गोरखा, बारपाकमा जमिनको सतहभन्दा झन्डै ११ किलोमिटरमुनि ठूलो हलचल भयो। चट्टानको एउटा ठूलो खण्ड फुटेर घिटिक्क उत्तर सर्यो। त्यो चट्टान लामो समयदेखि अड्किएर बसेको थियो। एक्कासि फुट्दा ठूलो परिमाणको शक्ति बाहिर आयो, जुन जमिन भित्रभित्रै चट्टान चिरा पार्दै पूर्व सिन्धुपाल्चोकसम्म पुग्यो।
७.८ म्याग्निच्युडको भुइँचालो ल्याएको त्यो शक्तिलाई गोरखाबाट काठमाडौं आइपुग्न ४० सेकेन्ड लाग्यो भने सिन्धुपाल्चोक पुग्न लगभग ६० सेकेन्ड। भुइँचालोको शक्ति यति तीव्र थियो, एक मिनेटभन्दा कम समयमै काठमाडौं उपत्यकाको बनोटै फेरियो। काठमाडौं साबिकको ठाउँभन्दा १.३५ मिटर माथि उचालियो। दक्षिण–पश्चिमतिर अलिकति टेँढो भयो। काठमाडौंभन्दा उत्तरी हिमाली क्षेत्रको उचाइ भने लगभग ६० सेन्टिमेटर घट्यो।
यो २०७२ वैशाख १२ गते, ११ बजेर ५६ मिनेट जाँदाको घटना हो।
त्यस दिन भुइँचालोले गोरखा, बारपाकबाट पूर्वतिर चिरा पार्नुको साटो पश्चिमतिर पारेको भए के हुन्थ्यो ?
झन्डै २३ वर्षदेखि नेपालको भूगर्भ अनुसन्धान गर्दै आएका अमेरिकी वैज्ञानिक जाँ फिलिप एभोकका अनुसार, त्यसो भइदिएको भए अहिलेभन्दा ‘एकदमै फरक’ र ‘एकदमै भयानक’ स्थिति हुन सक्थ्यो।
‘यसले पश्चिम नेपालमा पाँच सय वर्षदेखि अड्किएर बसेको चट्टान एकैचोटि सरेर ८.५ म्याग्निच्युडसम्मको भुइँचालो जान सक्थ्यो। जमिनको सतह १० मिटरसम्म सर्न सक्थ्यो,’ उनले भने।
उनले यसो भन्नुको कारण के भने, पश्चिम हिमालय क्षेत्रमा सन् १५०५ यता ८ म्याग्निच्युड हाराहारीको भुइँचालो गएको छैन। भूगर्भविद्हरूका अनुसार इन्डियन प्लेट वार्षिक २ सेन्टिमिटरका दरले युरेसियन प्लेटमुनि धस्सिनुपर्छ। सय वर्षमा यो २ मिटर हुन्छ, हजार वर्षमा २० मिटर। यो क्षेत्रमा पाँच सय वर्षदेखि अड्किएर बसेको छ। यस आधारमा यहाँको भू–सतहमुनि ठूलो शक्ति जम्मा भएर बसेको छ, जुन कुनै पनि बेला ठूलो भुइँचालोका रूपमा बाहिर आउनसक्छ। त्यो शक्ति एकैचोटि बाहिर आए ८ म्याग्निच्युडभन्दा ठूलो भुइँचालो जानसक्छ भनी भूगर्भविद्हरूले भन्दै आएका छन्।
‘वैशाख १२ को भुइँचालोको चिरा गोरखाबाट पश्चिम नसरेर पूर्वतिर सर्नु नेपालको निम्ति एकदमै संयोगको कुरा हो,’ जाँ फिलिपले भने।
जाँ फिलिप त्यस्ता ४० जना बढी विदेशी भूगर्भ वैज्ञानिकमध्ये एक हुन्, जो गोरखा भुइँचालोका वैज्ञानिक पक्षमा छलफल गर्न राजधानी आइपुगेका छन्। भुइँचालोको वार्षिकीका अवसरमा खानी तथा भूगर्भ विभागद्वारा आयोजित दुईदिने अन्तर्राष्ट्रिय कार्यशालाको पहिलो दिन आइतबार उनको कार्यपत्र प्रस्तुति थियो। कार्यशालामा यस्ता ५८ कार्यपत्रमाथि छलफल हुँदैछ।
गोरखा भुइँचालो किन पश्चिम सरेन?
