बर्दिबास क्षेत्रमा फेला परेको भूकम्पीय दरारबाट कोइला झिक्दै फ्रेन्च भूगर्भविद् पल ट्यापोनियर (बायाँ) र भुइँचालोले पारेका दरार खोज्दै अमेरिकी, जापानी तथा नेपाली भूगर्भविद् (दायाँ)। तस्बिर सौजन्य : अर्थ अब्जर्भेटरी अफ सिंगापुर र दीपक चाम्लागाइँ
पृथ्वी सुन्तला आकारको छ।
यो आधा सत्य हो।
पूरा सत्य के भने, पृथ्वी बोक्रा छोडाएर फेरि जोडेको सुन्तलाजस्तो छ।
त्यस्तो सुन्तलाको बोक्रा जसरी टुक्राटुक्रा छुट्टिएको देखिन्छ, पृथ्वीको सतह पनि खण्ड–खण्डमा विभाजित छ।
ती विभाजित भू–सतह निरन्तर आपसमा ठोक्किने, घस्रिने, खप्टिने र फाटिने गर्दै आएका छन्– लाखौं, करोडौं वर्षदेखि। पृथ्वीका ती अलग–अलग खण्डलाई नै भू–गर्भविद्हरू ‘प्लेट’ भन्छन्। अनि, ती प्लेटलाई सुन्तलाका बोक्राजस्तो टुक्र्याउने चिराहरूलाई ‘फल्ट लाइन’, अर्थात् जमिनको दरार।
यो हाम्रो दुर्भाग्य हो, नेपाल त्यस्तै एउटा दरारमाथि छ, जहाँ दक्षिणबाट बग्दै आएको इन्डियन प्लेट पाँच करोड वर्षअघि उत्तरको युरेसियन प्लेटसँग ठोक्किएर त्यसमुनि घुस्रिरहेको छ।
र, नेपाललाई भुइँचालोको झट्का दिइरहेको छ।
...
‘नेपालको भू–सतहमा कहाँ–कहाँ दरार (फल्ट लाइन) छन्? के हामी ती दरार देख्न सक्छौं?’
केही महिनाअघि एसियन जर्नालिज फेलोसिप क्रममा सिंगापुर बस्दा मैले ‘अर्थ अब्जरभेटरी अफ सिंगापुर’ (इओएस) का फ्रेन्च वैज्ञानिक पल ट्यापोनियरसँग सोधेको थिएँ।
हिमाली भुइँचालोका अनुसन्धाता ट्यापोनियरले भने, ‘अवश्य देख्न सकिन्छ।’
उनले ‘एप्पल’ को कम्प्युटर स्क्रिन मतिर घुमाए। गुगल स्याटलाइट म्याप खोले। एसियाको नक्सा जुम गर्दै नेपालसम्म पुगे। नेपाललाई अझ जुम गर्दै ‘थ्रिडी इमेज’ देखाए – तल फराकिलो समथर भूमि, माथिल्लो भेगमा हिमालय र बीचमा होचा, अग्ला, कुनै धेरै अग्ला पहाडी शृंखला।
‘जुन ठाउँमा तराईको समथर भूमि सकिएर चुरेको नयाँ पहाडी शृंखला सुरु हुन्छ, त्यही हो नेपालको फल्ट लाइन,’ थ्रिडी नक्सातिर औंल्याउँदै उनले भने, ‘नेपालको पूर्व–पश्चिम राजमार्गको अधिकांश हिस्सा चुरेको फेदमा फल्ट लाइनमाथि छ।’
पूर्व–पश्चिम फैलिएको यही फल्ट लाइनमा लुकेको छ, नेपालको भुइँचालो कथा।
पल लगायत थुप्रै विदेशी तथा स्वदेशी वैज्ञानिकले केही वर्षयता यो भुइँचालो कथा उधिन्न लगातार काम त गरिरहेका छन्, तर सबै ‘सस्पेन्स’ खुलिसकेका छैनन्।
यही क्रममा कात्तिक २३ देखि २९ सम्म अमेरिकी, जापानी तथा नेपाली वैज्ञानिकको एउटा टोलीले पश्चिम महाकालीदेखि पूर्व बर्दिबाससम्म फल्ट लाइन पछ्यायो।
टोलीमा थिए, अमेरिकाको नेभादा विश्वविद्यालयका प्राध्यापक स्टेभन वेस्नोस्की, जापानको हिरोशिमा विश्वविद्यालयका सहायक प्राध्यापक याशुहिरो कुमाहारा र त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र क्याम्पसका सह–प्रध्यापक दीपक चाम्लागाइँ।
...
