विगतलाई हेर्ने हो भने जनकपुर सधै–सधै एउटा बैकल्पिक धारको केन्द्र रहँदै आएको देखिन्छ। देशमा जहिले राजतन्त्र थियो, यसले काठमाडौं र वीरगञ्जलाई समातेर बसेको थियो।
अर्कोतर्फ संबैधानिक राजतन्त्र विराटनगर र नेपालगञ्जलाई समातेर बसिरह्यो। तर एउटै सिक्काका दुई पाटा भनेजस्तै–राजतन्त्रका प्रमुख राजा र संवैधानिक राजतन्त्रका प्रमुख कोइराला परिबार भए।
एउटा रोयल किङ, अर्को पव्लिक किङ/नक्कली राजा जस्तो। यस्तो समयमा पनि जनकपुर त्यसबाट अलग बैकल्पिक राजनीतिको केन्द्र रहयो र गान्धीबादी गणतन्त्रको कुरा गरिरहयो।
कांङ्ग्रेसका सरोज कोइराला गणतान्त्रिक धारका व्यक्ति थिए भने महेन्द्रनारायण निधि थिए गान्धीबादी धारका व्यक्ति।
यस प्रकार जनकपुर सदैव एउटा विकल्पको रुपमा रहँदै आएको थियो। तर अहिले जनकपुर कुनै विकल्प दिने अवस्थामा छैन। जता–जता देश जान्छ, उतै उतै दौडिरहेको छ जनकपुर।
देश राजतन्त्रबाट गणतन्त्र भयो। जनताले काठमाडौंमा झण्डा फहराए अनि बल्ल जनकपुर गणतन्त्रवादी भयो।
यसको बैकल्पिक धार अगाडि लैजानु पर्ने थियो, तर त्यसो भएन। यस्तोमा सात सय वर्षको इतिहासलाई छाडेर पचास बर्षको साधारण समीक्षा गर्नु जरुरी छ।
...
मलाई एउटा पुरानो किताबको संझना आइरहेको छ। त्यो किताव चन्द्र शमशेर र भीम शमशेरका हजुरिया राममणि आचार्य दीक्षितले सन् १९०७/०८ तिर बनारसमा लेखेका थिए।
कितावमा उनले लेखेका छन्– जसरी हिन्दीको चलनचल्ती रहे पनि मैथिलीको आफनो स्वतन्त्र अस्तित्व छ, त्यसरी नै नेपालीको पनि स्वतन्त्र अस्तित्व कायम होस भन्ने मेरो ठूलो चाहना छ। एक सय वर्ष अघि नेपाली राज्यसत्तासँग जोडिएको एक प्रभुत्वशाली व्यक्तिले मैथिली जस्तै स्वतन्त्र अस्तित्व नेपालीको पनि भइदिएको भए कस्तो हुन्थ्यो भन्ने सपना देख्नु आफैमा निकै महत्वपूर्ण कुरा हो। यो कुरा जव मैले त्यस कितावमा पढें, त्यस पानाबाट अगाडी मैले पढ्नै
सकिनँ। आज सय बर्षपछि आएर अहिले मैथिली र नेपालीको अवस्था सोझै उल्टो भएको छ। अङ्ग्रेजीमा एउटा भनाई छ, करप्सन अफ द सोसाइटी स्टार्टस् विथ द करप्सन अफ ल्याङ्ग्वेज अर्थात भ्रष्टाचारको सुरुआत समाजमा भाषिक भ्रष्टाचारबाट हुन्छ।
भाषामा भ्रष्टाचार छ भने समाज र व्यक्ति सदाचारी हुनै सक्दैन। विचारको सफाई भाषाको सफाईबाट सुरु हुन्छ। भारतकै उदाहरण लिने हो भने कन्नडभाषी संसारको सूचना प्रविधिका लीडर मानिन्छन्।
भारतमा शतप्रतिसत साक्षरता मलयालम भाषीको हुनुको पछाडि के कारण छ? संस्कृतिसम्बन्धी सबैभन्दा धेरै काम तमिलनाडुमा हुनुको के कारण होला? संसारमा सबैभन्दा ठूल्ठूला हीरा व्यापारी गुजरातीहरु हुनुको के कारण हो? नोवेल
पुरस्कार विजेता भारतीयमा वङ्गालीहरु नै किन छन्? सबैभन्दा उग्रलडाकु भारतीयमा महाराष्ट्रका मराठीहरु नै हुनुको पछाडि के कारण छ? र त्यहाँ धर्म, जाति र जातीयताको नाममा लडाइँ भइरहनुको पछाडि के कारण होला? भारतीय महाद्विपको नेतृत्व गर्ने हिन्दीभाषी क्षेत्र त्यस्ता कार्यमा किन अग्रणी छैन?