गोरखा भुइँचालोको चिरा पूर्वतिर सर्नु संयोग मात्र हो त? कि, यसमा भौगर्भिक कारण पनि छ?
जाँ फिलिप ‘हिमालय क्षेत्रको भू–सतहमुनिको चट्टान एक ढिक्का नभई खण्ड–खण्डमा विभाजित हुनसक्ने’ बताउँछन्। यसको अर्थ, गोरखादेखि सिन्धुपाल्चोकसम्मको चट्टान एउटा खण्ड हुनसक्छ भने गोरखाभन्दा पश्चिमको चट्टान अर्को खण्ड। भूगर्भ वैज्ञानिकहरू यसलाई जमिनको सतहमुनि रहेको ‘ब्यारियर’ (अवरोध) भन्छन्, जसले भुइँचालोको चिरालाई एउटा खण्डबाट अर्कोमा जान रोक्छ।
यस्तो ‘ब्यारियर’ साँच्चै छ भने हिमालय क्षेत्र, खासगरी नेपालको निम्ति सुखद हो। नेपालको भू–सतहमुनिको सम्पूर्ण चट्टान एकैचोटि चिरा नपर्न सक्छ वा नसर्न सक्छ। जुन खण्डको चट्टानमा भुइँचालो जान्छ, त्यही खण्डको एक छेउबाट अर्को छेउसम्म मात्र चिरा पर्छ। त्यो चिरा अर्को खण्डको चट्टानसम्म पुग्दैन। भुइँचालोको धक्का मात्र एउटा खण्डबाट अर्कोमा जान सक्छ।
यसपालि गोरखा भुइँचालो जाँदा छिमेकी जिल्ला तनहुँ र कास्कीमा धक्का महसुस भयो, तर खासै क्षति भएन। भूगर्भ वैज्ञानिकहरूले यसो हुनुमा त्यही ‘ब्यारियर’ लाई कारण बताउने गरेका छन्। उनीहरूका अनुसार, गोरखामुनिको चट्टान फुट्दा त्यसको चिरा पश्चिम सरेन, धक्का मात्र पुग्यो।
पाँच सय वर्षअघि १५०५ मा भुइँचालो जाँदा पनि लगभग यस्तै स्थिति थियो। भारतको उत्तरपश्चिम क्षेत्रमा केन्द्रविन्दु रहेको उक्त भुइँचालोको तरंग नेपालको कहाँसम्म फैलिएको थियो हालसम्म पुष्टि भएको छैन। त्यसले काठमाडौं लगायत पूर्वी क्षेत्रमा क्षति पुर्याएको प्रमाणित इतिहाससमेत भेटिन्न। त्यतिबेला यही ‘ब्यारियर’ कै कारण भुइँचालोको चिरा पश्चिमबाट पूर्व नआएको भूगर्भ वैज्ञानिकहरूको भनाइ छ।
अर्थ अब्जरभेटरी अफ सिंगापुरका वैज्ञानिक राफल अल्मेडा त यस्तो ब्यारियर छ भन्ने ठोकुवा नै गर्छन्। आइतबार यही विषयमा कार्यपत्र प्रस्तुत गर्दै अल्मेडाले भने, ‘नेपालको मेन हिमालयन थ्रस्ट (एमएचटी) मा संरचनात्मक खण्डहरू छन्। यही खण्डले गोरखा भुइँचालोको दरारलाई सीमित पारेको हो।’
गोरखा भुइँचालोपछि जमिनको सतहमुनि आएको हलचल मिहिन केलाउने क्रममा अल्मेडा यस्तो नतिजामा पुगेका हुन्। आफ्नो कार्यपत्रमा उल्लिखित निष्कर्ष व्याख्या गर्दै उनले सेतोपाटीसँग भने, ‘पाँच करोड वर्षदेखि इन्डियन प्लेट युरेसियन प्लेटमुनि घुस्रिने क्रम जारी छ। यही दुई चट्टानको आपसी ठक्करले हिमालय क्षेत्रमा भुइँचालो ल्याएको हो। यसरी ठोक्किएको चट्टान एउटै ढिक्का होइन। यसको बनावट हामीले सोचेभन्दा बेग्लै छ। यो चट्टान खण्ड–खण्डमा विभाजित छ। प्रत्येक खण्डका भौगर्भिक संरचना फरक–फरक छन्।’
‘चट्टानको कुनै एउटा खण्डमा भुइँचालो जाँदा त्यसले अर्को खण्डमा चिरा पार्दैन, वा त्यसलाई विस्थापन गर्दैन, खालि यताको धक्का मात्र उता जान्छ,’ उनले भने, ‘एउटै चट्टान एकैचोटि फुट्दा र टुक्राटुक्रा फुट्दा आउने भुइँचालोमा आनका तान फरक पर्छ। यसले नेपालमा सिंगो चट्टान एकैचोटि सर्ने गरी ठूलो भुइँचालो जानबाट रोक्छ। हिमाली भुइँचालोको अध्ययनमा हाम्रो यो नतिजा महत्वपूर्ण उपलब्धि हो।'
के पश्चिमको भुइँचालो पनि पूर्व आउँदैन?
