घट्ट भन्ने बित्तिकै घटटट... घुमिरहेको पाषाणचक्का प्रतिध्वनि हुन्छ । मेरो मानसपटलमा । घट्टको आविष्कार हाम्रा पुर्खाको यौटा महान् क्रान्ति थियो । मलाई यस्तो लाग्छ ।
आज धेरै वर्ष बितिसकेछन् । मैले फेरि घट्ट जाने मौका पाएको छु । संयोग मात्रै ।
घट्ट जाने क्रियाले एउटा चिरपरिचित ब्यंग्य आहानलाई सम्झाइदिन्छ । कुरा उतिबेलैको हो । कुनै साथी कक्षामा ढिलो आयो, अथवा गृहकार्य नगरीकनै आयो भने गुरुले झट्टै भनिहाल्थे– ‘कसो, घट्ट गएको थिइस् कि ?’
म बाका मकै र गहुँ पिस्न घट्ट गएको छु । मेरो आफ्नै पनि त हुन् मकैगहुँ ! किनभने बाको सम्पत्ति र कमाइमा छोराको पनि हक लाग्दछ ।
यहाँ मलाई लाजै लाग्छ मेरो भन्न । भनुँ पनि कसरी ? ठूलो कष्टसाथ उब्जाइएको अन्नदाना । जसमा बाको समग्र श्रम–पसिना, सीप र जिन्दगी खर्च भएको छ । कहाँको घाम–पानी, असिना–तुषारो निलेर साँचिराखेको अन्नदाना । जुन फलाउनमा बाका दश नङ्ग्राले धर्ती खोस्रेका छन् । यसको प्रमाण छ बासँग– चर्चरी फुटेका मैला र गठिला हातहरू ! यौटा कर्मठ धरातलमा हिलो खन्दै र असारे गाउँदै फलाइएको अन्नदाना । ओहो, मेरो त त्यसमा सित्तै हक लाग्ने रहेछ !
बाको दुःखको भारीमा पनि त मेरो हक लाग्दो हो ! तर, किन बा एक्लैले त्यत्रो बडेमाको भारी बोके हुनन् ? दुःखको भारी बोक्दा बोक्दै आज बाको तालु पूरै खुइलिसकेको छ । आफ्नो कर्मको एकलौटी फल सन्तानलाई बरोबरी बाँड्न पाउँदा प्रत्येक बाहरू खुसी हुन्छन् । तर, आफ्नो दुःखको पहाडलाई पनि सन्तानमा बरोबरी बाँडिदिन तिनै बाको मनले किन मान्दैन होला ?
घट्ट एकनाशले घुमिरहेछ– घटटट... । मानुँ, त्यसले एउटा कर्मउत्सव मनाइरहेको छ । गतिशील घट्टमाथि स्थिर छ मेरो दृष्टि । तर मथिङ्गल घट्टसँगै घुमिरहेको छ ।
म सोच्न थाल्छु । बाको एकचौथाइ जिन्दगी घट्ट जाँदैमा र फर्कदैमा पनि बित्यो होला । घट्टको मिहिन धुलोले बाको कपाल कतिपल्ट ढाँकेर सेताम्मे पार्यो होला ? कतिपल्ट बाका नाकका पोरामा त्यही धुलो स्वाससँगै पस्यो होला ? र, नाकभित्रका रौँ देखिए होलान्– पुषको महिनामा घाम नपर्ने गराकान्लाभरि पाकेर झरेका मेहेलका दाना कुहेपछि उम्रिएको ढुसी जस्ता । खेतबारी, घरगोठ र घट्ट धाउँदा धाउँदै आज बाका कपाल वास्तवमै तीलचामल भइसकेका छन् ।
बाका कैयौँ बोरा मकै र गहुँ यही घट्टमा पिसिए होलान् । अनि कोदो र जौँहरू पनि यही घट्टले पिस्यो होला । गहुँसँगै घुन पनि पिसिन्छ भन्छन् । अनि कोदोसँगै घुर पनि त पिसिँदो हो । तर बाको दुःखको यौटै दाना पनि यस घट्टले किन पिस्न नसककेको/नमानेको होला ? बरु बाको जिन्दगीको समस्त उत्सवमय धुन यही घट्टमा पिसिएर तलतल गाडसँगै बगेर टाढा गएको आभास हुन्छ ।