दीपक चाम्लागाइँलाई मैले त्यही प्रश्न सोधेँ, जुन पल ट्यापोनियरलाई सोधेको थिएँ। उनको जवाफ उही थियो।
‘नेपालको फल्ट लाइन पत्ता लगाउन नक्सा लिएर चुरेको फेद र तराईको सिरानमा धर्सो ताने पुग्छ,’ उनले भने, ‘त्यो भनेको लगभग हाम्रो पूर्व–पश्चिम राजमार्ग हो।’
भन्नुको मतलब, केही अपवाद छाड्ने हो भने नेपाललाई भुइँचालोको भुङ्ग्रोमा पार्ने पृथ्वीको दरार लगभग महेन्द्र (पूर्व–पश्चिम) राजमार्ग सँगसँगै दौडिएको छ। बन्चरोले दाउरो खप्लक्क दुई टुक्रा पारेझैं यो दरारले नेपाललाई दुई चिरा पारेको छ– चुरेभन्दा माथि एउटा खण्ड र त्योभन्दा मुनि अर्को।
करिब हजार किलोमिटर लामो त्यो राजमार्ग किन फल्ट लाइनकै माथि बनाइयो त?
‘राजमार्ग बन्दा नेपालमा फल्ट लाइनसम्बन्धी अवधारणा विकास भइसकेकै थिएन,’ चाम्लागाइँले भने, ‘हामीकहाँ यससम्बन्धी अनुसन्धानको इतिहास लामो छैन।’ जापानी प्राध्यापक ताकासी नाकाताले सन् १९७५ देखि अध्ययन थालेको उनको भनाइ छ।
अनुसन्धान नहुनुले मात्र पूर्व–पश्चिम राजमार्ग भौगोलिक रूपले गलत ठाउँमा परेको भने होइन। अहिले कहाँ–कहाँ दरार छ भन्नेमा भूगर्भविद्हरू स्पष्ट छन्, तैपनि त्यसले कुनै अर्थ राख्दैन। जलविद्युत, सडक लगायत ठूला आयोजना फल्ट लाइनभन्दा टाढा बनाउनुपर्नेमा भूगर्भविद्हरूको जोड रहँदै आएको छ। सरकारले भने सधैं बेवास्ता गर्ने गरेको चाम्लागाइँको गुनासो छ।
यसको ज्वलन्त उदाहरण यसैपालिको भ्रमणमा देखियो, बुटवलमा।
करिब दस वर्षअघि बुटवलमा एउटा दरार फेला परेको थियो। विगतको कुन भुइँचालोले त्यो दरार उत्पन्न गरायो यकिन भइसकेको थिएन। यसपालि जमिन खनेर अनुसन्धान गर्ने उद्देश्यसाथ चाम्लागाइँको टोली हिँडेको थियो। त्यहाँ पुग्दा त उनीहरू छक्कै परे। फल्टको ठ्याक्कै माथि साना केटाकेटी खेलिरहेका थिए।
‘फल्ट भएको ठाउँमा त स्कुल पो बनिसकेछ! वरपर घना बस्ती बसेछ! जहाँजहाँ फल्ट छ, त्यहाँत्यहाँ बाटो बनेछ!’ चाम्लागाइँले ‘फल्ट लाइन यात्रा’ वर्णन गरे, ‘अब जति खोजे पनि त्यो फल्ट फेला पर्दैन।’
उनका अनुसार भुइँचालोको इतिहास पर्गेल्न दरार फेला परेर मात्र हुँदैन, कोइला पनि भेटिनुपर्छ। रुखबिरुवा कुहिएर बन्ने कोइलालाई ‘कार्बन–डेटिङ’ गरेपछि दरारको उमेर पत्ता लाग्छ। यसबाट कति पुरानो भुइँचालोले दरार उत्पन्न गराएको थाहा हुन्छ।
‘फल्ट लाइन’ भनेर पहिचान भइसकेका ठाउँमा पनि जथाभावी बस्ती बस्ने क्रमले भुइँचालोको इतिहास क्रमशः मेटिँदै गएको उनको भनाइ छ।
‘यसले त्यहाँको बस्तीलाई त जोखिममा पारेको छ नै, हामीले भुइँचालोको इतिहास खोतल्न सक्ने दरार पनि पुरिएर खेर गइरहेका छन्। त्यस्ता कोइला एकचोटि नासिएपछि फेरि फेला पार्न सकिँदैन,’ उनले भने, ‘कोइला फेला नपरेपछि भुइँचालोको कथा पनि हामीले थाहै नपाई नासिन्छ।’
...
