बिहानको ९ बजिसकेको थियो। म निकै हतारमा थिएँ। खाना पाकिसकेको थियो। हतार भएकोले थोरै खाना खाएर बाहिर निस्किए। मलाई जति हतार थियो, उति खुशी पनि थिए। स्नातक तहको ट्रान्सक्रिप्ट निकाल्नका लागि बल्खु जाँदै थिए। अफिसमा आज आधा घण्टा ढिला हुन्छु भनेर जानकारी पनि गराइसकेकी थिएँ।
साढे ९ बजेतिर म स्कुटर लिएर कालिमाटीबाट बल्खुतिर हुइँकिए। कालिमाटी यसै पनि ट्राफिक जाममा नाम कमाएको ठाउँ त्यसमाथि कार्यालय समय सुरु भइसकेको। सोल्टी मोडबाटबाट बल्खुको दूरी दुई किलोमिटर थियो तर बल्खु चोक ट्राफिक जामको चपेटामा परिसकेको हुनाले पाँच मिनेटको बाटो पन्ध्र मिनेटमा छिचोल्दा समेत परीक्षा नियन्त्रण कार्यालयको गेटमा पुग्दा घडीको सुइले १० बजाउनै लागिसकेको थियो। आफू चाँडै नै आइपुगेको जस्तो लागेको थियो। तर धेरै म जस्ता विद्यार्थीहरुको निकै ठूलो जमघट बनिसकेको रहेछ, कार्यालय परिसरमा।
सबै विद्यार्थीहरुको नजर गेटमा लगाएको भोटे ताल्चामै थियो। दश बज्यो तर गेट खुलेन पन्ध्र मिनेटपछि पाले आएर गेट खोले। मेरो जिन्दगीको पहिलो पटकको यात्रा भएकाले पनि हुन सक्छ, दौडा दौड हुँदा केही रमाइलो अनि रिस समेत उठ्यो।१०÷१५ मिनेट त मलाई सोधपुछ कक्ष खोज्नै लाग्यो। सोधपुछ कक्षमा एकजना सुरक्षागार्ड थिए। यति नम्बर उति नम्बर कोठा भन्दै सबैजनालाई जानकारी गराइरहेका थिए। उनको सल्लाह बमोजिम ट्रान्स्किप बनाउन ३ सय ५० को भौचर काट्न बिल्डिङ पछाडिको बैंक काउन्टरमा लाइन लागे।
लाइनमा १० जना पुगिसके पनि काउन्टर खुल्ने अत्तोपत्तो थिएन। घडीले साढे १० बजाइसकेको थियो। एकैछिन पछि बैंक कर्मचारीका साथ सुरक्षा गार्ड सेफ बोकेर आए। एकैछिन पछि रकम जम्मा भयो। फेरि भौचर लिएर अर्को लाइनमा गए। त्यो लाइन त झन बैंकको लाइन भन्दा पाँच गुणा लामो भैसकेको रहेछ। करिब १ घन्टाको प्रतिक्षापछि मैले बैंक भौचरबाट रसिद पाएँ। अफिसबाट आएका कलहरु समेत मिस्डकलमा परिणत भैसकेको पत्तो भएन। मैले अझै आधा घण्टासम्म आइपुग्न नसक्ने जानकारी दिए।
फेरि रसिद लिएर अर्को कोठा हुँदै म फाइनल डकुमेन्ट बुझाउने ठाउँमा पुगे। पछि थाहा भयो रजिस्ट्रेसन कार्डको फोटोकपि पनि चाहिंने रहेछ। आफूसँग रजिस्ट्रेशन कार्डको नम्बर मात्र भएकाले
मलाई डकुमेन्ट फिर्ता दिइयो। सोधपुछ कक्षमा गएर बुझ्दा मात्र थाहा भयो १ सय ५० को भौचर काट्नु पर्ने रहेछ। फेरि बैंक काउण्टरमा उभिनुपर्दा मलाई एकदम दिक्दार लाग्यो। बिहानको लाइन त निकै लामो भइसकेको रहेछ फेरि तातो घाममा पसिना पुस्दै लाइनमा लागे। मोबाइलमा आएका फोनको घन्टीले मेरा अगाडि पछाडि लाइनमा बस्नेहरु मतिर आखा तन्काइ तन्काइ हेरिरहन्थ्ये।
काउन्टरमा मेरो पालो आयो फेरि डेढ सयको भौचर बोकेर अघिकै प्रक्रियामा गएँ। बल्लतल्ल रसिद त पाए तर मैले ट्रान्सक्रिप्टको आबेदन भने दिन पाइन। पछि मात्र थाहा दिइयो, रजिस्ट्रेसन कार्ड लिन त ३ दिन पछि आउनु पर्ने रहेछ। निरास भएर फर्कदा तीन बजेको थियो।तीन दिनपछि हस्याँङ फस्याँङ गर्दै फेरि परीक्षा नियन्त्रण कार्यालयको गेटमा पुगे। आज भने अलि बढी नै जानकार भैसकेकाले पनि हुन सक्छ सिधै सुरक्षा गार्डलाई रजिस्ट्रेसन कार्ड लिने कोठाको बारेमा जानकारी मागे। उनकै निर्देशन अनुसार २४ नम्बर कोठामा गएँ।
कर्मचारीहरुलाई सोध्दा एउटै जवाफ आउँथ्यो–‘रिसेप्सनमा गएर सोध्नुहोस्।’ सुरक्षागार्डले भने सोधेको कुराको जवाफ भने निकै मजाले दिन्थे। पछाडितिरको सेकेण्ड लास्ट बिल्डिङको दोस्रो तलामा जान भने।
त्यहाँ एकजना पुरुष कर्मचारी खैनी माड्दै थिए, मैले सर सर भनेर बोलाएँ। उनी मेरो कुरा नसुनी फेरि माथिल्लो पोष्टकी अर्की महिला कर्मचारीलाई गफ लगाउन थाले।
मैले तेस्रो पल्ट अलि कडा स्वरमा सोधेपछि मात्र बस्ने इशारा पाएँ। ति पुरुष कर्मचारी अर्को टेबलतिर हान्निए, सहकर्मीलाई खैनी दिन। त्यसपछि मात्रै, उनी फाइल पल्टाउन थाले। रसिद पाएपछि खैनीले काला भएका दाँत निच्च देखाउँदै रजिस्ट्रेसन कार्ड मेरो अघि राखिदिए।
बल्ल ट्रान्सक्रिप्टको प्रक्रिया अघि बढ्यो। नेपालकै सबैभन्दा जेठो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणाली र तहको व्यवस्थापन देखेर निकै दिक्क लाग्यो। सरकारबाट पर्याप्त लगानी हुँदा समेत त्यहाँको कार्यालय, कर्मचारीतन्त्र र व्यवस्थापन निकै कमजोर र अव्यवस्थित रहेछ। लाखौं बिद्यार्थी रहेको देशकै जेठो र ठूलो विश्वविद्यालयको प्रणालीमा अझै सुधार गर्न नसक्नु निकै दुखद कुरा हो। फेरि अर्को साता ट्रान्सक्रिप्ट झिक्न जानु छ, हेरौं अझै कति दुःख पाइन्छ।