मिडियामा विदेशी लगानी जायज कि नाजायज भन्न बहस सुरु भएको छ । देशको सबभन्दा धेरै बिक्ने कान्तिपुर दैनिकले सम्पादकीय नै लेखेर यसलाई अघि बढाएको छ ।
राष्ट्रका महत्वपूर्ण विषय, संस्था, पात्र तथा प्रवृत्तिमाथि निगरानी राख्ने र बहस चलाउने मिडिया तथा मिडियाकर्मीले आफ्नै विषयमा सार्वजनिक बहस गर्दा पाठकले कतिपय सन्दर्भमा अफ्ठ्यारो महशुस गरेको हामीले पाएका छौँ । यस्तो बहसलाई हिलो छ्यापाछ्याप र पोल खोलाखोल भनेर टिप्पणी हुने गरेकोप्रति हामी सचेत छौँ । तर खुला समाजमा बहस अनिवार्य छ । खुला बहसले कहिलेकाँही गुणात्मक परिवर्तन ल्याउँछ । यसले नेपाली मिडियाका सन्दर्भमा पनि यही गरोस भन्ने हाम्रो अपेक्षा र आशा छ ।
मिडियामा विदेशी लगानीको बहस चलिरहँदा सेतोपाटीका सन्दर्भमा पनि प्रत्यक्ष र परोक्ष रुपमा प्रश्न उठेका छन् । हामी हाम्रैबारे पहिले स्पष्ट गर्न चाहन्छाँै । सेतोपाटीमा भएको सम्पूर्ण लगानी यहाँ कार्यरत पत्रकारहरुको हो । यसमा आजका मितिसम्म स्वदेशी तथा विदेशी अरु कसैको एक पैसा पनि लगानी छैन । आर्थिक वर्षको अन्त्य भएपछि एक वर्षको सम्पूर्ण हिसाबकिताब हामी सार्वजनिक गर्न वचनबद्ध छौं ।
तर, हामी मिडियामा विदेशी लगानी जायज र आवश्यक छ भन्ने ठान्छौ । मिडियामा विदेशी लगानीको औचित्यमाथि बहस गर्न पहिले हामी अहिले नेपाली मिडिया तथा मिडिया हाउसबाट उत्पादन हुने सामग्रीमा विदेशी लगानीको हामीलाई थाहा भएसम्मको चर्चा गर्न चाहन्छौँ ।
राष्ट्रिय दैनिक हिमालयन टाईम्सको प्रकाशन गृह आप्का हाउसको कानुनी हैसियत जसरी मिलाएको भए पनि त्यसको मुख्य सञ्चालक संस्था भारतीय हो भन्ने प्रष्टै छ । सार्कस्तरीय हिमाल साउथ एसियन म्यागजिनको प्रकाशन संस्था साउथ एसियन ट्रष्टमा नर्वेजियन सरकारको सहयोग लिएको त्यो पत्रिकाका सम्पादक कनकमणि दीक्षितले बताइसकेका छन् ।
सरकारी प्रसारण संस्था नेपाल टेलिभिजनको स्थापना र विकासमा मित्रराष्ट्र चीनको सहयोग रहेको छ । रेडियो नेपालमा पनि विभिन्न समयमा विदेशी सहयोग रहने गरेको छ । बिबिसी नेपाली सेवा पूर्ण रुपमा विदेशी सहयोगमा सञ्चालन हुन्छ । निजीक्षेत्रको प्रमुख रेडियो नेटवर्क उज्यालोको स्थापना र सञ्चालनमा विदेशी संस्था मिडिया डेभलपमेन्ट इन्भेस्टमेन्ट फन्डको लगानी र यसका थुप्रै कार्यक्रममा विदेशी सहयोग छ ।
नेपाल वातावरण पत्रकार समूह र त्यसबाट सञ्चालित रेडियो सगरमाथाको स्थापना र सञ्चालनका विभिन्न चरणमा विदेशी सहयोग रहिआएको छ । हामीले अग्रणी मानेका र लाखौं नेपालीले सूचना पाउने सयौँ सामुदायिक रेडियो प्रत्यक्ष र परोक्ष रुपमा विदेशी सहयोगमा सञ्चालित छन् ।.
* कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने थुप्रै कार्यक्रम विदेशी सहयोगमा उत्पादित रहने गरेका छन् । कान्तिपुर टिभीबाट प्रसारण हुने सम्भवतः सबैभन्दा लोकप्रिय कार्यक्रम साझा सवाल विदेशी लगानीमा, विदेशी संस्थाले निर्माण गर्छ र कान्तिपुर टिभीले पैसा लिएर बजाउँछ । सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले कान्तिपुर टिभीमा सञ्चालन गर्ने समकोण कार्यक्रम नर्वेजियन दूतावासको सहयोगमा उत्पादित कार्यक्रम हो ।
विगतमा कान्तिपुर टेलिभिजनबाट प्रशारित 'मेरो जिन्दगी मेरो विश्वास' र 'तटस्थ तर्क' अमेरिकी सहयोग संस्था 'एन्टेना फाउन्डेसन' र एनजिओ 'एनडिआई'ले उत्पादन गरेका कार्यक्रम हुन् । 'मेरो जिन्दगी मेरो विश्वास' र 'तटस्थ तर्क'का विषयवस्तु कान्तिपुर पत्रिकामा पैसा तिरेर प्रकाशित हुन्थे ।
विदेशी लगानी वा सहयोग लिने सञ्चार गृहको तटस्थताप्रति प्रश्न उठ्ने तर सीधै विदेशी सहयोगमा उत्पादित कार्यक्रम र विषयवस्तु प्रसारण र प्रकाशन हुँदा निष्पक्ष हुने तर्क असंगतिपूर्ण छ । हाम्रो यसमा पुरै असहमति छ ।
मिडियामा विदेशी लगानी र सहयोगको कुरा गर्दा हामी आज बाँचेको युगको हेक्का राख्नुपर्छ । आज नेपाली पाठक र श्रोताको पहुँच संसारभरका मिडियासम्म छ । सिएनएन, बिबिसी, अलजजिरा, एनडी टिभी सीधै हाम्रा टिभी सेटमा आइपुग्छन्, हामी हेर्छौं र सुन्छौं ।
संसारभरिका पत्रिका र म्यागजिन हामीकहाँ आउछन् । अनलाइनबाट जसको पनि तत्काल सामग्री पढ्न पाइन्छ । 'दि न्यूयोर्क टाइम्स'को अन्तर्राष्ट्रिय संस्करण 'इन्टरनेसनल न्यूयोर्क टाइम्स' र चिनीयाँ कम्युनिष्ट पार्टीको मुखपत्र 'चाइना डेली' नेपालकै प्रकाशन गृहबाट प्रकाशित भएर बिक्री वितरण हुन्छन् । नेपाली पाठक र श्रोतालाई सञ्चारमाध्यमको व्यापक छनोट र बिबिधता उपलब्ध छ ।
पाठक र श्रोता आफैं सचेत छन् । कुनै एक मिडियाले मात्र आफ्नो विचार लाद्न सक्दैन । कुन सञ्चार गृहको मूल्य र मान्यता के हो, कसको एजेन्डा के छ भनेर पाठकले सहजै पर्गेल्ने गरेका छन् । त्यही भएर हो राजनीतिक पार्टीका मुखपत्रहरु व्यावसायिक पत्रिका जस्तो चल्दैनन् । पूर्ण विदेशी लगानीमा खुलेका पत्रिकाले विचारको नेतृत्व गर्न सकेका छैनन् । त्यसैले विदेशी सहयोग वा लगानी भएका पत्रिका वा सञ्चारगृहले राष्ट्रियता र राष्ट्र हीतमा हानी पुर्याउँछन् भन्नु पाठकहरुमा आएको व्यापक चेतनाको अपमान हुनजान्छ ।
हामी जुन सोसल मिडियाको युगमा प्रवेश गरेका छौँ त्यहाँ समाचार र विचारमा पत्रकार र सञ्चारगृहको एकाधिकार तोडिएको छ । सञ्चार गृह र पत्रकार मात्र समाचार र विचारका एकतर्फी बाहक हुने जुग फेरिएको छ । अब समाचार र विचारको निर्माण पत्रकार तथा पाठक र दर्शक र श्रोता मिलेर गर्न थालेका छन् । स्मार्टफोन र इन्टरनेटको व्यापकतासँगै समाचारको पहिलो बाहक पत्रकार होइन, पाठक र दर्शक बनेका छन् ।
यो मिडियाको प्रजातान्त्रिकरणको युग हो । मिडियामा हार्डवेयर भन्दा सफ्टवेयर बलियो बन्दै गएको, लगानीकर्ताको पूँजीभन्दा पनि पत्रकारको लगन, इमान र क्षमता निर्णायक बन्दै गएको छ । त्यसैले संसारभरि पत्रकारहरुको अगुवाइमा वैकल्पिक मिडिया सुरु भएका छन् ।