भूगर्भविद् दीपक चाम्लागाइँ आफ्ना विद्यार्थीसँग। तस्बिर : सुदीप श्रेष्ठ/सेतोपाटी
सन् १९३४ (विसं १९९०) को भुइँचालोलाई भूगर्भविद्हरूले लामो समय ‘ब्लाइन्ड’ भुइँचालोको संज्ञा दिए। किनकि, सामान्यतया भुइँचालो गएपछि जमिनको सतहमा जुन दरार उत्पन्न हुनुपर्छ, त्यो यहाँ फेला परेको थिएन।
यसको कारण, नेपालमा बाह्रै महिना बग्ने हिमनदीको बहाव हुनसक्छ, मनसुनले ल्याउने बाढीपहिरो हुनसक्छ वा यहाँको घना जंगल पनि हुनसक्छ। जे भए पनि जमिनको दरार पत्ता नलागेपछि थप अनुसन्धान हुन सकेन। सोह्र हजारभन्दा बढीको ज्यान लिएको र लाखौंलाई घरबारविहीन बनाएको उक्त भुइँचालो लामो समय रहस्यकै गर्भमा रह्यो।
फ्रेन्च भूगर्भविद् पल ट्यापोनियर ‘ब्लाइन्ड’ भुइँचालोको तर्कसँग सहमत थिएनन्।
‘ठूलो भुइँचालोले जमिनको सतहमा दरार पारेकै हुन्छ। १९३४ को घटनाले पनि कतै न कतै आफ्नो पदचिह्न छाडेको छ भन्ने मेरो विश्वास थियो,’ ट्यापोनियरले भने, ‘हामीले सही ठाउँमा राम्ररी खोज्न सकेनौं भन्ने मलाई लागिरहेको थियो।’
विगतमा चीन, भियतनाम, म्यानमार, पाकिस्तान लगायत देशका भुइँचालो अनुसन्धानमा संलग्न ट्यापोनियर जब ‘अर्थ अब्जरभेटरी अफ सिंगापुर’ मा आबद्ध हुन पुगे, उनले नेपाललाई आफ्नो अध्ययन क्षेत्र बनाए। सन् २००६ देखि नेपालको फल्ट लाइन पछ्याउँदै र सम्भाव्य क्षेत्रमा जमिनको दरार खन्दै हिँडेका उनको टोलीमा खानी तथा भूगर्भ विभागका सोम सापकोटासमेत संलग्न छन्।
अनुसन्धान थालेको दुई वर्षपछि सन् २००८ मा उनीहरूले नेपालको बर्दिबास क्षेत्रमा एउटा यस्तो दरार फेला पारे, जुन १९९० को भुइँचालोले छाडेको पदचिह्न हुन सक्थ्यो।
ट्यापोनियरका अनुसार त्यो ठाउँमा झन्डै ३० मिटर चौडा शिर खोलाको दिशा परिवर्तन भएको थियो। स्याटलाइट इमेज हेर्दा खोला मोडिएको देख्नेबित्तिकै उनलाई लाग्यो, नदीको बहावलाई यस्तरी मोड्ने सामर्थ्य सानोतिनो घटनाको हुनै सक्दैन।
यही शंकाका आधारमा उनी आफ्नो टोलीसँग शिर खोलाको किनार पुगे, स्थलगत निरीक्षण निम्ति। त्यहाँको दरारबाट कोइला झिकेर ‘कार्बन–डेटिङ’ गरे। उनको अनुमान सही साबित भयो। त्यो १९९० कै भुइँचालोले पारेको दरार रहेछ।
ट्यापोनियरले बर्दिबासको थ्रिडी नक्सामा शिरखोला देखाउँदै भने, ‘यही ठाउँमा हो दरार फेला परेको। यहाँ जमिनको सतह ‘जेड’ आकार बनाउँदै लगभग १० मिटर माथि उठेको छ।’
