका बीचमा उनले परिवार सम्झन भ्याएका थिएनन्। पारिपट्टिको घरमा बस्ने साथी आएर घरमा फोन गर्न सुझाएपछि मात्र उनले फोनबाट परिवारजन सकुशल भएको र आफू पनि ठिकै रहेको सन्चार गर्न भ्याएछन् उनले।
‘केही मिनेटभित्रै अस्पतालमा घाइते आउन थालिहाले। हतारहतार गएर हेरेको दुई जना बच्चाको लास सुरूमै आएछ,’ एकटकले आकाशतिर हेर्दै गरेका डाक्टर सुनाउँदै गए।
‘अस्पताल सबै ध्वस्त थियो। घाइते आउने क्रम बढ्दै गयो। औषधि सबै पुरिएको थियो। प्रायः स्वास्थ्यकर्मी स्थानीय। कसैका आफन्त गुमेका या घाइते या त घर भत्किएका। घाइतेले सानो मैदान (चौर) भरिन थाल्यो।’
जिल्ला अस्पताल रोल्पाको आगन देखाउँदै उनी बोले, ‘यत्रै थियो त्यो ठाउँ।’
‘औषधि दराज र सोकेसमा राखेका थियौं। पुरिएको औषधि लिन जाने कोही भएन। त्यतिकैमा आर्मी र प्रहरी आइपुगे। टाउकोमा हेल्मेट लगाएर उनीहरुसँगै भत्किएको भवनभित्र छिरेँ। दराज र सोकेस उठाएर बाहिर ल्यायौं।’
‘सुरूको दिन एउटा त्रिपाल दिएर गएपछि स्थानीय रेडक्रसका कोही पनि फर्केर आएनन्,’ नाङगै खुट्टा घाइतेको उपचार गरिरहेका डाक्टरलाई अस्पतालकै आँगनमा कसैले एक जोर चप्पल दियो र लगाए भन्ने हेक्का छैन अहिले।
बिरामी बढ्न थालेपछि धुन्चे फुटबल ग्राउन्डमा राखेर उपचार सुरू भयो। सामान्यदेखि गम्भीर घाइते आउन थाले। जनशक्ति कम। सकसका बीचमा नेपाली सेनाको मेडिकल टिम सहयोगका लागि आएपछि अलि सहज महसुस गरे उनले।
आर्मीको मेडिकल टिमसँगै विदेशी पर्यटकमध्येका दुईजना स्वास्थ्यकर्मी रहेछन्। उनले पनि राम्रै सहयोग गरे।
बाटो बिग्रिएको थियो। गम्भीर घाइतेको अवस्थाले चिन्तित भएका डाक्टर रातभर अनवरत बिरामीकै वरपर गर्दैरहे। बिरामी आउने क्रम कतिखेरै रोकिएन। भोलिपल्ट उज्यालो भयो।

गुन्द्री, सुकुल चौरभरि ओछयाइयो। काठ काटेर स्लाइनका बोतल झुन्ड्याउने स्ट्यान्ड बनाइयो। अलिबेरमा आएको हेलिकप्टरले गम्भीर घाइतेलाई थप उचारका लागि काठमाडौं लिएर उड्यो।
तीन चार दिन चौबीसै घण्टा एक्लै जुधे घाइतेको उपचारका लागि उनी। अन्य स्वास्थ्यकर्मीको कमी रहेको जिल्ला अस्पतालबाहेक बाहिरका औषधि पसलसमेत भत्किएपछि समस्या झन् थपियो।
‘दुई रात त पुरै सुतिएन। न कपडा चेन्ज गर्नु। न खाना रुच्थ्यो। पहिलो दिन त त्यसै बित्यो। भोलिपल्टबाट केही दिन चाउचाउ र चिउराले धानियो,’ विगत सम्झँदै गर्दा डा. साउद झनै गम्भीर देखिए।
‘सात आठ दिनको बिचमा मैदान (चौर)को उपचार लिनेहरुको संख्या करिब छ सय बढी थियो। त्यही बीचमा अन्य महामारीको सम्भावना देखिन थाल्यो। आर्मी, प्रहरीको सहयोगमा वरपर, चोक चोकमा चर्पी निर्माण गरियो। धन्न प्रकोप सुरु हुनपाएन,’ स्मरण गरे।
त्यत्रो महाविनाशमा राजनीतिक दलको उल्लेख्य कुनै भूमिका नदेखेका साउद स्थानीय प्रसाशनप्रति आभारी छन्। आफ्नो कोठामा पुरिएका सामान दस दिनपछि मात्र झिकेका उनले त्यो बीचमा अरुका कपडा लगाएर बिताए।
‘जीवन सूरुवातको चरणमै मर्छु भन्ने लागेको थियो। तर बाँचे। त्यतिबेला एउटै कल्पना आयो, मलाई सेवा गर्नका लागि बचाइएको हो। त्यसैले, सकेजति गर्नैपर्छ भन्ने सोच आयो। कति गरे त्यो अरुको मूल्या|कन हो। मेरो तर्फबाट मेरो क्षमताले भ्याउन सक्ने सेवा निर्वाह गर्न कुनै कसर बाँकी राखिनँ,’ डा.साउद सुनाउँछन्।
रामारोसन-२ अछाम, पुख्र्यौली घर भएका कोटेश्वर निवासी डा. साउद पहिले-पहिले त सपनामा पनि झस्किने गरेको सुनाउँछन्। ‘सुरुका केही समय सपनामा पनि तर्सिन्थे। कस्तो-कस्तो नमिठो दिनचर्या हुन्थ्यो,’ त्यो बेलाको कल्पनामा हराउँछन् डा.साउद।
बाटो खुलेपछि सहकर्मी आए। क्यानेडिएन रेडक्रसको टिम आयो। भत्केका संरचना फालेर मोबाइल अस्पताल जस्तो बनाइयो। लोकल एनजिओले पनि सहयोग सुरु गर्यो। जनजीवन अलि सहज बन्दै गयो।
भुकम्पपछिको एक महिना दस दिनपछि नुवाकोट सरुवा भएका उनले पछिल्ला दिनहरुमा मानसिक रोगी, डिप्रेसनका बिरामीका चाप बढिसकेको बताए।
रोल्पा अस्पतालको क्वाटर प्राङगणमा बसेका उनले आफ्नो जीर्ण निवास देखाउँदै भने, ‘यस्तै भवन थियो त्यहाँ पनि।’ करिब चार दशक पुरानो रोल्पा अस्पताल भवन पनि वास्तवमै अत्यन्त जोखिमयुक्त छ।
केही समयअगाडि स्वास्थ्य खबर पत्रिकाले ‘अर्थक्वीक हिरोज’ उपाधि दिएपछि ठूलो मन बनाएका डा. साउदले रोल्पामा कुनै प्रकोप परिहाल्यो भने कसरी म्यानेजमेन्ट गर्ने भन्ने तयारी लगभग गरिसकेका छन्।