यसपालि गोरखा भुइँचालोले पश्चिममा दरार नपारेजस्तै पाँच सय वर्षदेखि थाती रहेको पश्चिम नेपालको भुइँचालोले काठमाडौं उपत्यका लगायत पूर्वी नेपालमा कुनै असर पार्दैन त?
‘यो प्रमाणित तथ्य त हैन, तर हुनसक्छ जसरी गोरखा भुइँचालोको चिरा पश्चिम सरेन, त्यसैगरी पश्चिम नेपालमा जाने भुइँचालोको चिरा पूर्व आउँदैन, त्यसो भए स्वाभाविक रूपमा असर पनि कम नै हुनेछ,’ कार्यक्रममा सहभागी अर्थ अब्जरभेटरी अफ सिंगापुरका अर्का वैज्ञानिक पल ट्यापोनियरले सेतोपाटीसँगको संक्षिप्त कुराकानीमा भने।
नेपालको भुइँचालोबारे अनुसन्धान गरेका भूगर्भ वैज्ञानिक तथा खानी तथा भूगर्भ विभागका उप–महानिर्देशक सोमनाथ सापकोटा यो तर्कसँग सहमत छन्।
उनले सन् २००५ मा अमेरिकी अनुसन्धानकर्तासँग मिलेर पश्चिम नेपालको मोहना खोला आसपास भुइँचालोले जमिनको सतहमा पारेको दरार फेला पारेका थिए। त्यो सन् १५०५ को दरार भएको उनको दाबी छ।
‘१५०५ ले २० मिटरसम्म जमिन सरेको दरार हामीले फेला पारेका थियौं,’ उनले भने, ‘त्यो ८.५ म्याग्निच्युडको भुइँचालो हुनसक्छ। त्यसले पश्चिममा दिल्लीसम्म क्षति पुगेको अनुमान छ। पूर्वमा भने बुटवलभन्दा यता आएन भन्ने लाग्छ। त्यसले काठमाडौं र पूर्वतिर क्षति पुर्याएको इतिहास भेटिन्न।’
सापकोटा र पल तिनै भूगर्भ वैज्ञानिक हुन्, जसले ६ सय ७९ वर्ष अन्तराल (सन् १२५५ र १९३४) मा गएका दुई ठूला भुइँचालोको दरार पूर्वी नेपालको बर्दिबासमा फेला पारेका थिए।
वैज्ञानिकहरूका लागि ‘पजल’
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय भूगर्भ विभागका प्राध्यापक लालु पौडेल यो ‘ब्यारियर’ वैज्ञानिकहरूका निम्ति ‘पजल’ भएको बताउँछन्।
‘पश्चिमतिर लामो समयदेखि भुइँचालो नगएर बढी ऊर्जा सञ्चित थियो भने गोरखा भुइँचालोको चिरा पश्चिमतिरै सर्नुपर्ने थियो, किन पूर्वतिर सर्यो? यो वैज्ञानिकहरूका लागि ‘पजल’ नै हो,’ उनले सेतोपाटीसँगको कुराकानीमा भने, ‘पश्चिमतिर चिरा नपर्नुमा तनहुँ, कास्की, लमजुङ क्षेत्रपट्टि जमिनमुनि गहिराइमा केही ‘ब्यारियर’ छ कि? त्यही ब्यारियरले पो रोकेको हो कि?’