यतिमात्र होइन, शिर खोला किनारको जुन ढिस्कोमा १९९० को दरार फेला पर्यो, त्योभन्दा केही मिटर तल त्यस्तै अर्को दरार भेटियो। अनुसन्धानपछि पत्ता लाग्यो, पछिल्लो दरार त अझ पुरानो भुइँचालोको रहेछ, लगभग ७ सय ६० वर्षअघिको।
‘त्यो सन् १२५५ को भुइँचालोले बनाएको दरार थियो,’ ट्यापोनियरले भने, ‘यो पनि विभिन्न कालखण्डमा हिमाली क्षेत्रमा आएका ठूला भुइँचालोमध्ये एक हो।’ १२५५ को भुइँचालोले काठमाडौं उपत्यकाका एक–तिहाइदेखि एक–चौथाइ बासिन्दाको ज्यान लिएको र थुप्रै घर तथा मन्दिर भत्काएको ऐतिहासिक रेकर्ड छ।
एकै ठाउँ र एउटै फल्ट लाइनमा ६ सय ७९ वर्ष अन्तरालका दुई ठूला भुइँचालोको चिह्न फेला परेपछि उनीहरू के निष्कर्षमा पुगे भने, यहाँ करिब ७ सय वर्ष अन्तरमा ठूलो भुइँचालो जाँदो रहेछ।
‘हाम्रो अनुसन्धानको आधारभूत निष्कर्ष नै यही हो,’ उनले भने।
ट्यापोनियरको टोलीले अरू सातवटा पुराना भुइँचालोको दरार पनि फेला पारेको छ। तिनको उमेरमा पनि ६ देखि ८ सय वर्ष अन्तर पाइएको उनले बताए।
गोरखा भुइँचालोको तीन साताअघि मात्र ट्यापोनियरसहित फ्रेन्च भूगर्भविद् लरेन्ट बोलिङ्गर र सोम सापकोटाको टोलीले एउटा रोचक निष्कर्ष सार्वजनिक गरेको थियो। नेपालको मध्य–दक्षिणी भागमा गरिएको पछिल्लो अनुसन्धानबाट उनीहरूले के तथ्य पत्ता लगाए भने, काठमाडौं र पोखराबीच सन् १३४४ पछि ८ म्याग्नेच्युडभन्दा ठूलो भुइँचालो गएको छैन। यो भनेको ६ सय ७१ वर्षको अन्तर हो।
‘१२५५ को भुइँचालो त्यही ठाउँमा ६ सय ७९ वर्षपछि फर्कियो, त्यसैले १३४४ को भुइँचालो पनि फर्कनलाई परिपक्व भएर बसेको हुनसक्छ। यही आधारमा हामीले काठमाडौंभन्दा पश्चिम क्षेत्रमा भुइँचालो जोखिम बढेको प्रतिवदन बुझाएका थियौं,’ ट्यापोनियरले भने।
प्रतिवेदन बुझाएको तीन सातामै वैशाख १२ को घटना भयो।
‘राम्रो फल्ट र त्यसमा पाइने कोइला भनेको भूगर्भविद्का लागि टाइम मेसिनजस्तै हो, त्यसकै आधारमा हामी विगतमा फर्केर दरार उत्पन्न गराउने भुइँचालो पत्ता लगाउन सक्छौं,’ उनले भने, ‘र, भविष्यको पूर्वानुमान गर्न सक्छौं।’
‘फल्ट लाइन भनेको घडी भने होइन, न त हामी भुइँचालो भविष्यवाणी गर्ने ज्योतिषी हौं। यसले सधैं उही अन्तरालमा काम गर्छ भन्ने छैन।’
...