घण्टौँ हिँडेर, घण्टौँ पिँधेर फर्कदैमा बाको जिन्दगी ढिलाए जस्तो लाग्छ । सल्लाको झरो बलेको साँझको झोपडीमा । दिनभरिको थकान एवं भोकको परिणाम– बाको आँतले कनिकाको रोटी रोजिसकेको हुन्थ्यो । आफू मात्रै खाएर नपुग्ने । उनको पछि जहान थियो । र, थिए आशलाग्दा÷मायालाग्दा दुब्ला–पातला गेदागेदी पनि । आधा मकैको रोटी, आधा कनिकाको रोटी मिलाएर पेट भरिन्थ्यो । क्या मजाको स्वादका साथ । रोटी घिच्नका खातिर कि त हुन्थ्यो गुन्दु्रकको अमिलो झोल, कि पिँडालुको तरकारी अथवा बेथेको साग । बस्, यावत तरहले यौटा झोपडी जिउँदो रहेको आभास हुन्थ्यो ।
हाँडीमा डँढेको जिन्दगीको रोटी घिच्नका लागि । दिनभरि खेत खनेर सुकेको आँत रसाउनका लागि । दर्कारै पथ्र्यो– सेतो पानीको । अर्थात् सेतो र शीतल महीको । महीका लागि भैँसी पाल्नुपर्ने । भैँसीका लागि घाँस काट्नुपर्ने । घाँसका लागि साहुको बन्धकी राखी किनेको भिरालो ठाडो मेलामा धाउनुपर्ने । अनि खोला–खोल्सेडाबाट सोत्तरका भारी बोक्नैपर्ने । बोक्दा बोक्दै जिन्दगी कति बोझिल लाग्थ्यो !
सिकारी रोगको आक्रमणले आमा ओछ्यानमै रन्थनिरहेका बेला । असारको मुसलधारे पानी बर्सिरहेका बेला । कुहिरोले डम्म ढाँकेर धर्ती झन् भयावह भइरहेका बेला । बाहरू खेतमा रोपाइँ गरिरहेका बेला । आँगनमा भोकले भैँसी दाम्लो चुँडाल्नै लागेका बेला । म र बैनी थुरथुर काम्दै तलको ओरालो मेलामा घाँस काट्न गएको त्यो क्षण । जुन जिन्दगीको सबभन्दा निष्ठूर आँसु र विपद्ले भिजेको लाग्थ्यो । मुसलधारे वर्षाका अतिरिक्त आँसु र विपद्ले भिजेर हामी दुई कलिला भाइबैनी थरररर काँम्दै डोकाभरि घाँस काटेर ल्याएको बिर्सिन्न जिन्दगीमा ।
त, असारको त्यो कञ्चन हरियो घाँस जस्तो बाको जिन्दगी कहिले भएथ्यो ? मलाई थाहा छैन । भन्नै पर्दा, कलिलो घाँस जस्तो जिन्दगी त मेरो र बैनीको थियो । मुलायम हरियो घाँस पाउने बित्तिकै भैँसीले एकै सासमा निलेझैँ कति दिन हाम्रो घाँसजस्तो जिन्दगी ती डरलाग्दा भीर र खोलाले निल्नै आँटेका थिए । धन्न दैव, अझैँ त कति रङ्गीन संसार हेर्ने पालो रहेछ मेरो पनि !
आज म त्यही भिरालो बाटो छिचोलेर घट्ट जाँदा एकपटक फेरि कलेजोमा चस्स घोचेको छ । चाहेर पनि बिर्सन नसकिने याद बौराएर । बौरिँदै उठ्ने र बिलाउने यस्ता यादहरू कति छन् कति जिन्दगीमा ! लाग्छ– जिन्दगी यादहरूको पुन्तुरो हो ।
...
