नेपाल वायु सेवा निगमले आन्तरिक उडान प्रयोजनका लागि ल्याइएको नयाँ चिनियाँ जहाज आज काठमाडौँमा अवतरण भएको छ।
चीनमा निर्मित यो जहाज आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको हो। चीन सरकारले अनुदानमा उपलब्ध गराएको सो जहाजमा ५६ सिट क्षमता रहेको छ।
मुलुकका सुगम गन्त्ाव्यमा व्यावसायिक उडानका लागि भरपर्दो मानिएको यो जहाज आएपछि निगमको बजार हिस्सा बढ्ने विश्वास गरिएको छ।
निगमका महाप्रबन्धक मदन खरेलले चीन सरकारले अनुदानमा उपलब्ध गराएको दुईवटा जहाजमध्ये पहिलो चरणमा एमए ६० मोडलको जहाज आज आइपुगेको बताए। चीन सरकारले नै अनुदानमा उपलब्ध गराउने अर्को जहाज भने केही समयपछि आइपुग्नेछ।
विमानस्थलमा जहाज अवतरण भएपछि पञ्चेबाजा बजाएर स्वागत गरिएको थियो भने मङ्गल कामना गर्दै मन्त्रोचारण समेत गरिएको थियो। नयाँ जहाजको स्वागतका लागि निगमका उच्च्ा पदस्थ कर्मचारी विमानस्थल पुगेका थिए।
केही प्राविधिक तयारी तथा कागजात मिलाउन एक दिन बढी लागेका कारण शनिबार नै आइपुग्ने भनिएको जहाज आज आइपुगेको हो।
चीन सरकारले आन्तरिक उडानका लागि छ जहाज निगमलाई उपलब्ध गराउने विषयमा यसअघि नै सहमति जनाइसकेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले …नो अब्जेक्सन लेटर' दिन ढिलाइ गरेका कारण पछिल्लो दिन आशङ्का बढेपनि शुक्रबार निगमले उक्त पत्र प्राप्त गरेको थियो तर प्राधिकरणले जहाजलाई उडान अनुमति भने दिएको छैन।
प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले यो जहाजको सबै परीक्षणपछि मात्रै उडान अनुमतिपत्र दिइने बताए। “जहाज आवश्यक परीक्षण, बिमा, चालकको टुङ्गो नलगाई अनुमति दिन सकिँदैन,” महानिर्देशक सुमनले बताए।
निगमले २८ वर्षपछि आन्तरिक उडानका लागि नयाँ जहाज ल्याएको हो। नयाँ जहाज आएपछि केही सहजता पैदा हुने विश्वास लिइएको छ।
चिनियाँ एभिएसन इन्ड्रस्टी कर्पोरेसन (एभिक)ले यो जहाज औपचारिकरुपमै निगमलाई गत चैत २० गते उपलब्ध गराइसकेको छ। आज अवतरण भएको जहाज अमेरिकी चालकले उडाएर ल्याएको बताइएको छ।
एभिकले यही ढाँचाका जहाज जिम्बाबे, कङ्गो, लाओस, बोलिभिया, श्रीलङ्कालगायत मुलुकमा समेत उपलब्ध गराइसकेको छ। चीनभित्रै आन्तरिक उडानमा पनि यो जहाज प्रयोगमा रहेको बताइएको छ।