यी वैकल्पिक मिडियाका आफ्नै चुनौती छन् । ती चुनौतीमा सहयोग गर्न, मिडियामा नयाँ प्रयोगको साथ दिन र मिडियाको प्रजातान्त्रिकरणको अंश बन्न धेरै मिडिया फाउन्डेशन स्थापना भएका छन् । तिनले संसारभर आफ्नो लगानी र सहयोग बढाएका छन् । प्रविधि, अन्तर्राष्ट्रिय सहयोग र मानिसको चेतनाले मिडिया क्षेत्रमा व्यापक संरचनागत परिवर्तन ल्याउँदैछ ।
यो परिवर्तनलाई नबुझ्दा वा स्वार्थवशः रोक्न खोज्दा मात्र मिडियामा विदेशी सहयोगको विरोधको औचित्य पुष्टि हुन्छ ।
दोस्रो संविधानसभाको चुनावपछि हाम्रो समाज लोकतान्त्रिकरणको अर्को चरणमा प्रवेश गरेको छ । यो चरणको प्रमुख कार्यभार पारदर्शिता र जवाफदेहिता संस्थागत गर्नु हो।
नागरिकको जीवनलाई दैनिक रुपमा छुने खुला लोकतान्त्रिक समाजका दुई खम्बा राजनीति र मिडिया पारदर्शी र जवाफदेही नभएको भनेर आलोचित छन् । राजनीतिक पार्टी वैधानिक श्रोतबाट पैसा नउठाउने तर अपारदर्शी ढंगबाट व्यापारी तथा विदेशी शक्तिबाट पैसा उठाउने कार्यले आलोचित छन् । यस्तो अपारदर्शी चन्दा तथा सहायताले उनीहरुको स्वतन्त्र र स्वाभिमानपूर्वक निर्णय गर्ने क्षमतामा ह्रास आएको छ ।
नेपाली मिडियाको चुनौतीमा अर्को आयाम पनि छ । हाम्रो देशमा छापा तथा टिभी, रेडियो, र अनलाईनहरुले नगन्य र कतिपय सन्दर्भमा शून्य मात्रामा पाठक श्रोता र दर्शकबाट शूल्क उठाउँछन् । त्यसले उनीहरुको परनिर्भरता पुरै बजारमा कायम भएको छ ।
स्पष्ट छ, राज्य र नागरिक, पाठक र श्रोताले राजनीति र मिडियाको खर्चको राम्रो हिस्सा व्यहोरेनन् भने तथा राजनीति र मिडियाको परनिर्भरता बजारमा छोडे भने तिनलाई बजारले नियन्त्रण गर्छ ।
केही महिनाअघि काठमाडौं आएका भारतीय पत्रकार भारत भुषणले नेपाली सम्पादकहरुसँगको अन्तक्र्रियाको पहिलो वाक्यमै भनका थिए, भारतमा सम्पादकको मृत्यु भइसक्यो । अब सम्पादकले पत्रिकाको एजेन्डा तय गर्दैन, बजारले गर्छ।
अपारदर्शी संस्कृति कायमै रह्यो भने राजनीति र मिडियाको बजारसँगको सम्झौता सिमाहीन हुँदै जाने छ । त्यसले हाम्रो लोकतन्त्रलाई थप क्षति गर्ने छ ।
केही वर्षअघि सञ्चार मन्त्रालय सञ्चार गृहहरुको आर्थिक पारदर्शिता कायम गर्ने नीति बनाउन अग्रसर भएको थियो । त्यो पहल ठूला मिडिया हाउसहरुको विरोधका कारण अघि बढ्न सकेन । केही मानिसहरुलाई राजनीति र मिडियाको पारदर्शिताको विषय आदर्श कुरा मात्र हो भन्ने लाग्छ । हामी लोकतन्त्रमा यो आधारभूत पक्ष हो भन्ने ठान्छौँ ।
पत्रकार कनकमणि दीक्षितलाई लाञ्छित गर्न र उनको चरित्र हत्या गर्न एमाओवादीले उठाएको विषय क्रमशः नयाँ मोडमा आइपुगेको छ । अबको एउटा बाटो एक अर्कामा हिलो छ्यापाछ्याप गर्ने र समाजलाई थप निराश बनाउने हो । अर्को बाटो यही बाहानामा हाम्रो राजनीति र मिडियालाई थप पारदर्शी र जवाफदेही बनाउने हो । हामी समाजलाई दोस्रो बाटोमा लैजान निरन्तर लागिरहने छौँ।
(*सशाेधन गरिएकाे)