ठमेल चोकबाट सातघुम्ती मोडिनासाथ भर्खर निभेको आगोको पिरो राग नाकमै ठोक्किन आइपुग्यो । हामी जति अघि बढ्दै गयौं, राग उति गाढा र उति पिरो हुँदै गयौं । हावाभरि धुलो मिसिएको रहेछ । आँखा पोल्न थाल्यो।
शुक्रबार । बिहान साढे ११ बजे।
काठमाडौंको प्रमुख पर्यटन केन्द्र ठमेलमा गएराति लागेको आगोको रापले यतिबेलासम्म ठमेल र ठमेलबासीलाई भत्भती पोलिरहेको छ।
मान्छे बाक्लै गरी जम्मा भएका छन् । स्थानीय र पर्यटकको भीड छिचोलेर अघि बढ्न मुस्किल प¥यो । प्रहरीहरू प्रशस्तै छन् । ठमेल चोकबाट कुनै गाडीलाई सातघुम्तीतिर मोड्न दिइएको छैन । सोह्रखुट्टेतिरबाट पनि सातघुम्ती छिर्न रोक लगाइएको छ । पसलहरू फाट्टफुट्ट खुलेका छन्, तर कसैको अनुहारमा उत्साह छैन । रातभरि ननिदाएजस्तो आँखा लोलाएका छन् सबैका । अनुहारमा एक किसिमको त्रास छ।सबैजना आत्तिँदै गएरातिको आगलागी सम्झँदै छन् । एकैचोटि धेरैजना बोल्दा वातावरणमा मान्छेको चर्कै कल्याङमल्याङ सुनिन्छ।
काठमाडौं गेस्ट हाउस र नर्थफिल्ड रेस्टुरेन्टको ठिक बीचमा पर्ने ‘पिल्ग्रिम्स’ किताब पसल र त्यही घरको माथिल्लो तलाको ‘फेसस’ लाउन्ज नामक रेस्टुरेन्टमा लागेको हो आगो।
आगो लागेको घरबाहिर डढेर खरानी भएका किताबको थुप्रोले छपक्कै सडक ढाकेको छ । अलिअलि सङ्लो देखिने किताब जम्मा गरेर छेउको पेटीमा थुपार्न व्यस्त छन् पसलका कर्मचारी र स्थानीय । काम नलाग्ने गरी जलेका किताब ओसार्न दुइटा ठेला लगातार कुदेका कुद्यै छन् । एउटा ट्रक पनि छ सँगै, जलेका ठुल्ठूला सामान थन्कोमन्को लाउन।
त्यही भीडमा सडकका सद्धे सामान टिप्दै गरेका भेटिए बद्री फुँयाल । उनी हुन्, पिलग्रिम्सका सुरक्षागार्ड । र, यो घटनाका एक प्रत्यक्षदर्शी।
बिहान ८ देखि बेलुकी १० बजेसम्म ड्युटी गर्छन् फुँयाल । राति सबै कर्मचारी फर्केपछि बत्ती निभाउने, सटरमा ताल्चा मार्ने र इन्भरटर बन्द गर्ने काम उनको जिम्मामा पर्दो रहेछ।
बिहीबार राति पनि सधैंझैं १० बजेतिर उनी सटर बन्द गरेर इन्भरटर निभाउन माथि उक्लेका थिए । घरको भुइँतला र पहिलो तलामा पिलग्रिम्सको किताब दोकान छ भने माथिल्लो तलामा फेसस लाउन्ज रेस्टुरेन्ट छ।
भर्याङ उक्लेर इन्भरटर निभाउन जाँदा फुँयालले घरको माथिल्लो तलाको पछाडिपट्टि राखिएको जेनरेटर पड्किएको सुने । ‘बम पड्केजस्तो आवाज आयो,’ आँखाभरि त्रास बोकेर अघिल्लो रातको घटना सम्झँदै फुँयालले भने, ‘सुरुमा त केही ठम्याउनै सकिनँ, के भयो, के भयो ।’
‘दायाँबायाँ हेरेँ । भर्याङको कुनापट्टि दुइटा जेनरेटर राखिएको हुन्थ्यो । एउटा पड्केर दन्दन्ती आगो बलिरहेको रहेछ,’ उनले भनेँ, ‘म आत्तिएर कराउँदै तल झरेँ।’
उनी तल भाग्दाभाग्दै माथि ह्वारह्वार्ती आगो सल्किँदै थियो । लगत्तै ग्यास सिलिन्डरहरू एकपछि अर्को पड्कन थाले । रेस्टुरेन्टले थुप्रै सिलिन्डर स्टक राखेको थियो । प्रत्यक्षदर्शीका अनुसार झन्डै एक दर्जन ग्यास सिलिन्डर पड्केको आवाज सुनियो।
