म दोहास्थित कतार एकेडेमीमा पढाउँथे– ९ देखि १२ कक्षासम्म ।
गुरुङको छोरो, लाम्चो अनुहार, कपाल पनि पालेको थिएँ ।
स्कुलमा कहिलेकाहिँ जम्काभेट हुँदा सात कक्षाका केही विद्यार्थीले मलाई चिनियाँ भन्दै जिस्क्याउँथे । मेरो सामुन्ने चिनियाँ भाषा बोलेजस्तो गर्थे । च्याङचुङ चिङचिङ गर्थे । कहिले ज्याकी च्याङ भन्थे ।
नजिस्काओ न भन्थे । उनीहरू जिस्क्याउन छाड्दैन थिए । मैले बिस्तारै वास्ता गर्नै छाडिसकेको थिएँ ।
अघिल्लो महिनाको एक दिन, अप्रिल १६ मा सात कक्षामा पढ्ने तीन जना विद्यार्थीले त्यसरी नै स्कुलमा जम्काभेट हुँदा मलाई चिनियाँ भन्दै जिस्क्याए । मैले उनीहरुलाई भनेँ, ‘म चिनियाँ होइन, नजिस्काओ न ।’
उनीहरूले जिस्क्याउन छाडेनन् ।
मैले भनेँ, ‘तिमीहरूलाई मैले टेरोरिस्ट भनेर जिस्क्याएँ भने नराम्रो लाग्छ कि लाग्दैन ?’
विद्यार्थीहरूले मेरो भनाइको गलत अर्थ लगाइदिए । मैले भनेको कुराको कारण इन्सल्ट फिल गरेछन् ।
उनीहरूले यो कुरा घरमा गएर सुनाएछन् क्यार ! ती तीनजनामध्ये एकजनाको बुबाले मबिरुद्ध स्कुलमा उजुरी हालेछ, ‘दोर्जेले मेरो छोरा र उसका साथीहरूलाई टेरोरिस्ट भन्यो ।’
स्कुलले मलाई बोलायो । अप्रिल २१ मा मैले स्कुल छाड्नुपर्ने निर्णय गरिदियो ।
जुनमा मेरो कन्ट्र्याक्ट सकिँदै थियो । म नेपाल फर्कंदै नै थिएँ । नेपालका गाउँमा च्यारिटीको काम गर्ने योजना थालिसकेकै थिएँ ।
एक महिनापहिले फर्कनु खासै अनौठो भएन । मे ३ मा नेपाल फर्कने टिकट लिएँ।
...
अचानक मे १ (बुधबार) मा मलाई पुलिसले समात्यो । मेरोबिरुद्ध ती विद्यार्थीका बुबाले उजुरी हालेछन् ।
मलाई पुलिसले दोहा जेल पुर्यायो । गल्ती केही थिएन, पुलिसको फन्दामा पो परेँ।
मे २ (बिहीबार) मा मसँग अनुसन्धानका लागि बयान (पब्लिक प्रोसेक्युसन) लिए । मैले आफ्नो कुनै गल्ती नभएको बताएँ । मे ३ र ४ तारिखमा जेलमै राखे। मे ५ मा फेरि बयानमा लगे ।
६, ७ र ८ मा पनि मलाई जेलमा नै राखे । ९ तारिखमा बल्ल अदालत लगे । अदालतमा एक स्तरको सुनुवाइ भएपछि मैले अर्को म्याद पाएँ– दुई सातापछिका लागि।
मलाई लागेको आरोप सही साबित भए कम्तीमा पाँच वर्ष जेल सजाय हुनेरहेछ । त्यो पनि मुद्दाको फैसला भएपछिदेखि ।
दोहाकै जेलमा जिन्दगी बित्लाजस्तो भयो ।
१२ तारिख आइतबार थियो । मैले साथीहरूलाई किताब, सामान, लुगाफाटो लिएर जेलमा भेट्न आउनू भनेको थिएँ । जेलले बन्दीहरूसँग आइतबारमात्र भेट्न दिन्थ्यो ।
अचानक दिउँसो जेलको क्याप्टेन आएर भन्यो, ‘गुड न्युज फर यु, यु आर आउट ।’ म छक्क परेँ । खुसी त लाग्ने नै भयो ।
जेलमै बस्ने एकजना नेपालीसँग सोधे, ‘के भएछ, बुझ्नू त !’
