जतिबेला जमुनीले बिहे गरिन्,उनको महिनावारी धरि सुरु भएको थिएन।
दिपायल नगरपालिका, तिखाकी जमुनीको १४ वर्षकै उमेरमा बिहे भएको थियो।
महिनावारी नहुँदै छोरीको ‘कन्यादान’ गरिदिने गाउँको चलनले मृगझैं उफ्रँदै हिँड्ने उमेरमा बुहार्तन सहनुप¥यो उनले।
एक वर्षपछिको एक साँझ अनायसै उनको हंसले ठाउँ छाड्यो। यस्तो लाग्यो मानौं, उनको शरीरभरि करोडौं किरा सल्बलाइरहेका छन्।
त्यही दिन हो, पहिलोचोटि उनको ज्यानबाट रगत बगेको।
‘छाउ पडिछ (महिनावारी भइछे),’ कसैले उनलाई भन्यो।
माइतीमा सानैदेखि आमा ‘छाउ’ भएको देखेकी जमुनीलाई थाहा थियो, छाउ हुनु भनेको एक्लै गोठमा बस्नु हो। केही चिज छुन बन्देज लाग्नु हो। मन्दिरभित्र छिर्नै नपाउनु हो। धामीका अगाडि देखै नपर्नु हो। दूध, दही र कहिँकहिँ त रुख–बोटबिरुवासँग पनि टाढिएर बस्नु हो।
र, आफ्नै घरभित्र, आफ्नै आमाबाबुका लागि आफू ‘अपवित्र’ हुनु हो।
छाउ भएपछि आफ्नै गोडामा बाँधिने परम्पराका साङ्लाबाट भलिभाँती परिचित भए पनि जमुनीलाई थाहा थिएन, छाउ किन भइन्छ?
स्वास्नीमान्छेको ज्यानबाट किन एकाएक रगत बग्न थाल्छ? अनि, रगत बगेको त्यो घडीमा आफ्नै सन्तानलाई आमाबाबु किन छिइछितो गर्छन्?
फेरि यो ‘दोष’ महिलालाई मात्र किन?
स्कुल जान पाएकी भए र कम्तीमा ८–९ कक्षासम्म मात्र पढेकी भए पनि उनी विज्ञानसँग जोडिएको छाउ–कथाबाट यति अन्धकारमा रहने थिइनन्। न रगत बग्दा सासै जान लागेजस्तो गरी थुरथुर काम्ने नै थिइन्।
पढेलेखेका र सहरमा हुर्केबढेकाले सानैमा बुझ्ने सामान्य तथ्यबाट समेत अन्जान उनी त्यस रात थुरथुर काम्दै गोठभित्र छिरिन्।
लुसुक्क गोठभित्र छिर्दा उनको कम्मर कुटुकुटु खाइरहेको थियो। आङ झर्लाजस्तै भइरहेको थियो।
पहिलोचोटि छाउ भएर पहिलो रात गोठमा बिताउनुपर्दाको त्यो क्षण आज पनि उनलाई झल्झल्ती सम्झना छ। रातभरि गोबरमा लुट्पुटिएर बस्नुपर्दा अरू भए हुलुक्कै बान्ता गरिहाल्थे होलान्। उनलाई भने बानी परेको थियो गोठसँग। आखिर त्यहाँ बाँधिएका गाईगोरु स्याहार्ने उनै त थिइन्।
त्यो बेला गोठको चिसो भुइँले उनको ज्यान त्यति खाएन, जति निरन्तर रगत बगेको डरले उनको मन खायो। छिनका छिनमा टालो फेर्दा पनि ज्यान फोहोरै लाग्थ्यो उनलाई। आफ्नै शरीरको गन्धले नाक खुम्चिन्थ्यो उनको। अरूले त्यो गन्ध थाहा पाउलान् भन्ने चिन्ता त अझ बढी थियो।