‘१५०५ मा पश्चिममा आएको भुइँचालोले काठमाडौंमा कुनै असर पारेको प्रमाणित इतिहास भेटिन्न। त्यो ब्यारियरले उताको भुइँचालोलाई यता आउनबाट छेक्ने काम गर्यो कि! त्यसैले अब फेरि पश्चिममा भुइँचालो आए त्यो काठमाडौंसम्म क्षति पुग्ने गरी नआउन पनि सक्छ। सम्भावना त्यही देखियो,’ उनले भने।
के हुनसक्छ ‘ब्यारियर’?
नेपालको पूर्वी तथा मध्य र पश्चिमी भूभागबीच भौगर्भिक ‘ब्यारियर’ रहेकोमा भूगर्भ वैज्ञानिकहरू करिब–करिब सहमत छन्। के हुन सक्छ त त्यो ब्यारियर? के कारणले सिर्जना भएको होला त त्यो?
प्राध्यापक लालु पौडेल जमिनमुनि प्रवाह हुने भुइँचालोको तरंग रोक्न यो क्षेत्रमा उत्तर–दक्षिण चिरा हुनसक्ने बताउँछन्।
‘हिमालय पूर्व–पश्चिम फैलिएको छ, तर यहाँ जमिनको सतहमुनि उत्तर–दक्षिण पनि चिरा हुनसक्छ। यस्तो चिरा छ भने त्यसले भुइँचालोको तरंगलाई पूर्वबाट पश्चिम वा पश्चिमबाट पूर्व जान रोक्छ,’ उनले सेतोपाटीसँग भने।
‘इन्डियन प्लेट युरेसियन प्लेटमुनि घुसेको छ। त्यो प्लेट समथर छ भन्ने हामीले अनुमान गर्दै आएका छौं। त्यसो नहुन सक्छ। भारतमा आज पनि दिल्ली तथा अरावेली शृंखलामा उत्तर–दक्षिण फैलिएका यस्ता पहाड छन्, जुन हिमालय उत्पत्ति हुनुभन्दा पुराना हुन्। इन्डियन प्लेट युरेसियन प्लेटमुनि घुस्दा ती पहाड पनि सँगसँगै भित्रभित्रै घुसेका हुन सक्छन्। त्यसले भुइँचालोको तरंगलाई रोकेको हुनसक्छ,’ उनले भने।
प्राध्यापक पौडेलको यो भनाइमा अमेरिकी वैज्ञानिक जाँ फिलिप सहमत देखिए। भने, ‘यसो हुनसक्छ। इन्डियन प्लेटमा रहेका हिमालय उत्पत्ति हुनुभन्दा अघिका पहाडी शृंखला सग्लै युरेसियन प्लेटमुनि छिरेका हुन सक्छन्। त्यसले भुइँचालोको प्रवाहमा ‘ब्यारियर’ ल्याउन सक्छ।’
काठमाडौंमा किन कम क्षति भयो?
वैशाख १२ को भुइँचालोले काठमाडौंमा धेरैले सोचेभन्दा कम क्षति भयो। ठूलो भुइँचालो आए काठमाडौं उपत्यकाका दसौं हजार घर नष्ट हुन्छन् र लाखौं मान्छेको मृत्यु हुन्छ भन्ने अनुमान गलत साबित भयो। के त्यो अनुमान वैज्ञानिक तथ्यमा आधारित थिएन? थियो भने अनुमान र वास्तविकतामा किन यति ठूलो अन्तर हुन गयो?