यसको कारण हो– ती ठाउँमा कृत्रिम भाषीहरुको बसोबास रहनु। ती ठाउँका पूर्वी, गढबाली, भ्ोजपुरी, मैथिली भाषाहरु भ््कण्डै झण्डै लुप्त भइसके। जसको आफनो भाषा नै छैन, त्यसले के नेतृत्व गर्न सक्छ? कसैले आफनो भाषा राम्ररी जान्दैन भने त्यसले अङ्ग्रेजी र हिन्दीमा पनि राम्रो पकड बनाउन सक्दैन। नेपाली वा हिन्दी अथवा अङ्ग्रेजी बोल्न वा लेख्नका लागि आफनो मातृभाषामा राम्रो दक्खल हुनु आवश्यक छ।
मानौ–भालि एक मधेश एक प्रदेश भयो र परमानन्द झा हावी भए भने हिन्दी वा गिरिजाप्रसाद हावी भए भने नेपाली नै त्यस ठाउँको भाषा हुन सक्छ। अथवा हिमालयदेखि मधेशसम्म पाँचवटा प्रदेश बन्यो भने निश्चय पनि त्यहाँ नेपाली भाषाकै प्रभुत्व रहन्छ।
कुनै पनि स्थितिमा हाम्रो आफनो भाषा अगाडि रहेन भने विचारको अग्रसरता पनि रहँदैन। तसर्थ हामीले विचारको गरीवी हटाउने हो भने भाषाबारे काम गर्नै पर्छ।
...
सन् १८५७ को सिपाही विद्रोहपछि बङ्गाली, बिहारी, उडिया र पूर्वी सिपाहीहरुबाट अङ्ग्रेजहरुको विश्वास घटेको थियो।
उनीहरुको दिमागमा यी सिपाहीले कुनै पनि बेला धोखा दिन सक्छन् भन्ने कुरा बसिसकेको थियो। एकपटक गाईको मासु, सुँगुरको मासुको कार्तुस बनाएको भन्ने आरोपमा उनीहरुले अंग्रेजसँग लडाई गरिसकेका थिए।
त्यस लडाइँमा अंग्रेजहरुलाई शिख र गोर्खाले सहयोग गरेका थिए। शिखहरु धर्मात्मा हुन्छन्। उनीहरु अनावश्यक आक्रमण गर्दैनन्। त्यसैले अग्रेजहरुको ठम्याई के थियो भने शिखहरुले प्रतिरक्षाका लागि भलै हामीलाई सहयोग गरुन, तर आक्रमणका लागि भने हाम्रा विश्वासपात्र गोर्खालीहरु म्ात्र हुन सक्दछन्।
गोर्खामा पनि अनेक गोर्खालीहरु थिए। जस्तो राई गोर्खाली, गुरुङ गोर्खाली, मगर गोर्खाली, आदि। तिनीहरु सबैलाई कसरी एक बनाउन सकिन्छ भन्ने विषयमा अङ्ग्रेजहरु सोच्न थाले। यसै योजना अन्तर्गत उनीहरुले एउटा भाषाको विकास गरे, जो अहिलेको नेपाली भाषा हो। त्यसबेला यसलाई गोर्खाली भाषा भनिन्थ्यो।
यो नेपाली भाषाको आविष्कार नेपाल आफैले गरेको होइन। यो अङग्रेजहरुले गोर्खाली सिपाहीहरुका लागि भाषाको रुपमा तयार पारिदिएका हुन्। जसलाई नेपाली भाषा भनिन्छ। त्यहो हो–ए,बी,सी,डी नेपाली भाषा।
ए–आसाममा बस्ने नेपाली मूलका मानिस, बी–बनारसमा बस्ने पुरोहितहरु, सी–कलकत्तामा रहेका नेपाली मूलका नेवार व्यापारीहरु र डी–दार्जिलिङमा बस्ने अङ्ग्रेजद्वारा सिकाइएका शिक्षक वकिलहरु।
...