काठमाडौं उपत्यकामा माटोको गुणस्तर परीक्षणमा जुटेको ‘माइक्रो–ट्रेमर’ सर्वेक्षण टोली। तस्बिर सौजन्य : दीपक चाम्लागाइँ
बुटवलको दरारमा जमिन खनेर कोइला खोज्ने उद्देश्य पूरा नभएपछि दीपक चाम्लागाइँ र उनको टोली ‘फल्ट म्यापिङ’ निम्ति पश्चिम लागे।
कञ्चनपुरको मछडी खोलाछेउ अमेरिकी वैज्ञानिक युलले धेरैअघि फल्ट खनेका थिए। उनले त्यहाँ सन् १५०५ को भुइँचालोले पारेको दरार फेला परेको दाबी गरेका छन्। अनुसन्धानको विस्तृत विवरण आउन बाँकी छ।
पश्चिम हिमालय क्षेत्रमा १५०५ यता ८ म्याग्नेच्युड हाराहारीको भुइँचालो गएको छैन। भूगर्भविद्हरूका अनुसार इन्डियन प्लेट वार्षिक २ सेन्टिमिटरका दरले युरेसियन प्लेटमुनि धस्सिनुपर्छ। सय वर्षमा यो २ मिटर हुन्छ, हजार वर्षमा २० मिटर। यो क्षेत्रमा भने पाँच सय वर्षदेखि अड्किएर बसेको छ। यस आधारमा यहाँको भू–सतहमुनि ठूलो शक्ति सञ्चित भएर बसेको अनुमान छ, जुन कुनै पनि बेला ठूलो भुइँचालोका रूपमा बाहिर आउनसक्छ। त्यो शक्ति एकैचोटि बाहिर आए ८ म्याग्नेच्युडभन्दा ठूलो भुइँचालो जानसक्छ भनी भूगर्भविद्हरूले भन्दै आएका छन्।
पाँच सय वर्षअघि भारतको उत्तरपश्चिम क्षेत्रमा केन्द्रविन्दु रहेको भुइँचालोको तरंग नेपालको कहाँसम्म फैलिएको थियो भन्ने हालसम्म पुष्टि भएको छैन। त्यसले नेपालमा के कति क्षति पुर्यायो वा पुर्याएन भन्ने पनि रेकर्ड छैन।
‘त्यो अपूर्ण कथा पूरा गर्न र भविष्यमा १५०५ कै भुइँचालो पुनरावृत्ति भए नेपालको कुन भू–भागसम्म क्षति पुर्याउन सक्छ भन्ने आँकलन गर्न त्यतिबेलाको दरार फेला पर्नु जरुरी छ,’ चाम्लागाइँले भने, ‘यही सोचेर हामी युलले फेला पारेको फल्टको ‘क्रिटिकल’ विश्लेषण गर्न मछडी खोला गएका थियौं।’
यसपालिको भ्रमणबाट उक्त फल्टका सम्बन्धमा केही थप आधारभूत जानकारी प्राप्त भएको उनले बताए। ‘थप अध्ययन निम्ति केही सम्भाव्य स्थल फेला परेका छन्,’ उनले भने, ‘हामीले ती क्षेत्र रेकी गरेर आएका छौं, त्यहाँ फेरि गएर जमिन खन्ने योजना छ। यसले नेपालमा गएका वा जानसक्ने भुइँचालोका धेरै रहस्य खोल्नसक्छ भन्ने हाम्रो आशा छ।’
कञ्चनपुरपछि यो टोली धनगढी वरिपरि र कर्णालीको माथिल्लो भेग पुगेको थियो। ती क्षेत्रमा पनि केही दरार फेला परेका छन्। त्यसको प्रकृति हेर्दा पाँच सय वर्षअघिका हुन सक्ने उनले बताए।
यो टोली बर्दिबासको त्यो ठाउँ पनि पुग्यो, जहाँ पल ट्यापोनियरको समूहले उत्खनन् गरेको थियो। भुइँचालोको इतिहास खोतल्न बर्दिबासमा गरिएको उत्खननले अहिलेसम्मकै गतिलो नतिजा दिएको चाम्लागाइँ स्वीकार गर्छन्। त्यहाँ चार–पाँच किलोमिटर क्षेत्रभित्रै महत्वपूर्ण दरारहरू फेला परेको उनले बताए। जसमा सन् १९३४ र १२५५ को भुइँचालो एउटा हो भने अर्को सन् ११०० को हो।