वैज्ञानिक जाँ फिलिप यसलाई गोरखा भुइँचालोको अर्को ‘संयोग’ मान्छन्।
उनका अनुसार, यो भुइँचालोले जमिनको सतह त्यस्तो ठाउँमा बढी हल्लायो, जहाँ विगतमा पनि भुइँचालोका कम्पन महसुस हुने गरेका थिए। यसले गोरखा–सिन्धुपाल्चोक दरारको उत्तरी किनारमा बढी कम्पन ल्यायो। त्यहाँ लामो समय चट्टान अड्किएर बसेको थियो। भुइँचालो तरंग काठमाडौंभित्र छिर्नेबित्तिकै जमिनको थर्किने दर घटेको उनले बताए।
जस्तो, भुइँचालो तरंगको गति सुरुको २० सेकेन्डसम्म ३.५ किलोमिटर प्रतिसेकेन्ड थियो। त्यसपछि २.३ किलोमिटर प्रतिसेकेन्ड भयो भने अन्तमा २.८ किलोमिटर प्रतिसेकेन्ड पुगेर टुंगियो।
‘काठमाडौं उपत्यकाको ठिक मुनि आइपुग्दा जमिन थर्किने दर कम भयो। यसको कारण, यहाँको चट्टान अलि नरम प्रकृतिको भएकाले हुन सक्छ,’ जाँ फिलिपले सेतोपाटीसँग भने, ‘नरम प्रकृतिको चट्टानमा थर्किने दर कम हुन्छ। यसो हो भने काठमाडौंका लागि अर्को खुसीको कुरा हो। यसमा थप अनुसन्धान हुनुपर्छ।’
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक पौडेल पनि गोरखा भुइँचालोबाट सिक्नुपर्ने सबभन्दा ठूलो कुरा यही भएको बताउँछन्।
उनी यसमा अर्को कारण पनि औंल्याउँछन्।
‘हामी काठमाडौं खाल्डो कचौराजस्तो छ भनेर भन्छौं। पांगो माटो, बालुवा र ग्राभेलले भरिएको छ भन्छौं। काठमाडौं खाल्डो ताल सुकेर बनेको हो। तर, यो वास्तवमै कचौरा जस्तो छ कि यसको पिँधमा उबडखाबड पहाडहरू छन्? यो थाहा पाउन हामीसँग वास्तविक तथ्यांक छैन। साँच्चै कचौराजस्तो भए एक किसिमको अवस्था हुन्छ भने उबडखाबड भए अर्को किसिमको,’ उनले भने।
कचौराजस्तो भए भुइँचालो तरंग सबै ठाउँबाट बराबर सतहमा आउँछ। उबडखाबड भए सतहमा पर्ने प्रभाव फरक पर्छ। उपत्यकाभित्र देखिने चट्टानको पहाडले यसको पिँध उबडखाबड नै रहेको संकेत गर्छ। कीर्तिपुर, नैकापदेखि बल्खु, पुल्चोकसम्म चट्टानी पहाड छन्। ती ठाउँमा क्षति कम हुन्छ। चट्टानमाथि माटो वा बालुवाको तह बढी हुनेबित्तिकै क्षति बढी हुन्छ।
‘पिँध उबडखाबड छ भने त्यसमाथि माटो वा बालुवाको तह कम वा बढी हुनसक्छ। सेडिमेन्टको तह बढी भएको ठाउँमा धेरै हल्लाउने भयो। कम भए कम हल्लाउने भयो,’ उनले भने।
काठमाडौंमुनि थुप्रिएको भुइँचालोको स्थिति के छ?
गोरखा र सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएका भुइँचालाले जमिनमुनि जुन चिरा पार्यो, त्यो काठमाडौंको भू–सतहभन्दा दक्षिणतर्फ ११ किलोमिटर तल अड्किएर बसेको छ भनी वैज्ञानिकहरूले पुष्टि गरेका छन्। त्यो चिरा सतहसम्म आइनपुग्नु र त्यसको शक्ति काठमाडौंमुनि थुप्रिनुले यो क्षेत्रमा फेरि वैशाख १२ कै हाराहारी भुइँचालो जाने जोखिम छ भनिन्छ।
यसरी अड्किएर बसेको भुइँचालोको पछिल्लो स्थितिबारे जाँ फिलिपसँग सोध्दा उनले भने, ‘जिपिएसको पछिल्लो तस्बिरअनुसार त्यसमा कुनै हलचल देखिन्न। त्यो उही अवस्थामा अड्किएर बसेको छ।’