जेनरेटर र सिलिन्डर पड्किएपछि आगो थाम्नै नसक्नेगरी सल्कन थाल्यो । रेस्टुरेन्टमा आएका ग्राहक र कर्मचारी भागाभाग गर्न थाले । हड्बडाहटमा कतिले भर्याङ ओर्लिने समयधरी पाएनन् । छेउको छतमै हाम्फाले । फुँयालका अनुसार काठको पुरानो घर भएकाले आगो तलमाथि, दायाँबायाँ सल्कन कत्ति बेर लागेन । उनी तल आइपुग्दासम्म पहिलो तलाको काठको छत भास्सिएर भुइँमा खसिसकेको थियो । त्यसपछि त झन् आगोले बाटो पाइहाल्यो । पिलग्रिम्सका किताबलाई छोएपछि यसले अझ उग्र रूप लियो । ह्वारह्वार्ती किताब जल्न थाले । त्यसले काठका फलेक झ्यामझ्याम खस्न थाले।
आगोको मुस्लो उठ्यो । सिंगो ठमेलै आतंकित बन्यो। 
प्रहरी तुरुन्तै आइपुगे । सडक खाली गर्न थाले । स्थानीयले दमकल डाकिसकेका थिए । साढे दस बज्दासम्म काठमाडौं उपत्यकाका चारवटै दमकल आएर पानी बर्साउन थाले । आगो यति भीषण थियो, चार दमकलको पानीले मात्र कुनै हालतमा थामिन्न भन्ने उनीहरूले पहिल्यै आंकलन गरे । फर्कीफर्की गएर पानी भर्दै आउने समय थिएन । खानेपानी ट्यांकरहरू झिकाइयो । एक दर्जनजति ट्यांकर आइपुगे । दमकलमा पानी निख्रिनेबित्तिकै ती ट्यांकरबाट खन्याइन्थ्यो र फेरि पानी बर्साउन थालिन्थ्यो।
यति गर्दा पनि आगो रोकिने नामनिसान थिएन । झन्झन् रापिलो हुँदै गइरहेको थियो।
यसबीच पिलग्रिम्स किताब पसल छेउको ‘पिलग्रम्स रेस्टुरेन्ट’ र दाहिनेतिरको ‘शिशा रेस्टुरेन्ट’मा पनि आगो सल्कियो । शिशाको ठिकमुनि बान थाई र पछाडिपट्टि ह्यारी बार छन् । यी सबै रेस्टुरेन्टका कर्मचारी र ग्राहक ज्यान जोगाउन भागाभाग गर्न थाले । कोही खाँदाखाँदैको गाँस छाडेर भागे । भाग्ने क्रममा छतबाट हाम्फाल्दा केही सामान्य घाइते भए । नर्थफिल्ड रेस्टुरेन्टका दुईजना भने आगो निभाउन सकिन्छ कि भनेर कम्मर सके । उनीहरू फेसेस लाउन्जको माथि चढ्न खोजे । आगो यति भयानक थियो, सकेनन् । उल्टै आगोको रापले घाइते भए।
एकजनाले भन्यो, ‘शिशा रेस्टुरेन्टको स्टोरमा दसवटा भरिएको सिलिन्डर छ ।’ यो खबरले झन् ठूलो त्रास मच्चियो । ती भरिएका सिलिन्डरसम्म आगो सल्किए निभ्ने गुञ्जायसै थिएन । ठमेलका सबै घर दाँतको लहरजस्तो टाँस्सिएर बनेका छन् । एकपछि अर्को घर जलेर पूरै ठमेल खरानी हुन सक्थ्यो।
‘हामीले दौडादौड गरेर स्टोरमा भएका जम्मै सिलिन्डर बाहिर निकाल्यौं,’ शिशा बार मुनिको एड्भेन्चर ट्रेकिङका कर्मचारी दीपेन्द्र ढकालले सेतोपाटीसँग भने, ‘धन्न समयमै सिलिन्डरतिर ध्यान गयो र बाहिर निकाल्न भ्याइयो । सबै सिलिन्डर जलेका भए आज ठमेल रहन्थेन । सयौंको ज्यान जान्थ्यो।’
यतिञ्जेल वरपरका पसलमा सामान ओसार्न भ्याइनभ्याइ भयो । आगोले जलेर दोकान खरानी भए पनि सकेजति सामान सुरक्षित ठाउँमा ओसार्न कम्मर कसे स्थानीय र व्यवसायी। 
