वैशाख १५ गते भेनेजुयलाको काराकास, कोलम्वियाको बोगाटा,बा्रजिलको साउ पाउलबाट युएइ हुँदै भेनेजुयलाकी यमेरिस कारमेन नरभाइज नेपाल आएकी थिइन्। ठमेलका विभिन्न गेष्टहाउसमा बस्दै आएकी उनले जेठ १ गते नाइजेरियन नागरिक तर गिनीको राहदानीवाहक मोहम्मद लामिने डोबालाई आफूले ल्याएको कोकिन दिएकी थिइन्।
दुबई ब्राजिल, कोलम्बिया हुँदै भेजेजुयला जान केही दिन बाँकी रहदाँ उनलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गर्यो। कम्वोडियाबाट बुक भएको कोठामा उनी पक्राउ परेकी हुन्। उनले माछा मार्न प्रयोग हुने नाइनलको डोरीले बेरेर लट्टामा कोकिन भरेर ल्याई डोवालाई दिएकी थिइन्।
भेनेजुयलामा नै प्रहरीले डोरीका बारेमा जिज्ञाशा राख्दा उनले नेपालमा माछा मार्ने डोरी धेरै नै महँगो हुने भएकाले लैजान लागिएको बताएपछि मुक्त भएकी थिइन्।प्रहरीसँग उनले आफूलाई भेनेजुयलाकी क्याथरिनले राहदानी बनाइदिएको र नेपालमा पुगेपछि पठाएको सामान जोनलाई दिनु भनेकी थिइन्। यसबापत उनलाई १५ सय अमेरिकी डलर दिने क्याथरिनले बताएकी थिइन्।
यमेरिस पक्राउ परेपछि प्रहरीले तनहुँ धर्मपानी घर भइ हाल काठमाडौं रानीबारी बस्ने दिलबहादुर गुरुङलाई पक्राउ गर्यो। उनका साथमा रहेका भारतीय नागरिक ताउहिद खानलाई पनि प्रहरीले नियन्त्रणमा लियो। दिलबहादुरको साथबाट प्रहरीले ४ सय २६ दशमलव ५ ग्राम कोकिन पनि बरामद भएको थियो।
दिलबहादुर लागुऔषध चरेश हङकङ, थाइल्याण्ड र भारतमा ओसारपसार गर्ने मुख्य व्यक्ति भएको प्रहरीले दाबी गरेको छ। उनले हालसम्म २६ पटक भन्दा बढी आफैँ थाइल्याण्ड र हङकङ पुगेर चरेश ओसारपसार गरेको प्रहरी बताउँछ। एक केजी चरेश हङकङ पुर्याउँदा १ लाख ६८ हजार उनले पाउने गरेको अनुसन्धानबाट देखिएको छ।
आफूले पहिलोपटक कोकिनको ओसारपसार गर्न लागेको उनले प्रहरीसमक्ष बताएका छन्। गुरुङले हङकङ बस्ने खानले आफूलाई काम अह्राएको बताएका छन्। उनले कोकिन तस्करका लागि गुरुङलाई १३ लाख ६० हजार रुपैयाँ दिएका थिए। जुन प्रहरीले बरामद गरेको छ।
टाउहिद खान भने कलकत्ता, मुम्बई हुँदै काठमाडौं आएका हुन्। गुरुङबाट कोकिन लिएर हङकन जान उनी आएको डिआईजी जयबहादुर चन्दले बताए। कार्टुन, चामल, दाल र मसालाको डिब्बामा चरेश लुकाएर उनले छ वर्षदेखि यो काम गरिरहेका छन्। अहिलेसम्म १ सय २० पटकसम्म हङकङ चरेश लगेको उनले प्रहरीसमक्ष बताएका छन्। चरेशका क्याप्सुल निलेर २० पटकभन्दा बढी हङकङ लगेको उनले बताएको डिआईजी चन्दले बताए।
डोवा भने चीनको भिसा लिन मलेसिया गएका थिए। मलेसियाबाट नेपाल आएका उनलाई यमिरसबाट कोकिन लिई चिनियाँ नागरिकलाई दिनु भन्ने आदेश थियो। हङकङ र थाइल्याण्डबाट अफ्रिकी मुलुक हुँदै युरोपमा लागुऔषध तस्करी बढी हुने गरे तापनि अहिले चीन हुँदै युरोपमा कोकिन लैजान लागेको डिएसपी प्रेम शाहीले बताए।
पहिले केही समय थाती राखेको रुटलाई प्रहरी अलि चलायमान भएपछि फेरि त्यही बाटो रोजेको उनले बताए। प्रहरीले उनीहरुको साथबाट बरामद भएको कोकिनको अन्तर्राष्ट्रिय बजार मूल्य ५ करोड ३६ लाख ६० हजार हुन आउने ब्युरोले जनाएको छ।
कसरी पक्राउ परे ?
युएई हुँदै नेपालसम्म आएको कोकिन विमानस्थलबाट कसरी छुट्यो भन्ने प्रश्नचिन्ह खडा भएको छ। विमानस्थलमा रहेको सुरक्षाबारबाट उनीहरु कसरी फुत्किए भन्ने विषयमा प्रहरीले चुरो कुरा थाहा पाउन सकेको छैन। प्रहरीसँगको वयानमा कोकिन लिएर आउने यमेरिसले नेपालको विमानस्थलमा आफूलाई कुनै चेकजाँच नभएको बताएकी छिन्। ब्युराेले विदेशी नागरिकलाई विमानस्थलमा अल्लि कडा गर्न भन्सार कार्यालयलाई आग्रह गरिसकेको छ।
उनीहरु कसरी पत्ता लागे त भन्ने प्रश्नमा ब्युरोका एसएसपी गणेश केसीले विमानस्थलबाट आएका सबै विदेशी नागरिकको आफूहरुले निगरानी गर्ने गरेको र त्यसलाई फलोअप गर्ने क्रममा उनीहरु पक्राउ परेको बताए।
माछा मार्ने डोरीमा कोकिन लुकाएर ल्याएको हुनाले अप्रेसनको नाम नै फिस राखिएको एसपी धीरजप्रताप शाहले जानकारी दिए।