'नेपाली हामी रहौंला कहाँ नेपालै नरहे!' यो सुन्दा निकै मीठो लाग्छ, तर यसको गुढार्थ त्यति सोझो छैन। यसम 'नेपाली' नेपालमा बस्नेहरुलाई भनिएको होइन।
यसमा वर्णित नेपाली भन्नाले नेपाली भाषी, हिन्दू धर्म, नेपाली संस्कृती मान्ने, वीर गोर्खाली जाती भन्ने हुन्।
ती भुटानबाट आएका भए पनि उसको देश नेपाल, बर्माबाट आए पनि उसको देश नेपाल। किनभने नेपालीमा एउटा गीत छ– जहाँ रहे पनि, जहाँ बसे पनि यो मन त मेरो नेपाली हो।
...
मन्त्री एवम् वीरगन्जकी सभासद करिमा बेगमले सीडिओमाथि हात उठाउनु पर्यो। हात उठाउने अवस्था कसरी आउँछ? जब कसैलाई आफ्नो कुरा सुनिएको छैन भन्ने लाग्छ अनि हात उठ्न पुग्छ। करिमा बेगममा कुनै ज्ञान नभएको भए वा कुनै शक्ति नभएको भए उनी जनताबाट निर्वाचित भएर संविधानसभाको सदस्य बन्न सक्ने थिइनन्।
पुरुषप्रधान समाजमा एउटी मुस्लीम महिला निर्वाचित भइ संविधानसभाको सभासदसम्म भइन् भने त्यसको मतलव हो- उनीभित्र ज्ञानको भण्डार छ।
...
मधेशवादी दलहरु प्रत्यक्ष वा परोक्ष रुपले भारतसँग नजिक हुँदा उनीहरुमाथि भारतको पिछलग्गु भएको आरोप लाग्ने गर्छ। तर यही काम अन्य पार्टीले गर्दा उनीहरुमाथि कुनै आरोप लाग्दैन। यसको कारण के हो भने भारत पहाडी पार्टीहरु आलोचित भएको हेर्न चाहँदैन।
यसैकारण भारतको मुख्य प्राथमिकतामा पहाडीय समुदाय छन्, न कि मधेशी समुदाय। भारतको सेना, प्रहरी इण्डष्टियल सेक्युरिटी फोर्स, बोर्डर सेक्युरिटी फोर्स आदिमा गरि करीब दुई लाख नेपाली भारतको सुरक्षा बलमा छन्, जसमा भारतको सम्पूर्ण सुरक्षा व्यवस्था टिकेको छ।
भारतीय राष्ट्रपतिको सुरक्षा गार्ड होस् वा विपक्षी दलका नेता लालकृष्ण आडवाणीको ड्राइभर होस् वा आर्मी चिफको गार्ड होस्–सबैमा नेपालका पहाडी नै छन्, मधेशी छैनन्।
भारत ती पहाडी समुदायलाई कुनै पनि हालतमा इरिटेट गर्न चाहन्न। केहि दिएर होस्, केही लिएर होस्, डराएर वा धम्काएर होस् वा जसरि होस् उनीहरुलाई मिलाएर राख्न चाहन्छ।
भारतको सत्तालाई मधेशीसँग केही लिनुदिनु छैन, त्यसैले पहाडीले जति गाली गरे पनि उसलाई केही गर्दैछ, तर मधेशीले अलिकति चाइँचुइँ गर्यो की उनीहरुलाई बदनाम गर्न अघि सर्छ भारतको सत्ता। मधेशीहरुले अहिलेसम्म आफ्नो मूल्य बढाउन सकेका छैनन्।
...
