उसका आँखाले मलाई असाध्यै असजिलो बनायो। मैले त्यसभन्दा अगाडि कहिल्यै उसको आँखामा त्यस्तरी हेरेको थिइन। आँखामा बिस्तारै आँसू भरिँदै थियो। टिलपिल टिलपिल। धेरै कुरा बोल्न मन लागेको थियो। केही बोली नै फुटेन। म अवाक भएँ!
अघि भेट भएदेखि अहिलेसम्म ऊ लगभग मौन थियो। मैले सोधेका कुराको जवाफ मात्रै दिन्थ्यो। त्यो पनि प्राय एक शब्दमा। म असजिलोमा परेकी थिएँ, के गर्ने के भन्ने विषयमा।
उसको आँखाको डिलमा आइसकेका आँसू झर्न खोज्दै थिए। झरिसकेका थिएनन्। आँखामा बिचमा सानो नानी। कालाकाला आँखा। छेउ छेउमा थोरै खैरो। पुरै सेतो। परेला रुझ्नै लागेका थिए। एउटा आँखाको कुनामा कचेराको सानो टुक्रा पनि थियो।
एकटक हेरि रहेका उसका आँखा एकपटक पनि झिम्किएका थिएनन्। मैले आँखा झिम्काँइ या झिम्काँइन याद गरिन। एक्कासी चिसो हावा चलेपछि म झसङ्ग भएँ। मैले ओडेको सल हावाले अल्लि पर पुर्याइसकेछ। हावाले सल्लाको वन सुसाएपछि मेरो एकोहोरोपन भङ्ग भयो। म आफै देखेर अलमलमा परे! लाज लाग्यो अलिअलि। मनमा विभिन्न कुरा खेले एकैपटकमा। झन्डै दुई वर्ष सम्म सङ्गत गरेको मान्छे यही हो ? के यो मान्छे र मैले विगतमा घण्टौ घण्टा गफ गरेर विताएका थियौँ?
मान्छे यही हो। उही नमिलेको कपाल, थोरै मिलाएका दारी, लवाइ उही जिउडाल उही। तर आज मलाई ऊ यस्तो मान्छे लाग्यो, जो सँग म पहिलो पटक कुरा गर्दैछु। कुनै पैदल यात्रामा भेटिएको अपरिचित यात्रु जस्तै।
बजारको मुख्य चोक सातदोबाटोबाट हामी झण्डै ३० मिनेट पर थियौँ। बजारको कतै आभास नहुने ठाँउ। बेलाबेलामा कराउने जङ्गली चराको आवाज मात्र सुनिएको थियो। नाडीमा भएको घडीको मिनेट सुई त्यस्तै ३ अङ्क पार गर्ने तयारीमा थियो कि? अरुबेला एकै छिनमा बित्ने समय आज एक्कदम लामो लागिरहेको थियो। म एक किसिमको छटपटिमा थिएँ। भन्नु पर्ने कुराहरुका लागि थुप्रै योजना बनाएको थें। यत्तिका समय वितिसक्दा पनि कुनै कुरा सुरु भएका थिएनन्। कसरी सुरु गर्ने के भनेर सुरु गर्ने?
उसको शिर देखि पाउ सम्म नियाले। तिनै खुट्टा, सधैं लगाउने चप्पल, कालो रङ्गको पाइन्ट, सेतो धर्के टिसर्ट, गोजीमा स्टारलाइन डट्पेन, ५ र १० रुपैयाँका केही नोटहरु, घाँटीमा डोरो। दुई हप्ता अघि भिमेश्वर मन्दिर जाँदा मैले नै लगाइदिएको डोरो थियो त्यो।
उसले म तिर हेरेको थिएन। टाढाको क्षितिज तिर हेदै थिए, उसका आँखाहरु। मैले भन्न खोजेको कुरा थाहा पाएर हो की? मनमा विभिन्न कुरा खेल्न थाले।
“तिमीलाई के भा'छ?” मैले सोधे?
“केही भा'छैन” उसले छोटैमा उत्तर दियो।
“फरक छौ नी, हिजो अस्ति भन्दा?”
“सबैले त्यसै भन्छन्। किन र?”
“त्यतिकै, केही भन्नु थ्यो तिमीलाई अनि बोला'को।”
“ए ए, भन्न पर्ने कुरा कुरा त मोबाइल छदैँ थ्यो नी?”
“व्यस्त थ्यौ र?”
“हैन, प्रविधि उपयोग गर्या भा हुन्थ्यो नि।”
हो त नी, यतिखेर म झल्यास्स भएँ। मोबाइलमानै भनेको भए पनि हुन्थ्यो। यति धेरै असजिलो पनि नलाग्दो हो।
“भन, के भन्ने हो?” उसैले कुरा राख्यो। यो भेटमा बोलेको मध्ये उसको यो वाक्य सबै भन्दा लामो वाक्य थियो।
सल्लाको वन एकपटक सुसायो आफ्नै गतिले। म झसङ्ग भएँ। ऊ बिस्तारै मुस्कुरायो। अरुबेला भएको भए यति बेला उसले खित्का छोडेर हाँस्ने थियो। तर आज ऊ गम्भिर थियो।
यो सधै सुनिरहेको सङ्गित थियो। कता बज्यो। भेऊ पाइन। सम्झे, यो त उसको मोबाइलको रिङटोन थियो। उसले पाइन्टको खल्तिबाट फोन निकाल्यो। पुरानो डिजाईनको। थोत्रो भईसकेको। लागेको थियो उसले फोन काटिदिन्छ। अनुमानले हावा खायो उसले फोन उठायो।
“ए ए, म अल्कति काममा छु।”
“बेल्कातिर भेटौला नी।”
उसको साथी हुनुपर्छ फोन गर्ने। मैले अड्कल काटें।
“हैन हैन त्यस्तो काम छैन।”
“नचाहिने कुरा मात्रै गर्न आउँच है।”
“ह्या˜˜˜, नचाहिने कुरा गर्नी हैन। भरे भेटौला बेकरीमा।”
“ल ल, म आँए। आ˜˜..”
“म जानु पर्ने भो। के भन्नु पर्ने थ्यो?” कुनै सम्बोधन नगरी मलाई सोध्यो।
“थ्यो नी, कुरा कति छन् कति?”
“केको भुमिका बाध्या त, खुरुखुरु भने भैगो नी।” उसको प्रश्न सोधाईले ऊ सके सम्म यो बसाइ अन्त्य गर्न चाहेजस्तो देखिन्थ्यो।
“अँ˜˜˜ तिमी र मेरो सम्बन्धको बारेमा कुरा गर्न खोजेको..... ”
मैले कुरा पुरा गर्न नपाउदै उसले भन्यो “मलाई तिमीले के भन्छौ भन्ने थाहा भो। यस भन्दा धेरै म तिम्रो कुरा सुन्न सक्दिन।”
यति भनेर ऊ बजार तिर दौडियो। मैले उसको बाटो हरिरहेँ। फर्केर हेर्छ की भनेर। उसले एकपटक पनि फर्केर हेरेन।
म के गर्ने के नगर्ने भन्ने दोधारमा परें। मन खाली भयो। कुनै विचार आएनन्। एकैछिनपछि मैले मोबाइल निकाले र म्यासेज लेखेँ। “कुरा
तिमीले सोचेकोभन्दा फरक छ ...... सम्बन्धलाई परिवारले मान्यता दियो!”
मिर्गे–५, दोलखा