दामोदरप्रसाद शर्माको परिचय चितवन देवघाटमा मुलुकको प्रधानन्यायाशीश भन्दा पनि ‘बाबा’को बढी छ । अदालतका कर्मचारी र वकिलहरुले पनि शर्मालाई ‘बाबा’ नै भन्छन्। 
	 
	धेरै वर्षदेखि पटक पटक देवघाट आएर न्यासध्यानमा लाग्ने शर्माले अबको तीन महिनामा अवकाश पाएपछि यतै बस्ने बताउँदै आएका छन्। 
	 
	भरतपुर नगरपालिका–१ देवघाटमा शर्माको घर बनिरहेको छ। ‘श्री अखण्डानन्द निकेतन’ नाम दिइएको २४ कोठे ठूलो घरको ‘स्ट्रक्चर’को काम सकिएको छ। 
	 
	भुँई तलाको भित्री फिनिसिङ् सकिएको छ । हप्ता/पन्ध्र दिनमा देवघाट आउँदा शर्मा यहीँ बस्छन् । पहिलो र दोस्रो तलामा भने धमाधम काम भइरहेको छ । निजीे घर भएपनि शर्माले यसलाई ‘आश्रम’ भन्ने गरेका छन्। 
	 
	
मुुलुकको प्रधान न्यायाधीश त्यहाँ माथि अविवाहित शर्माले समुच्च रेखदेख र आफू आएको बेला सहयोग गर्न एउटी युवती खटाएका छन्। त्यहाँका छिमेकीहरु उनलाई सितामाता भन्छन्।(तस्विरमा हेर्नुहोस्) 
 
	 
	यसरी प्रधान न्यायाधीशको घर निर्माण र सहयोगका लागि खटिने ‘सीतामाता’ले तलब भने जिल्ला अदालत चितवनबाट बुझ्छिन्। उनलाई शर्मा कायम मुकायम प्रधान न्यायाधीश हुनेबित्तिकै जिल्ला अदालत चितवनमा डिठ्ठा सरह तलब पाउने गरि तामेलदारमा अस्थायी नियुक्ती दिइएको हो। मासिक सोह्र हजार दुई सय रुपैयाँ पाउनेगरी नियुक्ति पाएको लगभग चौध महिना भयो। 
	 
	‘खीलराज रेग्मी सरकारको नेतृत्व गर्न गएपछि शर्मा कायम मुकायम प्रधान न्यायाधीश बनेको केहि दिनमा सीताले नियुक्ति पाएकी हुन्,’ चितवन जिल्ला अदालत स्रोतले भन्यो।
	 
	यी सीता माताको वास्तविक नाम सीता सिलवाल हो । पच्चिस वर्ष हाराहारीकी यी युवती विरलै अदालत जान्छिन्। 
	 
	‘प्रधान न्यायाधीशको घरमा बसेर उहाँलाई सेवा गर्ने कर्मचारीलाई हामीले कहाँ काम लगाउन सक्छौं,’ अदालत स्रोतले भन्यो, ‘हाजीर गराएर तलब दिन्छौं, बाटो पर्दा कुनैबेला अदालत आउनु पनि हुन्छ।’
	 
	छिमेकीका अनुसार सीतामातालाई नियमित पूजाअर्चना, आश्रमको अरु भित्री काम, प्रधान न्यायाधीश शर्मा आएको बेला सेवा गर्दा नै भ्याई नभ्याई हुन्छ।  
	 
	
शर्माको घर निर्माण र अन्य रेखदेख गरेबापत अदालतलबाटै तलब पाउने सीतामात्र मात्र हैनन् थप दुई पनि छन् । प्रधान न्यायाधीशको घरायसी सहयोगका लागि काम गरेर अदालतबाटै तलब बुझ्ने दोस्रो व्यक्ति सितामाताकै भाइ रुपेश हुन्।(तस्विरमा हेर्नुहोस्) 
 
	 
	रुपेशलाई भने पुनरावेदन अदालत हेटौंडामा करारमा नासु (नायव सुव्वा)को नियुक्ति दिइएको छ। 
	 
	‘रुपेशलाई अस्थायी नियुक्ति दिन हामीलाई पनि प्रेसर थियो,’ जिल्ला अदालत चितवन स्रोतले भन्यो, ‘हामीले गाह्रो पर्ने बताएपछि प्रधान न्यायाधीशले उनलाई हेटौंडामा नियुक्ति दिलाउनुभयो।’
	 
	दिदी जस्तै रुपेश पनि हेटौंडा पुनरावेदन अदालतमा आक्कल झुक्कल मात्र जान्छन् । ‘बाबाको मान्छे भन्ने सबैलाई थाहाँ छ, कहिल्यै काममा आउँदैनन्,’ पुनरावेदन स्रोतले भन्यो, ‘चितवनबाट कहिलेकाँही आउँछन् हाजिर गर्छन् टाप कस्छन्।’
	 
	सेतोपाटीसँगको कुराकानीमा पनि रुपेशले आफू अदालतभन्दा बाहिरी काममा खटिने गरेको बताए। ‘म एक महिना अघि करारमा नियुक्त भएको हुँ,’ उनले भने,‘अदालतभित्र भन्दा पनि म बाहिरी कामको लागि जागिरमा आएको हुँ।’ 
	 
	पुनरावेदन अदालत स्रोतले भने रुपेशले नियुक्ति पाएको छ महिना जति भएको जानकारी दिएको छ।
	 
	
शर्माको घरमा प्लाष्टर, टाइल मार्बल, बाथरुम, काठको काम एकसाथ भइरहेको छ। रुपेशले मात्र यो सब हेर्न भ्याउँदैनन् । उनलाई सघाउन अर्का एकजाना रुपेश नै छन्। (हेर्नुहोस् तस्विरमा घरअगाडि गेटमा बसेका)
 
	 
	बारा रतनपुरका रुपेश महतोले पनि प्रधान न्यायाधीशको घरमा गरेको कामको ज्याला भने अदालतबाट पाउँछन्। ‘रुपेश महतो पनि चितवन अदालतमा कार्यालय सहयोगी रुपमा नियुक्ति पाएका छन्,’ अदालत स्रोतले भन्यो, ‘महतो आक्कल झुक्कल आएर हाजिर गर्छन्, काम भने देवघाटतिरै गर्छन्।’ 
	 
	सेतोपाटीसँग कुरा गर्दै शनिबार महतोले आफू ‘आश्रम’को काममा खटिने गरेको बताए। ‘उता (भरतपुर) जानु आउनुभन्दा यहिँ काम गर्दा मलाई सजिलो छ,’ उनले भने, ‘म त सानोतिनो काम गर्ने हेरालु हुँ, आश्रमको ठूलो काम सिलवाल सरले नै हेर्नुहुन्छ।’
	 
	हाल सीतामाता प्रधान न्यायाधीश शर्माको काठमाडौं आरुबारी घर (आश्रम)मा गएको जानकारी पनि महतोले दिए।