मोरङ दर्बेसा–१ की २७ वर्षीया मीरा अधिकारी शुक्रबार दिउँसो १० बजे कोसी अञ्चल अस्पताल विराटनगर भर्ना भइन्। डाक्टरले बच्चा जन्मिने मिति माघ २५ गते तोकेका थिए। त्यसको अघिल्लो दिन कोसी आएकी थिइन्। तर बच्चा जन्मिने छाँटकाँट थिएन। डाक्टरले भने,‘ब्यथा लागेपछि ल्याउनू।’ दुई चार दिन पर्खे भएन। सात दिन कट्दा पनि भएन। अब परिवारलाई के गरुम्, कसो गरुम् भयो। परिवारले निर्णय लिए–अब अस्पताल लैजाने।
७ गते भर्ना हुँदासम्म मीरालाई ब्यथा लागेन। ८ गते विहान ११ बजे डाक्टरले ब्यथा लाग्ने औषधि दिए। त्यसपछि पनि केही लक्षण आएन। डाक्टरले भने,‘भरे चार पाँच बजे फेरि दिउँला।’ नभन्दै त्यसै भयो। अर्कोपटक औषधि दिइयो। दोस्रोपटकको औषधिले काम गरेछ। ब्यथा लाग्न सुरु भयो।
चौबिसै घन्टा विशेषज्ञ सेवा दिनुपर्ने अस्पतालमा शनिबार भन्दै डाक्टर आएनन्।
राति १० बजेतिर एक जना नर्सले भनिन्,‘बेडमै बच्चा जन्मिन्छ, चिन्ता नलिनुस्।’ आइतबार विहान त्यस्तै साढे २ बजेको थियो। दसमुख खुल्यो भन्ने जवाफ परिवारलाई आयो। पेटमा बच्चा जीवितै थियो। ‘अब भने केही होला भन्ने आश आइरहेको थियो,’ मीराका पति हेमचन्द्रले सेतोपाटीसँग भने,‘तर बच्चाको ज्यान जाला भनेर सोचेकोे पनि थिएन।’ डाक्टर मेलिना भूषाल आइपुगिन्। चेकजाँच नगरी हात हालिन्। बच्चा निस्किएन।
त्यसपछि भ्याकुम लगाएर बच्चा निकाल्न खोजियो। भ्याकुमले पनि निस्केन। त्यसपछि बच्चा मरेको र अप्रेसन गरेर निकाल्नुपर्छ भन्ने निष्कर्षमा डाक्टर पुगे। परिवारलाई खाली कागजमा सही गराए। अब भने परिवार आत्तिए, के भएको हो? भूषाल पनि डराइछिन्, त्यसपछि अर्का डाक्टर योगेन्द्र मिश्रालाई बोलाइयो। भूषाल र मिश्रा दुबैले अप्रेसन गरेर मृत शिशु निकाले।
‘छोरो रहेछ,’ हेमचन्द्रले भने,‘एक छिन अगाडि जीवित बच्चा मृत निकालियो।’ त्यतिलाई पनि सहिरहेका थिए तर जब डाक्टरले पाठेघर झिकेको खबर गरे अनि परिवारलाई झन् चिन्ता लाग्यो। ‘गल्ती भयो, लापरबाही भयो, जे भयो नराम्रो नमान्दिनुस्,’ दुबै डाक्टरले भनेछन्।
यति हुँदासम्म मीराको स्वास्थ्य अत्यन्तै बिग्रिसकेको थियो। मीरा अहिले आईसीयुमा छिन्।
‘डाक्टरले यहीँ ठिक हुन्छ, ठिक पार्छौं भनेका छन्,’ मीराकी आमाजू सविना अधिकारीले भनिन्, ‘हेर्दा, हेर्दै एकैछिनमा कहाँबाट कुरो कता भयो।’ अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर रोशन पोखरेलले अप्रेसनमा केही तलमाथि परेको हुनसक्ने बताएका छन्। ‘कहिलेकाहीँ यस्तो घटना हुन्छ, बच्चाको ज्यान गएपछि आमालाई बचाउन अप्रेसन गरिएको हो।’ बच्चा एकदमै ठूलो भएको र मृत्युपछि पाठेघर बिग्रेका कारण अप्रेसन गर्नुपरेको उनले बताए।
मीराको पाठेघरै फालिएपछि परिवार चिन्तामा डुबिरहेको छ। मीराले पहिलोपटक ६ वर्षअघि छोरा पाएकी थिइन्। ‘पहिला आमाको ज्यान सुरक्षित होस् भनेर हामीले कुनै कदम चालेका छैनौं,’मीराका आफन्त मदन काफ्लेले भने। मीराका आफन्तले अत्यन्तै लापरबाहीका कारण बच्चाको ज्यान गएको र आमाको पाठेघर फालिएको बताएका छन्।
विशेषज्ञ डाक्टरका अनुसार प्रसूति अप्रेसनलाई सामान्य मानिन्छ। तर पाठेघरै झिक्नुपर्ने गरीको समस्या भने एकदमै दुर्लभ हो। ‘मीराको पाठेघरमा के भएको हो? राम्रोसँग जानकारी नलिइकन भन्न सकिन्नँ,’विराटनगरकै एक जना प्रसूति रोग विशेषज्ञले भने।