‘के मसँग देउता रिसाएर यस्तो भएको हो?’ यही तर्कनाले उनको मन खाइरहन्थ्यो।
दिपायलकी ४४ वर्षीया जमुनीले लगभग ३० वर्षअघि पहिलोचोटि महिनावारी हुँदा जुन कष्ट सहिन्, १० वर्ष अघि उनकी छोरीले पनि यहि पिडा सहनुपरेको थियो।
सुदूरपश्चिमका धेरै महिला आज पनि उही नियति भोग्न बाध्य छन्।
अझै पनि त्यहाँका धेरै महिला महिनावारीका बेला गोठ र घरकै चिसो भुइँमा बस्छन्। महिनावारी भएका बेला सफा लुगा लगाउँदैनन्। कति त नियमित नुहाउनेसमेत गर्दैनन्।
स्कुल पढ्ने धेरैजसो किशोरी महिनावारी भएका बेला स्कुल जान पाउँदैनन्। महिनावारी हुँदा अर्कालाई छुन नहुने भएकाले स्कुल जान घरकाले नै बन्देज लगाउँछन्। त्यसमाथि यस्तो बेला पढ्न हुन्न भन्ने चलन पनि छ। छाउ हुँदा पाँच या छ दिन बार्ने चलनकै आधारमा हिसाब गर्दा पनि वर्षमा करिब ७२ दिन त महिनावारीकै बहानामा उनीहरुको स्कुल छुट्छ।
डोटीको महिला विकास कार्यालयकी जयलक्ष्मी जोशीले छाउपडी यहाँका महिलाले भोग्नुपर्ने सबभन्दा दुखद संस्कार रहेको बताइन्।
महिनावारी नबारे देउता रिसाउने डरले यहाँका मानिसले छाउपडी प्रथा एकदम कडा रुपमा मान्छन्।
सदरमुकाम देखि २ घण्टा सवारी दुरीमा पर्ने डोटीको काँडामाण्डौँ गाविस वडा नम्बर ७ का धामी पहारी चिरालले पनि छाउपडी प्रथा मान्नैपर्ने बताए। ‘यहाँको देउता एकदमै कडा छ, नबारे रिसाउँछन्, हामीलाई विपत्ति पर्छ,’ उनले भने।
जमुनी भने अब यो बन्धनबाट मुक्त भइसकेकी छन्।
उनी अब छाउ हुँदा पहिलोजस्तो गोठमा बस्दिनन्। घरभित्रै न्यानो र सफा लुगा लगाएर सुत्छिन्। यति मात्र होइन, उनी आफू जुन पीडाबाट गुज्रिएर आइन् त्यही पीडा अरुले भोग्नु नपरोस् भन्नेमा पनि सचेत छिन्। त्यही भएर छाउ हुनु भनेको नितान्त प्राकृतिक प्रक्रिया भएकाले किशोरीहरुले यसलाई अपराध सम्झने वा भगवान रिसाएको ठान्ने भूल गर्नु हुँदैन भनी अन्य महिलाहरुलाई सम्झाउने गर्छिन्। महिनावारी हुँदा गोठमा फोहोरी भएर बस्नुभन्दा सरसफाइमा ध्यान दिनुपर्नेमा पनि उनको जोड रहँदै आएको छ । उनी महिला तथा किशोरीहरुमा छाउसम्बन्धी चेतना जगाउन नियमित तालिमसमेत दिन्छिन् । उनकी छोरी उनीसंगै यो अभियानमा थिइन्।
जमुनीमा आएको यो अभूतपूर्व परिवर्तनको कसरी आयो?