''नेपाली' भनेर नेपालको राष्ट्रियता अब रहन सक्दैन। यो आउटडेटेड भइसक्यो। अब 'नेपालीय' भन्नुपर्ने हुन्छ राष्ट्रियताको हिसाबले।
नेपालीय भनेपछि नेपालको राष्ट्रियता नेपालको संस्कृतिभन्दा बढी नेपालको माटोसँग जोडिन्छ। यति भएपछि 'जहाँ रहे पनि, जे गरे पनि मत त मेरो नेपाली हो' भन्नुको अर्थ हराउँछ। त्यसपछि नेपालमा जो छ, यहाँको माटोप्रति, हावा–पानीप्रति जो समर्पित छ, त्यस नेपालीको, नेपालीय राष्ट्रियताको कुरा आउँछ।
राष्ट्रियता सबैभन्दा बढि गरिबको हुने गर्दछ। धनीलाई राष्ट्रियता त्यति जरुरी हुँदैन। किनभने उनीहरु जहाँ गएर पनि राष्ट्रियता किन्न सक्छन्। सिपाहीमा भर्ती भएर मर्न जान्छन् तीनै गरिब, जसलाई राष्ट्रले केहि दिँदैन, तर राष्ट्रियता तिनैलाई चाहिन्छ।
वारुणयन्त्रमा काम गर्दा आफ्नो ज्यान हत्केलामा राखेर आगोबाट अर्काको जीउधन जोगाउने तिनै गरीब। गरीबका लागि सबैभन्दा ठूलो राष्ट्रियता हुन्छ। यद्यपी गरीबले राष्ट्रियताबाट केहि पाँदैन। पाए पनि एकमदम थोर्र मात्र पाउँछ। तर त्यसका लागि गरीब ज्यान फालेर लागेको हुन्छ।
...
राष्ट्रवाद र राष्ट्रियताबीच फरक छ। राष्ट्रवाद एउटा नकारात्मक भाव हो। राष्ट्रवादका लागि एउटा दुश्मन चाहिन्छ। बिना दुश्मनको राष्ट्रवाद हुँदैन।
जर्मनीको राष्ट्रवाद बुझाउन हिटरले भन्नुपर्यो– फ्रान्स हाम्रो दुश्मन हो, इङ्ल्याण्ड हाम्रो दुश्मन हो।
फ्रान्सको राष्ट्रवाद इङ्ल्याण्डको विरोधमा उत्पन्न भएको हो। जापानको राष्ट्रवाद चीनको विरोधमा जन्मेको हो। यसप्रकार कुनै पनि राष्ट्रवादको नाम लिँदा एउटा विरोधी चाहिन्छ–चाहिन्छ।
अमेरिकालाई आफ्नो राष्ट्रवादको लागि सोभियन रुस रहुञ्जेल सजिलो थियो। तर सोभियत संघ समाप्त भएपछ उसले नयाँ दुश्मन खडा गरेको छ, जसलाई इस्लामिक टेरोरिजम भनिएको छ। यद्यपी कुनै पनि धर्म आतङ्कवाद हुनै सक्दैन। तर अमेरिकालाई एउटा काल्पनिक शक्ति चाहिन्छ। किनभने त्यो राष्ट्रवादमा आधारित देश बनिसकेको छ र शत्रुबिनाको राष्ट्रवाद हुन सक्दैन।
भारतले राष्ट्रवादका लागि पाकिस्तानलाई शत्रुको रुपमा खडा गरेको छ। चीन शक्तिसाली भएकाले उसलाई खुल्लम–खुल्ला शत्रु भन्दैन।
राष्ट्रवादमा शत्रुको भूमिका अनिवार्य हुने हुनाले नेपाललाई यस सम्बन्धमा समस्या छ। नेपालले भारत, चीन र अमेरिकामध्ये कुनै एक छिमेकीलाई शत्रु बनाउनुपर्ने हुन्छ। तर हरेक अवस्थामा घाटा नेपाललाई नै छ।
किनभने कुभिण्डामा खुकुरी हाने पनि खुकुरीमा कुभिण्डो बजारे पनि काटिनुपर्ने त आखिर कुभिण्डोले नै हो।
(नेपाल मधेश फाउण्डेसन र तराई मानव अधिकार रक्षक सञ्जालले हालै प्रकाशित गरेको लालको 'मिथिला मन्थन' को पुस्तक अंश)