आइतवार दिउँसो १ बजेदेखि बेपत्ता नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज अर्घाखाँचीको ढिकुरा गाविसको मसिनेको जंगलमा फेला परेको छ।
स्थानीय युवा कमल सारु स्थानीय अन्य युवाहरुसँग बिहान हिउँ खेल्न जाने क्रममा जहाजको सानो अवशेष फेला परेपछि खोजी गर्दै जांदा अन्य अवशेष पनि फेला परेको जनाएका छन्।
अहिले जहाज दुर्घटना भएको स्थानमा नेपाली सेनाको हेलिकप्टर उद्धारको लागि अवतरण गर्ने प्रयास गरेपनि अत्यन्त भीर र खराब मौसमका कारण अवतरण गर्न नसकेको उनले बताए।
घटनास्थलमा रहेका सारुले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा घटनाको बारेमा जानकारी दिएको र उद्धार टोली घटनास्थलतर्फ आउदै गरेको जानकारी दिए।
दुर्घटनास्थलमा नेपाल टेलिकम र एनसेलका ठूला टावरहरु समेत रहेका छन्।
नेपाल टेलिकमको टावरको रेखदेखको लागि बसेका चौकिदार केशव खनालका अनुसार हिजो दिउँसो करिब ३ बजेतिर रातो ज्वाला सहित आएर जहाज दुर्घटना भएको बताए।
दुर्घटनास्थल वरपर टेलिफोनको टावरले काम नगरेका कारण खबर गर्न समेत समस्या भएको उनले बताए।
दुर्घटनास्थल अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कदेखि नजिकै दक्षिणमा पर्दछ।
सो क्षेत्र वरपर खाँचीकोट लेक र मसिनेको लेक भएका कारण अधिकांश समयमा कुहिरो लाग्ने स्थानियहरु बताउँछन्।
हिँजो दिउँसो १२ बजेर ४० मिनेटमा पोखराबाट जुम्लाको लागि उडेको नेपाल एयर लायन्सको ९ एनएविडीको जहाज दिउँसो १ बजेर १३ मिनेटपछि सम्पर्क विच्छेद भएको थियो।
हिँजो दिउँसोदेखि अर्घाखाँचीको खिदिम आसपासको क्षेत्रमा दुर्घटना भएको आशंकामा दिनभर सो क्षेत्र वरपर विमानको खोजी गरिएको थियो।
१५ यात्रु र ३ जना चालक दलका सदस्य सहित १८ जना यात्रु लिएर दिउँसो १२ बजेर ४० मिनेटमा पोखराबाट जुम्लाको लागि उठेको जहाजले भैरहवा विमानस्थलमा दिउँसो १ बजेर १३ मिनेटमा अन्तिम सम्पर्क गरेको नागरिक उड्ययन कार्यालयले जनाएको छ।
जहाजमा १४ यात्रु, एक बच्चा र ३ चालक दलका सदस्य रहेका थिए।
जहाजको चालक दलमा क्याप्टेन शंकर श्रेष्ठ, कोपाइलट रवीन्द्र वञ्जारा र एअर होस्टस मुना महर्जन थिए।
विमानमा कांग्रेस जुम्लाका सभापति मानव सेजुवाल, पत्रकार गौरी कठायत, टेकबहादुर महतरा, नन्दा महतरा, डी महतरा, वर्षा हमाल न्यौपाने, उमा तामाङ, डा. विकल्प पोखरेल, डीपी उपाध्याय, राजेन्द्र प्रसाद देवकोटा, दीपक श्रेष्ठ, डि शाही, आर चौलागाई तथा डेनमार्कका नागरिक एम म्याथिसेन रहेको बताईएको छ।