हाम्रा पुर्खाले कहिले आएर यस अन्कन्टार खोलामा घट्ट जोते होलान् ? कसरी पाखान फोडेर कुलो काटे होलान् ? कसरी विशाल ढुङ्गा कोरेर दुइटा गोला चक्का बनाए होलान् ? र, कसरी त्यसमा पानीको वेग प्रवाह गरी चलायमान बनाए होलान् ? सोच्दा सोच्दै मलाई अचम्म लाग्छ– यी र यस्ता यावत चीजहरू मान्छेले कसरी आविष्कार गर्न सम्भव भयो ? मान्छेको सृजनशील मस्तिष्कमा हरेक नयाँ विचार र प्रविधिले कसरी अमूर्त रूप धारण गर्छ र क्रमशः मूर्ततातिर धकेलिन्छ ?
पानी निर्जीव हो । तैपनि त्यसमा आफ्नै वेग छ । घट्ट निर्जीव हो । तैपनि त्यसमा आफ्नै चाल छ । यी दुवै निकटम रूपले सजीवतासँग जोडिएका छन् । एउटा जिन्दगी बाँच्नका लागि यी दुवैको सामिप्यता चाहिन्छ । सजीव होस् कि निर्जीव, यो ब्रह्माण्डमा हरेक पदार्थ चलायमान् छ । ‘स्थिर’ शब्द बाहेक अरू केही पनि स्थिर छैन । मलाई फेरि यस्तो लाग्छ ।
मान्छेले बाँच्नका लागि पेट भर्नै पर्छ । पेट भर्नका लागि केही न केहीको जरुरत पर्छ । केही न केहीको आवश्यकताबोधस्वरूप मान्छेले घट्टको पनि आविष्कार गरेथ्यो । आफ्नै हातको छिनोले चट्टानमा ओखल खोपेथ्यो । यी र यस्ता यावत् आविष्कारहरू ढुङ्गे युगको मानवसभ्यताको दौरानमा हुँदै आएका हुन् । आदिम मानव लामो कालसम्म ढुङ्गे संस्कृतिमै अल्झिरह्यो । घट्ट पनि ढुङ्गेकालीन मानवको उपज मान्नुपर्छ । ढुङ्गे युगको अन्तिम चरण अर्थात् नवपाषारण कालमा जंगल र गुफाबाट फुत्किएपछि मानवले कृषिकार्यको आरम्भ थाल्यो । कृषिकार्यको प्रारम्भसँगै मान्छेले अन्न पिस्नका लागि जाँतो र ओखलजस्ता साधनको आविष्कार गरेको थियो । अनि पछि घट्टको विकास हुँदै आयो । यसर्थ घट्टको पिताजी जाँतो थियो भन्नमा म हिच्किचाउँदिनँ ।
विज्ञानको गतिमान् प्रवाहसँगै आज घट्टको विस्थापनदर बढिरहेको छ । तर घट्टीय ज्ञान वा सिद्धान्तमै आधारित विकासको यौटा पाटोलाई विज्ञानले बिर्सनु कृतघ्नता हो । घट्टलाई विस्थापन गरे पनि त्यही घट्टीय ज्ञानको आधारमा ठूल्ठूला टर्बाइनहरू घुमाइएका छन् । अनि जेनेरेटरहरूमा गतिशीलता प्रवाह गरेर त्यसबाट अथाह विद्युतशक्ति उत्पादन गरिएको छ । त्यही विद्युतशक्तिले आज घट्टको वैकल्पिक साधनलाई थेगेको छ । घट्टभन्दा सयौँ गुणा विकसित एवं उच्च क्षमतावान् मिलहरूले आज घट्टको वैकल्पिक काम गरिरहेका छन् । म फेरि हिच्किचाउँदिनँ– आधुनिक मिलको प्रारम्भिक पुर्खा नै घट्ट थियो भन्नमा । किनभने विकास भन्नु नै सूक्ष्मबाट विशालतिर एवं सरलबाट जटिलतिरको गतिशील यात्रा हो । आजको मानव अति विकसित एवं उच्च क्षमतावान् भयो भन्दैमा उसले आफ्नो प्रारम्भिक पुर्खा रामापिथेकसलाई बिर्सन मिल्छ ?