नेपाली वैज्ञानिकहरूले जस्तै उनले यसका तीन सम्भावना औंल्याए :
पहिलो, अड्किएको गाँठो विस्तारै फुक्दै जानेछ र सानो–सानो भुइँचालोबाट सञ्चित शक्ति ‘रिलिज’ हुनेछ। काठमाडौं र वरपर क्षेत्रमा केन्द्रविन्दु बनाएर जाने स–साना भुइँचालाले यहाँ गाँठो परेको चिरालाई चुरेको फेदसम्म पुर्याइदिन सक्छ। यसका लागि धेरै वर्ष लाग्न सक्छ। यसरी विस्तारै गाँठो फुक्दै गयो भने जोखिम कम हुन्छ।
दोस्रो, वैशाख १२ को जस्तै अर्को धक्का आएर गाँठो परेको चिरालाई एकैचोटि चुरेको फेदमा पुर्याइदिनसक्छ। यसो भए काठमाडौंभन्दा दक्षिणको भागमा बढी जोखिम हुने जाँ फिलिप बताउँछन्।
र तेस्रो, पश्चिम क्षेत्रमा जानसक्ने भुइँचालोले यो गाँठोलाई पनि सँगसँगै सोहोरेर लैजान सक्छ।
वैशाख २९ गते दोलखा केन्द्रविन्दु बनाएर जुन पराकम्प गयो, त्यसलाई १९९० सालकै भुइँचालोमा अड्किएर बसेको गाँठो भनेर केही भूगर्भ वैज्ञानिकले आँकलन गरेका छन्। त्यतिबेला निस्कन बाँकी रहेको शक्ति गोरखा भुइँचालोले सोहोरेर लगेको हुनसक्ने उनीहरू बताउँछन्। काठमाडौंभन्दा दक्षिणमा अड्किएको गाँठो पनि त्यसरी नै फुक्नसक्ने उनीहरूको तर्क छ।
अमेरिकी भूगर्भ वैज्ञानिक रोजर विल्हाम हिमालय क्षेत्रका अधिकांश भुइँचालामा जमिनको सतहसम्म चिरा नदेखिएको बताउँछन्। सन् १८०३, १८३३, १९०५ र १९४७ को भुइँचालोको चिरा भू–सतहमा नदेखिएको उल्लेख गर्दै उनले २०१५ को गोरखा भुइँचालो पनि त्यस्तै भएको बताए।
यसरी बीचमा अड्किएर बसेको भुइँचालोको चिरा भित्रभित्रै जमिनको सतहसम्म आइपुग्न ३ सयदेखि ९ सय वर्षसम्म लाग्ने उनको भनाइ छ। त्यस्तो अवस्थामा जमिनको एउटा सतह अर्को सतहमाथि चढेको प्रस्टै देखिन्छ।
‘सुरक्षित निर्माण नै मुख्य चासो’
गोरखा भुइँचालोपछि धेरैको चासो अर्को ठूलो भुइँचालो कहिले जान्छ भन्नेमा छ। भूगर्भ वैज्ञानिकहरू भने हिमालय क्षेत्रका लागि ठूलो भुइँचालो ‘अपरिहार्य’ भएकाले सुरक्षित निर्माण नै मुख्य चासो हुनुपर्ने बताउँछन्।
‘हामी भूगर्भ वैज्ञानिकहरू भुइँचालोको ट्रेन्ड विश्लेषण गर्न सक्छौं, तर हाम्रा पनि केही दायरा छन्। हामी भुइँचालोको भविष्यवाणी गर्न सक्दैनौं,’ सिंगापुरबाट आएका पल ट्यापोनियरले भने, ‘जापान, अमेरिका जोखिमयुक्त देश हुन्, तर त्यहाँका संरचना सुरक्षित छन्। भवन मापदण्ड कडा छ। घर भत्किएर ज्यान जाने संख्या उल्लेखनीय रूपले घटेको छ। हिमालय क्षेत्रमा पनि ठूलो भुइँचालो अपरिहार्य छ। नेपालले सुरक्षित आवास निर्माणको मापदण्डमा जोड दिनुपर्छ।’
सरकारले भुइँचालोको जोखिमसँगै यसबाट बच्न भुइँचालो प्रतिरोधक इञ्जिनियरिङबारे सर्वसाधारणलाई सचेत गराउनुपर्ने उनले बताए।
‘गोरखा भुइँचालोले योभन्दा ठूलो भुइँचालो जानसक्छ र योभन्दा बढी क्षति हुनसक्छ भनेर हामीलाई सतर्क गराएको छ। त्यसैले, सर्वसाधारण र सरकारको चासो सुरक्षित निर्माणमा हुनुपर्छ, जसले महाभूकम्प पनि थेग्न सकोस्,’ ट्यापोनियरले भने।
यो पनि हेर्नुहोस्