बर्दिबास उत्खननले राम्रो नतिजा दिए पनि पलले भनेझैं करिब ७ सय वर्षको ‘पुनरावृत्ति अन्तराल’ मा चाम्लागाइँ सहमत छैनन्। हिमाली क्षेत्रको भुइँचालोका सन्दर्भमा यस्तो पुनरावृत्ति समय पत्ता नलागेको उनको भनाइ छ।
‘जुन अंकलाई पुनरावृत्ति समयका रूपमा सार्वजनिक गरिएको छ, त्यो तथ्यांक मात्र हो,’ उनले भने, ‘त्यसलाई पुष्टि गर्ने वैज्ञानिक आधार छैन।’
भूगर्भविद्हरूले नयाँ पहाडी शृंखला चुरेको फेदलाई नेपालको ‘फल्ट लाइन’ बताए पनि भूकम्पीय दरार त्यही क्षेत्रमा मात्र छ भन्ने होइन। जसरी कर्णाली आसपासका पहाडी क्षेत्रमा पाँच सय वर्षभन्दा पुराना दरार फेला परे, काठमाडौं उपत्यका वरिपरि पनि त्यस्ता दरार प्रशस्तै रहेको उनी बताउँछन्।
उनका अनुसार काठमाडौं उपत्यका वरिपरिका फल्टमा पाँचखालको झिखु खोला, कुलेखानी, कल्फुखोला र चन्द्रागिरी फल्ट (थानकोट फल्ट) प्रमुख छन्। ‘यसमध्ये झिखु खोला फल्टबाट कोइला झिकेर ‘कार्बन–डेटिङ’ का लागि लगेका छौं,’ उनले भने, ‘यसको अनुसन्धान प्रतिवेदन छिट्टै प्रकाशित हुँदैछ।’
अनुसन्धान भइरहे पनि कर्णाली वा काठमाडौं उपत्यका वरपर भेटिएका दरार भूकम्पीय जोखिमका हिसाबले खासै महत्वपूर्ण मानिँदैनन्। ती भनेका विगतमा हिमालय शृंखला उत्पत्ति हुने क्रममा इन्डियन र युरेसियन प्लेट ठोक्किँदा बनेका पुराना दरार हुन्। चुरेको फेद नै त्यस्तो फल्ट लाइन हो, जहाँ अहिलेसम्म इन्डियन र युरेसियन प्लेट आपसमा ठोक्किरहेका छन्। ती स्वाभाविक रूपले अरूभन्दा कान्छा र सक्रिय छन्। भविष्यमा ठूला भुइँचालोको जोखिम यसैले सिर्जना गर्नेमा भूगर्भविद्हरूको दुई मत छैन।
यसलाई पुष्टि गर्ने उदाहरण के भने, जसरी चुरेका रूपमा नयाँ पहाडी शृंखला उत्पन्न भएको छ, त्यसको दक्षिणपट्टि अर्को तहको पहाड उठ्ने क्रम सुरु भइसकेको छ।
‘झापाको केचनाछेउ सिंहभूमि भन्ने ठाउँमा चुरेभन्दा कान्छो पहाड उठ्न सुरु भइसकेको छ,’ उनले भने, ‘यो इन्डियन र युरेसियन प्लेटको घर्षणकै नतिजा हो, त्यसैले हामीले खोज्ने र अनुसन्धान गर्ने भनेको चुरेभन्दा दक्षिण क्षेत्रका दरार नै हुन्।’
भुइँचालोको इतिहास खोतल्ने अनुसन्धानमा लामो समय लाग्छ। भूगर्भविद्हरूको वर्षौंको अनवरत शोध, खोज र उत्खननबाट मात्र यस्ता दरार भेटिन्छन्। त्यसको उमेरका आधारमा कुन ठाउँमा कति वर्षको अन्तरालपछि भुइँचालो गयो पत्ता लगाइन्छ। नेपालको सन्दर्भमा पुनरावृत्ति समय ठोकुवा गर्न अझै धेरै काम बाँकी छ।
‘जुन दिन हामी यकिन पुनरावृत्ति समय पत्ता लगाएर अर्को भुइँचालो कहिले जान्छ ठोकुवासँग भन्न सक्छौं, त्यही दिन मात्र फल्ट लाइन पछ्याउने कार्यले ठोस नतिजा दिएको मान्नुपर्छ,’ चाम्लागाइँले भने, ‘हामी सबै भूगर्भविद्को अन्तिम लक्ष्य त्यही हो।’
...
