केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने राजनीतिक कार्यपत्र लेख्न राप्रपा नेपालका अध्यक्ष कमल थापा हेटौंडा पुगेका छन्।
बुटवलमा भएको धार्मिक सभापछि अध्यक्ष थापा शान्त वातावरणमा कार्यपत्र लेख्न भन्दै हेटौंडा पुगेका हुन।
उनले अहिले हेटौंडा ६ रामनगरस्थित आफ्नै निवासमा कार्यपत्र लेखिरहेका छन्। थापाको कार्यपत्रमा भारत र चीन भ्रमणको समिक्षा, पार्टीको संगठन सुदृढीकरण,मुलुकको पछिल्लो राजनैतिक घटनाक्रम समेटिने राजनीतिक सल्लाहकार राजाराम बर्तौलाले जानकारी दिए।
उनले यही चैत १८ र १९ गते वीरगंजमा बस्ने केन्द्रीय समितिको बैठकमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्नेछन्। केन्द्रीय समितिको बैठक सकिएपछि २० गते वीरगंजमा हुने धार्मिक सभालाई उनले सम्बोधन गर्ने कार्यक्रम छ।