ढकाल आफैं पनि रातभरि घटनास्थलमै बसिरहे । आगो सल्किनासाथ अफिसका केही महत्वपूर्ण कागजपत्र निकाल्न भ्याए । पछि अरू पसलबाट सामान सार्न थालेपछि उनले कम्प्युटर लगायत अरू सामान झिकेर अन्यत्र लगे । पिलग्रिम्समा भने किताबै किताब भएकाले एउटा पनि बचाउन सकिएन । आगो निभाउन गाह्रो हुनुको मुख्य कारण पनि यही किताबै हो । यसका सञ्चालकहरू घटनाको खबर पाउनासाथ राति नै आइपुगेका थिए । रातभरि आफ्नो वर्षौंदेखिको मिहिनेत खरानी हुँदै गएको हेरेर बस्नुबाहेक अर्को विकल्प थिएन । यो ठमेलकै पुरानो किताब पसलमध्ये पर्छ। यसका सञ्चालक कहानी तिवारीसँग कुरा गर्न खोज्दा उनी बोल्ने अवस्थामा थिइनन्।
‘आगो यति फैलिएको थियो, हामीले त यो ठाउँ जोगिएला भन्ने कल्पनै गरेका थिएनौं,’ ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले भने, ‘के गर्ने, कसो गर्ने भनेर एकछिन आत्तियौं । पछि जसरी पनि छेउछाउका दोकानका सामान जोगाउनुपर्छ भन्ने लाग्यो । सबै एकजुट भएर सामान ओसार्न थाल्यौं।’
सबैले मिलेर सामान नसारेका भए क्षतिको परिमाण अहिलेभन्दा दोब्बर पुग्ने उनको भनाइ छ । क्षतिको यकिन विवरण भने आउन बाँकी छ ।
बिहीबार राति झन्डै १० बजेतिर लागेको आगो रातभरि दन्किरह्यो । करिब साढे १० बजेतिरै दमकल आएर निभाउन थाले पनि आगो नियन्त्रणमा लिन निकै गाह्रो भएको प्रत्यक्षदर्शी बताउँछन् । राति १२ बजेतिर त ठमेलै सल्किन्छ कि जस्तो गरी दन्किएको थियो । दमकल अलि छिट्टै आइदिएको भए शिशा रेस्टुरेन्टसम्म आगोले टिप्न नसक्ने ढकालको भनाइ छ । उनका अनुसार बिहान ८ बजेतिर आगो नियन्त्रणमा आए पनि पूरै निभिसकेको थिएन।
शुक्रबार बिहान साढे ११ बजे हामी पुग्दासम्म आगोको राप बाँकी थियो । घरको पछिल्लो भागबाट धुवाँको मुस्लो आइरहेकै थियो । पहिले निभिसकेको आगो हावाले फेरि सल्कन थालेको प्रत्यक्षदर्शीले बताए। 
हामी आगलागी भएको घरभित्र चढ्न खोज्यौं । प्रहरीले सुरक्षाको कारण देखाउँदै जान दिएनन् । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष थपलियाले पनि नजान सुझाव दिँदै भने, ‘आगो निभिसकेको छैन, बाहिरबाट नदेखिएको हो, भित्र अझै रापिलो छ । काठका दलिनहरू झर्न सक्छन्।’
घटनास्थलबाट निस्केर छेउकै रेस्टुरेन्टमा यो समाचार लेख्दै गर्दा ठिक साढे १२ बजे एउटा दमकल साइरन बजाउँदै सातघुम्तीतिर छिर्यो ।
तस्बिर क्याप्सनः बिहीबार राति ठमेलको आगलागीमा जलेको पिलग्रिम्स बुक स्टोरका किताब सडकमा छताछुल्ल (आवरण)।
माथिबाट क्रमशः तल
- पिलग्रिम्सको सुरक्षागार्ड बद्री फुँयाल।
- सडकमा छरिएका डढेका किताब।
- आगो लागेको घर। यही घरको भुइँतला र पहिलो तलामा पिलग्रिम्स र माथिल्लो तलामा फेसेस लाउन्ज रेस्टुरेन्ट छ।
- डढेका किताब संगाल्दै प्रहरी।
सबै तस्बिरः सुदीप श्रेष्ठ/सेतोपाटी