मेरा बा आज आदिम मानव रहेनन् । तर आदिम मानवका असंख्य शाखामध्ये यौटा शाखा–सन्ततिका रूपमा मेरा बा यहाँ जीवित छन् । पृथ्वी आफ्नो शिशु अवस्थाबाट करोडौँ वर्ष बुढ्यौलीतिर ढल्किसकेको छ । आदिम मानव ढुङ्गे संस्कृतिदेखि आधुनिक विज्ञानसम्मको यात्रा गर्न सफल भइसकेको छ । तैपनि पृथ्वी विज्ञानमय बन्दो छ ।
छैन । पूरै पृथ्वी अझै त विज्ञानमय भइसकेको छैन । यसका कैयौँ कुना–कन्दरा एवं दूरदराजहरू विकासको मैदानतिर भर्खर लम्कन थालेका छन् । हो, ती कुना–कन्दरा एवं दूरदराजहरू भाग्यमानी छन् । किनभने त्यहाँ अझै असंख्य घट्टहरू मस्तसँग घुमिरहेछन् । जहाँ विज्ञानको फल लाग्नु त कहाँ, बोटै रोपिएको छैन; त्यहाँ घट्टको एकलौटी अस्तित्वमाथि धावा बोल्ने कोही छ ?
तर, एकदिन ती भाग्यमानीहरूले पनि दुर्भाग्य भोग्नु पर्नेछ । किनभने दुर्भाग्य जगत्को नियम हो । फेरि पनि किनभने सारा दूरदराजहरूमा पनि विज्ञानको बीज छरिनेछ । अनि एकदिन उचित÷अनुचित फल फल्नेछन् । जब जताततै विज्ञानका फलहरू झुल्न थाल्नेछन्, घट्ट पनि एकादेशको कथा बन्नेछ । घट्टको विलयनसँगै हाम्रा बाहरूको परस्पर श्रृङ्खलित तर अर्थहीन कर्मठताको जिन्दगी पनि विस्थापन हुनेछ । तिनको ठाउँमा नयाँ टाउकाहरू सल्बलाउनेछन् । जताततै तेजिलो मस्तिष्क भएका वैज्ञानिकका बाठा टाउका ।
विज्ञानका चमचम चम्किला फलहरूले के मात्रै बाँकी राख्ला ? हाम्रा बाका बाका बाका बाहरू अर्थात् असंख्य बाहरूद्वारा पुस्तैनी हस्तान्तरण भैआएका सीपहरू विनष्ट होलान् ? ती सीपहरू, ती मिहिन एवं कर्मठ हातहरूका कृतिहरू– ओखल, जाँतो, सिलौटो, खलौटो आदि–इत्यादि सब विस्थापन हुनेछन् । कठोर कर्मशील जिन्दगीहरू विस्थापन हुनेछन् । र, सुख–सुविधाको नाउँमा केवल आलस्यको साम्राज्य खडा हुनेछ । अन्धाधुन्ध रूपमा दुहिएर प्रकृति स्वयं मरणासन्न अवस्थामा पुग्दा हामी धन्न भन्न लायक हुनेछौँ ।
भन्नै पर्छ । मान्छे यौटा महान् यात्री हो । यो कुरा मैले त्यसै भनेको होइन । मान्छेको प्रागऐतिहासिक कालदेखि अत्याधुनिक विज्ञानसम्मको यात्रा देखेरै भनेको हँु । यौटा त्यस्तो लामो, संघर्षपूर्ण, अविरल यात्रा । जुन देख्नका लागि एउटा जिन्दगी पर्याप्त छैन । तर इतिहासले यो सब देखाउन सम्भव भएको छ । र त इतिहास बाँचिरहेको छ ।
...