सात वर्षअघि सेभ द चिल्ड्रेन र महिला विकास कार्यालयले दिएको तालिममा सहभागी हुँदा उनले पहिलोपटक महिनावारी हुनु भनेको के हो र कसरी हुन्छ बुझेकी थिइन्।
‘यो त महिलाको शरीरमा हुने प्राकृतिक प्रक्रिया रहेछ,’ उनले भनिन्, ‘यो पाप होइन रहेछ।’
पहिलोपटक तालिम लिँदा उनी दंग परेकी थिइन्। डर पनि लागेको थियो। सुन्दा पनि पाप लाग्ने हो कि भनेर छटपटी भएको थियो।
‘छाउ हुँदा काटेको घाँस खाए त गाईभैंसीको थुनबाट रगत आउँछ भन्थे,’ उनले भनिन्, ‘तालिममा, ‘छाउ’ हुँदा दूध, दही, मही र फलफूल धेरै खानुपर्छ, तातो न्यानो र सफा ठाउँमा बस्नुपर्छ भनेर सिकाउँदा त मलाई पाप लाग्छ कि भन्ने डर लागेको थियो।’
तालिमपछि महिला विकास कार्यालयले छाउपडीमुक्त गाउँ बनाउने जिम्मा उनलाई नै दियो। निगरानी समूह बनाएर कार्यालयले उनलाई अध्यक्षसमेत बनाइदिएको थियो।
त्यसपछि छाउपडीमुक्त गाउँ बनाउन लगाइएको व्यानर उनले आफ्नो घरअघि ल्याएर टाँस्नुप¥यो। गाउँका मानिसले उनको विरोध गरे, कुरा काटे। सुरुमा त घरका मानिसले पनि गाली गरे।
‘यस्ता संस्कारै भाँड्ने कुरा कसले सिकायो?’ सासुले उनलाई गाली गर्दै भनिरहिन्,‘अब देउती रिसाउँछ। तेरो बुद्धिले हामीलाई पनि दुख हुने भो।’
जब उनी छाउ हुँदा पहिलोपटक घरमा बसिन्, उनको मनमा गहिरो तनाव थियो। गाईभैंसीको थुनबाट रगत आयो भने? घरमा कोही बिमार परिहाल्यो भने? यस्ता शंकाले डेरा जमाएको थियो।
‘तर केही हुने रहेनछ, गाईभैंसीले दूधै दियो, घरका मानिसलाई पनि केही भएन,’ जमुनी मुसुक्क हाँसिन्, ‘देउती रिसाएन भनेर म ढुक्क भएँ।’
जमुनीको समूहले गाउँमा गठन भएका किशोरी समूहसँग मिलेर आफूले तालिममा सिकेका कुरा अरुलाई समेत बताउन थाल्यो। गाउँका धेरै महिलाले महिनावारी किन हुन्छ भन्ने थाहा पाए। यसले आफ्ना शरीर र मनमा आउने परिवर्तनका बारेमा बुझे।
‘आफूले वर्षौंदेखि अनुभव गरेकै कुरा हामीले किन हुँदो रहेछ भनेर थाहा पायौं,’ जमुनीले भनिन्।
जमुनीको गाउँ दुई वर्षअघि छाउपडीमुक्त घोषणा भइसकेको छ। जबकि उनको गाउँ जुन नगरपालिकाभित्र पर्छ त्यो भने अझै छाउपडीमुक्त भएको छैन।
‘हाम्रो वडा छाउपडीमुक्त भैसकेको धेरै भयो, अहिले कोही छाउ हुँदा गोठमा बस्दैन,’ जमुनीले भनिन्।
आफ्नै जिन्दगीमा आएको परिवर्तन देखेर जमुनीलाई कहिलेकहिले अचम्म लाग्छ। पहिले छाउ नबार्दा गाली गर्ने सासू पनि फेरिएकी छन्। उनले पनि आफ्ना बुहारीहरुले बसालेको चलन स्वीकार गरिसकिन्।
‘अचेल त भगवानलाई चढाउने गाईको दूध छाउ भएका आइमाईलाई दिँदा पनि केही हुन्न। पहिलेपहिले देउती थिए, अचेल खै कता लुके,’ उनी हाँसिन्।