इटहरी–५, सुनसरीका बीरबहादुर खत्री गत वैशाख १७ गते काबुल उडेका थिए साथी अकुरबहादुर तामाङसँगै। असार ८ गते उनी साथीसँगै काठमाडौं फर्किए। जाँदा हाँसीमजाक गर्दै गएका तामाङ पनि उनी चढेकै जहाजमा थिए। फर्किँदा तामाङ गुलाबी रङको बाकसमा कैद थिए, सुमसाम।
त्यही प्लेनमा काबुलदेखि काठमाडौंसम्मको २ घण्टा ४० मिनेटको यात्रामा चुपचाप बसे बीरबहादुर। उनको मन भने दुखिरह्यो।
सोही विमानमा नुवाकोटमा सुप तामाङ भिनाजु डम्बर तामाङको शवसहित फर्किए। काबुल बिस्फोटमा मारिएका १२ नेपाली मध्ये तीन जना नुवाकोटका थिए।
‘हाँसीखुसी सँगै गएका थियौं, फर्किँदा साथीलाई बाकसमा ल्याउनुपर्दा मुटु चिरिएको छ’, त्रिभुवन विमानस्थलमा खत्रीले सेतोपाटीसँग भने।
काबुलमा अकुर, बीरबहादुरसहित १ सय ४७ जना नेपाली साब्र कम्पनीमार्फत् क्यानेडियन राजदूतावासको सुरक्षामा खटिन्थे। त्यो क्षेत्रमा बेलायत र जापानको राजदूतावास पनि छ। राजदूतावासदेखि उनीहरू बस्ने क्याम्प तीन किलोमिटर टाढा थियो। गाडीमा १० मिनेटको बाटो।
घटना भएको दिन बीरबहादुर नाइट ड्यूटीमा थिए। उनीहरूलाई पालो दिन अकुर लगायतका नेपाली क्याम्पबाट राजदूतावास जाँदै थिए। उनीहरू जाने बसले २१ जनालाई ओर्सार्थ्यो। पहिलो बस क्याम्पको गेटबाट निस्किसकेपछि लगत्तै निस्केको अर्को बसमा आत्मघातीले बम पड्काइहाल्यो। बीरबहादुरका साथी अकुरले ड्युटी फेर्न आउनै पाएनन्।
सँगै गएका साथी तालिबानी समूहको आत्मघाती हमलामा परेपछि खत्री र तामाङले अफगानिस्तानमा बाँच्ने ग्यारेन्टी नभएको ठाने र एक महिनाको तलब छोडेर कम्पनीसँग जबर्जस्ती गरी घर फर्कि। उनीहरूले अब अफगानिस्तान मात्र होइन विदेश नै नजाने सोच बनाएका छन्। तामाङ र खत्रीसँग अफगानिस्थानमा काम गर्ने अरू २४ नेपाली पनि घर फर्किए।
अफगानिस्तान असुरक्षित छ भन्ने जान्दा जान्दै एक वर्ष पहिले अकुर र बीरबहादुर ‘रेड जोन’ मा गएका थिए।
‘बाध्यताले गएका थियौं, साढे तीन लाख रूपैयाँ तिरेर’, बीरबहादुरले भने, ‘अकुरले त यहाँ अब गाह्रो होलाजस्तो छ दशैंसम्म बसौं त्यसपछि के हुन्छ हेरौंला भन्थ्यो। तर अहिले नै यस्तो भइहाल्यो।’
आफ्ना साथीहरू तालिवानी हमलामा मारिनुमा दूतावास र कम्पनीको असावधानी कारक भएको ठान्छन् खत्री।
क्याम्पदेखि ड्यूटी गर्न सिभिल बसमा आउनुपर्छ त्यो पनि हतियारबिना। कम्पनीको लापरबाही घटना हुनु अगाडि मात्रै थिएन। अहिले पनि जारी छ। ‘हामी २४ जना जहाजमा फर्किन चाहन्थ्यौं। तर कम्पनीले हामीलाई जानकारी नै दिएको थिएन’ खत्रीले भने ‘पछि थाहा पाएर उड्न लागेको जहाजलाई आधा घण्टा रोक्न लगाएर हामी आयौं।’
काबुलमा काम गरिरहेका साथीहरूले पनि सुरक्षाको ग्यारेन्टी नभए काम नगर्ने भन्दै ‘गन डाउन’ गरेको उनले बताए। काबुलमा रहेका विदेशी निकायको सुरक्षामा बाहिरी घेरामा स्थानीय अफगानीहरू हुन्छन् भने भित्रको मुख्य सुरक्षाको जिम्मा नेपाली गार्डलाई दिइएको हुन्छ। त्यसभित्रको घेरामा सम्बन्धित देशका गार्ड बसेका हुन्छन्।
नाटो आवद्ध देशका निकायलाई सुरक्षा दिने कसैलाई पनि नछोड्ने तालिवानको अडान भएकाले उनीहरूले नेपालीलाई तारो बनाएको हुनसक्ने खत्रीको बुझाई छ। त्यही भएर अब अरुलाई अफगानिस्तान नजान उनको अनुरोध छ।
‘त्यहाँ रहेका कोही पनि नेपाली सुरक्षित छैनन्’, खत्रीले भने, ‘आफ्नो जीवन भए पो पैसाको अर्थ हुन्छ। परिवारको बिजोग बनाई पैसा कमाएर के गर्नू?’