उनले बुझेर मसँग भने, ‘तपाईंले छुटकारा पाउनुभएछ । बधाई छ ।’
जेलबाट बाहिर निस्कँदा त साथीहरू मलाई भेटेर किताब, लुगाफाटो र अरू सामान लिएर भेट्न आइरहेका रहेछन् ।
बेलुका साथीहरूकै घरमा गएँ । सेलिब्रेसन गरेँ ।
सोमबार (हिजो) राति त काठमाडौं नै आइपुगेँ ।
मैले सुनेअनुसार मसँग भनाभन भएका विद्यार्थीका बुबाले मेरोबिरुद्ध मुद्दा फिर्ता लिए रे ।
...
मलाई प्रहरीले समात्नेबित्तिकै यहाँ काठमाडौंमा बुबाले परराष्ट्र मन्त्रालयमा उजुरी हाल्नुभएछ । परराष्ट्रले कतार दूतावासमा खबर गरेछ ।
सेन्ट जेभियर्समा सँगै पढेका मेरा साथीहरूले पनि फेसबुकमा पेज क्रिएट गरेर निर्दोष दोर्जेलाई छाड्नुपर्ने भन्दै अभियान चलाएछन् । अमेरिका, युरोप, हङकङका साथीहरूले पनि आफ्नै हिसाबले पहल गरेछन् ।
सायद मेरा विश्वभरिकै साथीहरूको पहलले काम गर्यो । एकप्रकारको दबाब सिर्जना भयो । म छाडिएँ ।
म ती सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु ।
जेल नपर्नु परिहालेँ । मेरो घटनाले सकारात्मक सन्देश पनि दिएको छ ।
औपचारिक संयन्त्र प्रयोग गरेर पनि गलत आरोपमा फसेका निर्दोषहरूलाई छुटाउन सकिँदोरहेछ भन्ने सन्देश मेरो घटनाले दिएजस्तो लाग्छ ।
...
२०११ अगस्टदेखि म कतार एकेडेमीमा काम गर्न थालेको हुँ ।
यसअघि मैले विश्वका थुप्रै देशमा पढाइसकेको छु । इटालीबाट सुरु भएको मेरो अध्यापनयात्रा हङकङ, नर्वे, अमेरिका, अजरवैजान, मलावी, भियतनाम हुँदै कतार आइपुगेको हो ।
१९८८ मा इन्टरनेसनल ब्याकालरिएट (आइबी) पढ्न इटाली गएदेखि म विदेशको विदेशमै छु । २५ वर्षदेखि ।
दोहामा स्कुलकै आवासमा बस्थेँ । यत्रो लामो समय विदेश बस्दा कतार नै पहिलो ठाउँ हो जहाँ मैले नेपाली भाषा बोल्ने मौका पाएँ । धेरै नेपालीसँग हाइहेलो हुन्थ्यो । लाखौं नेपाली कतारमा बस्दा रहेछन् ।
कतारको जेलमा पनि नेपालीसँग भेट भयो । म बसेकै जेलमा २० जना नेपाली थिए । तीमध्ये मजस्तै गलत आरोपमा पनि परेका होलान्! (कतारको जेलमा करिब ३ सय नेपाली भएको सूचना छ ।)
लामो समय विदेश बसेँ, अब नेपालमै केही गर्न चाहन्छु । मुस्ताङको तेम्बे गाउँमा हाम्रो घरनजिकै रहेको सरकारी स्कुलको दुख देखेको थिएँ । अब नेपालको शिक्षा क्षेत्रमा नै केही गर्ने इच्छा राखेको छु ।
(दोहास्थित कतार एकेडेमीमा पढाउँदै गर्दा विद्यार्थीको आरोपमा १२ दिन दोहा जेल काटेर नेपाल फर्केका दोर्जे गुरुङसँग मनोज दाहालले गरेको कुराकानी ।)
दोर्जे गुरुङको तस्बिर- प्रकाश लामा । विमानस्थलमा सोमबार दोर्जेलाई अँगाल्दै गरेकी उनकी आमाको तस्बिर अल्का श्रेष्ठले खिचेकी हुन् ।