म यतै त छु । मेरो मथिङ्गलले एकैचोटि फन्को मारिसक्यो । आदिम कालदेखि भावी चरम विज्ञान कालसम्मको । कल्पनाको उडन्ते यानमा बसेर ।
घट्टले एकनाश बाका मकै पिसिरहेकै छ । घट्ट आफ्नै तालमा फनफनी नाचिरहेको छ । त्योसँगै लोरी खेलिरहेछन्– शिशु खन्खट्टेहरू । घट्ट घन्काइरहेछ– कठोर परिश्रमको सङ्गीत । पाखापर्वत थर्काउँदै चट्टानै चट्टानमा ठोक्किएर निरन्तर तलतिर उर्लिरहेछ– निर्जन खोलो । जसले जिन्दगीको कठोरतालाई थप प्रमाणित गरिरहेको छ ।
तै फेरि मेरा बाल्यकालीन÷घट्टकालीन यादहरू बौरी उठ्छन् । तुषारो ओइरिने पुषको एकाबिहानै । आमाले पानी–पँधेरो गर्दैमा र गोठ सोहोर्दैमा उज्यालो भइसक्थ्यो । बा पिथौरागढका चिसा सडकमा पुगिसकेका हुन्थे । कि त हातमा साँबेल लिएर ढुङ्गा पल्टाउँदै हत्केलामा ठेला उठाउनुपथ्र्यो । कि त खुइलिएको तालुमा नाम्लो बोकेर ढाडै भाँच्ने खालका बोझा उठाउनुपथ्र्यो । यति नगरी जिन्दगीको सुख कसरी चाख्ने ?
बा घरमा नहुनुको दुर्भाग्य । महिनादिन नबित्दै मैले घट्ट दगुर्नु पर्थ्यो । त्यसै त ठिङ्ग्य्राउने पुषको ठण्डी । एकाबिहानै घुँडासम्म डुब्ने चिसो पानीमा उभिएर कुलो फर्काउनुपथ्र्यो । जति धेरै पानी त्यति धेरै घट्टको वेग । ठाउँठाउँमा कुलो भत्केर, कापकापबाट छिरेर पानी चुहेको हुन्थ्यो । सय ठाउँ कुलो टालटुल पार्दैमा हात सुन्निएर सेता भइसक्थे । पानीले हातको संवेदना नै बगाइसकेको हुन्थ्यो । तब बल्ल बाह्र बजेतिर मध्य आकाशमा आइपुगेपछि सूर्यले दर्शन गथ्र्यो ।
जताततै पत्करहरूको वर्षा । उदाङ्ग शिशिरको फुर्सो भीरबाट ओकालो चढ्नुपर्ने । पिठ्यूँमा पिठोको बोझा चढेर मलाई लगाम कसिसक्थ्यो । नाकै ठोक्किने ओकालोमा बोझा बोकी हिड्नुपर्ने ! मेरो कलिलो मेरुदण्ड झण्डै कुच्चिन्थ्यो । गू नै खुस्केला जस्तो हुने । तैपनि आनन्द लाग्थ्यो । यति नगरी जिन्दगीको सुख कसले चखाइदिने ?
जेठको कुनै गरम दिन । बा जिल्ला घेर्ने माओवादीको अभियानमा गएका थिए । गाउँ–गाउँका प्रत्येक घरबाट एकेक जना आउनैपर्ने उर्दी थियो । उर्दी नमान्ने हिम्मत गर्ने कसले ? अनि त जे पनि हुन सक्थ्यो । नसानसाको रगत् उमाल्दै मान्छेहरू नाराजुलुस घन्काउँदै निस्किए । गाउँ–गाउँबाट । अनि घर–घरबाट । त्यही उम्लिएको मानवभीडमा बा पनि मिसिएर गए । लाललाल झण्डाले सुसज्जित त्यो जोशिलो भीडबाट जोशिला नाराका पर्रा छुट्थे । उफ् वातावरण झन् कति गरम ! खोलानालामा नअटाएर निस्केको क्रान्तिको तुमुल ध्वनि पाखापर्वत हल्लाउँदै आकाशमा थर्थराउथ्यो ।
फेरि बा घरबाट निस्कनुको दुर्भाग्य । मलाई घट्ट जान करै लागेको थियो । म घट्टमा घाम छल्दै मग्न थिएँ । घट्टले ज्यादै मिहिन धुलो बाहिर फालिरहेथ्यो । र, छिट्छिटो घुमिरहेथ्यो । गहुँ छिट्छिटो सक्किरहेका थिए । म सुरुसुरुमा दङ्ग परेँ । पछि अस्वाभविक रूपले शङ्का उठ्न थाल्यो । किन यति मसिनो धुलो ? किन यति चाँडै गहुँ सकिँदा पनि पिठो बढ्दै बढेन ? कतै घट्ट छिर्न थालेको त होइन ?
