आइतवार दिउँसोदेखि सम्पर्कविच्छेद भएको नेपाल एयरलाइन्सको जहाज सोमवार विहान दुर्घटनाग्रस्त अवस्थामा अर्घाखाचीको ढिकुरा—८ मसिना लेकमा भेटिएको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाचीका प्रहरी निरीक्षक गोविन्द पन्थीका अनुसार मसिना लेकमा रहेको नेपाल टेलिकम र एनसेलको टावर नजिकैको खोँचमा जहाज टुक्रा-टुक्रा भएको अवस्थामा भेटिएको हो।
दुर्घटनामा परेका नेपाली सेनाका मेजर दीपक श्रेष्ठको एनसेल मोवाइलमा बजेको घण्टीको आधारमा मोवाइल लोकेसन पत्तालगाएपछि दुर्घटनास्थल भेटाउन सकेको चन्दननाथ गण सन्धिखर्कका उपसेनानी नारायण अर्यालले बताए।
उनका अनुसार,घर बिदामा आएका भाइ मेजर दीपक श्रेष्ठ चढेको जहाज बेपत्ता भएको खबर थाहा पाएपछि दिदी सरस्वतीले आइतवार साँझ भाइको एनसेल नम्वरमा डायल गरेकी थिइन्। पटकपटक फोन गर्दा मोवाइलमा घण्टी गयो, तर उठेन। घण्टी जाने तर फोन नउठेपछि उनले अर्घाखाँचीस्थित प्रहरी कार्यालय र सेनाको व्यारेकमा सम्पर्क गरेर मोवाइलमा घण्टी गएको जानकारी दिएकी थिइन्। “मेजरसावको मोवाइलका आधारमा दुर्घटनास्थल थाहा लाग्यो''—उनले भने।
आइतवार दिउँसो सवा एक बजेदेखि हराइरहेको जहाज राति अवेरसम्म खोज्दा पनि भेटिएको थिएन। जहाज बेपत्ता भएको खवर पाउने बित्तिकै सदरमुकाम सन्धिखर्कमा रहेको चन्दननाथ गणको नेपाली सैनिक टोली, जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली र पाल्पाको मुझुङस्थित प्रहरी चौकीको टोली खिदिम क्षेत्र दुर्घटनास्थल भएको सुचनाका आधारमा खोजी कार्यमा जुटेको थियो। तर राति अबेरसम्म पनि दुर्घटनास्थल थाहा पाउन भएको थिएन।
संभावित दुर्घटनास्थल भन्दै सदरमुकाम सन्धिखर्कदेखि पूर्व ४० किमि खिदिम क्षेत्रमा आइतवार दिउँसो गएको प्रहरी र सेनाको टोली राति अवेरसम्म उतै थियो। मेजरको मोवाइलको आधारमा ढिकुराको मसिना लेक दुर्घटनास्थल रहेको जानकारी पाएपछि सोमवार विहान खिदिम पुगेको टोली ढिकुरातिर हान्निएको थियो। दुर्घटनास्थल सन्धिखर्कबाट ३० किमि दक्षिण पश्चिम अग्लो डाँडाको खोचमा रहेको प्रहरीको भनाइ छ।
मसिना लेकको एनसेल टावरदेखि १ सय मिटरको दुरीमा मेजर श्रेष्ठले बोकेको मोवाइलको लोकेसन थाहा लागेपछि सोमवार विहानै नेपाली सेनाको एमआई—१७ हेलिकप्टरले हवाइ रेकी गरेको थियो। यही क्रममा दुर्घटनामा टुक्रा टुक्रा भएको जहाज र शवहरु छरिएको भेटिएको उपसेनानी अर्यालले बताए।
चन्दननाथ गणका उपसेनानी अर्यालका अनुसार दुर्घटनास्थलमा सेनाको एमआई—१७ हेलिकप्टर बस्न नसकेपछि सिम्रिक एयरको सानो हेलिकप्टर पुगेको थियो। घटनास्थलमा छरिएका शव संकलन गरी सिमि्रक एयरको हेलिकप्टरले सदरमुकामस्थित चन्दननाथ गणमा ल्याएको थियो। यहा ल्याएपछि शव सेनाको हेलिकप्टरमा राखेर पोस्टमार्टम गरी आफन्तलाई बुझाउन काठमाडौं लगिएको थियो। विहान ९ बजे शुरु भएको उद्धार कार्य दुई घण्टामा सकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द पन्थीले बताए।
घटनास्थल नजिकै नेपाल टेलिकम र एनसेलको टावर छन्। ती टावरको सुरक्षार्थ कर्मचारी खटिएका छन्। ती कर्मचारीले दुर्घटनाबारे तत्काल थाहा पाउन सकेनन्। आइतवार दिउ“सोदेखि सा“झसम्म असिना पानी परेको र बाक्लो कुहिरो लागेकाले दुर्घटनाबारे पत्तो पाउन नसकेको टावर सुरक्षागार्ड केशव खनालको भनाई छ।
घटनास्थलमा छरिएका शव संकलनमा खटिएका चन्दननाथ गणका सेनाले पहिचान गरेका थिए। यस अघि यो गण जुम्ला बसेर आएकोले उद्धारमा खटिएका सेनाले शवको पहिचान गर्न सकेको गणपति कर्णेल रामकाजी रानामगरले बताए।
दुर्घटनामा परेका १८ मध्ये तीन बाहेक सबै शव सजिलै चिन्न सकेको उनको भनाई छ।
तस्विर क्याप्सन : नेपाली सेनाले सदरमुकामस्थित चन्दननाथ गणमा शवहरु काठमाडौं लैजान जम्मा गर्दै। तस्विरः अर्जुन भुसाल