एक–दुई पटक घट्टको गोठतिर गएर छल्छल छल्किरहेको पानीमा हेरेँ । केही देखिएन । तर गहुँ रित्तिनै लाग्दा पनि पिठो बढेन । झन् डर र आशङ्का बढ्न थाल्यो । फेरि गोठमा पसेर नियालेर हेरिरहेँ । हत्तेरिका ! यहाँ त गहुँ बगेर मसानघाटतिर गइरहेका रहेछन् । हत्तपत्त दगुरेर गई कुलो भाँचिदिएँ । एकैछिनमा लखतरान थाकेको बूढो किसानझैँ घट्ट लत्र्याक्क पर्यो र स्थिर रह्यो । म चारभाग गहुँको एकभाग मिहिन धुलो बटुल्नतिर लागेँ । अनि दुई माना जति जिन्दा बचेका गहुँलाई सर्ट खोलेर पोको पारेँ र सुनशान घट्टबाट बाहिरिएँ ।
नभन्दै बा र अन्य अभियन्ताहरू यही खोलाको बाटो भएर फर्किरहेका रहेछन् । अचानक बा घट्टमा आइपुग्दा पो म झसङ्ग भएँ । अब के भन्ने, कसो गर्ने ? बाको कठोर परिश्रमको फल गहुँ त मैले बगाइदिएँ । बाले चाल पाएपछि मलाई हकारेका थिए– बेलैमा विचार पु¥याउनु पर्दैनथ्यो ? अनि बासँगै म ओकालो चढेथेँ ।
आज फेरि संयोग जुरेको छ । दिनभरि बाका मकैगहुँ पिसिदिएर म साँझमा बासँगै ओकालो चढ्दै छु । फेरि कतै घट्ट छिर्ने त होइन ? म होसियार थिएँ । यसपाली बा र मैले हल्काहल्का बोझा बोकेका छौँ ।
अचानक मेरो दृष्टि एक थोकमा गएर ठोक्कियो । बगरका ठूल्ठूला ढुङ्गा र चट्टानहरूमा रक्तमय रातो रङ्गले ठूल्ठूला अक्षरमा लेखिएका छन्– ‘वीर सहिद लालसलाम ! महान् जनयुद्ध जिन्दावाद !!’ साँझको धुमिल प्रकाशमा ती अक्षरहरू झन् धुमिल देखिए । हिजै हो जस्तो लाग्छ । क्रान्तिको ज्वाला दन्किएको । उत्ताल आँधीबेहरीले धर्ती हल्लाएको । यिनै खोला–खोल्सेडाहरूमा कति निर्दोष जन एवं सहिदहरूको रगत् बगेको छ !
मलाई खपिनसक्नु दुःख लाग्छ । आगोको फिलिङ्गो जस्तो जनताको गौरवमय क्रान्ति । आज सत्तास्वार्थ र राजनैतिक खिचातानीको घट्टमा पिसिएर त्यो रक्ताम्मे भई छट्पटाइरहेछ ।
देशमा फेरि रगत बग्ला जस्तो छ । मेरा पुर्खाको नासो घट्टमा विज्ञानको छिटा र रगत्को छिर्का दुवै नपरोस् !
– २०६९ असोज १४
न्वादेउ– ६, बैतडी
rtpoet069@gmail.com