वैशाख १२ को धक्का गोरखा, बारपाकबाट यस्तरी पूर्व सरेको थियो, मानौं कसैले कपडा च्यात्दैछ।
कपडा उधार्दा सुरुमा अलिकति च्यातिन्छ, बाटो बनेपछि धर्रर उध्रिँदै जान्छ। यो भुइँचालोको प्रवाह पनि बारपाकबाट धादिङ, काठमाडौं हुँदै जति पूर्व सर्दै गयो, धक्का उति तीव्र हुँदै गयो। केन्द्रविन्दु गोरखाभन्दा सिन्धुपाल्चोक र दोलखामा बढी जनधन क्षति भए।
काठमाडौंभित्रकै क्षति पनि एकनास छैन। कहीँ नयाँ घर गर्ल्यामगुर्लुम ढले, कहीँ पुरानै घर पनि सग्लो रह्यो। कुनै ठाउँमा एउटै घर छाडेन, कुनैमा एउटै घर छोएन।
एउटै क्षेत्रमा क्षतिको मात्रा आनका तानका फरक पर्नुको कारण घर कमजोर वा बलियो हुनु मात्र पक्कै होइन। ठाउँअनुसार माटोको प्रकृतिमा हुने अन्तरले पनि यसमा भूमिका खेलेको छ। दीपक चाम्लागाइँ अहिले यही अनुसन्धान क्रममा छन्।
काठमाडौं उपत्यकाभित्र कुन ठाउँको माटोमा भुइँचालोको धक्का सहने क्षमता बढी छ र कुन ठाउँमा कम छ पत्ता लगाउन उनी ‘माइक्रो–ट्रेमर’ सर्वेक्षणमा जुटेका छन्। त्रिभुवन विश्वविद्यालय र थाइल्यान्डको थामासाट विश्वविद्यालयको यो संयुक्त अनुसन्धानमा चाम्लागाइँलाई उनकै विद्यार्थीको सहयोग छ।
‘काठमाडौं उपत्यकाभित्र आवासीय घर तथा अग्ला व्यापारिक कम्प्लेक्स बनाउन माटोको गुणस्तर परीक्षण गर्नु अनुसन्धानको उद्देश्य हो,’ चाम्लागाइँले भने, ‘यसका लागि हामी जमिनमुनि भुइँचालोको तरंग कसरी प्रवाह हुन्छ भनी वैज्ञानिक रूपमा मापन गर्छौं।’
माइक्रो–ट्रेमर सर्वे क्रममा जमिनको तरंग नाप्ने उपकरण बिछ्याइन्छ। यसले जमिन हल्लिँदा सतहभन्दा ४–५ सय मिटर मुनिसम्म तरंगको गति (भेलोसिटी) मापन गर्छ। चट्टान भएको ठाउँमा गति बढी हुन्छ, कमलो माटो छ भने कम।
‘भेलोसिटी बढी भए त्यो जमिन चट्टानमै वा चट्टान नजिक छ भन्ने थाहा हुन्छ,’ उनले भने, ‘माटोको गुणस्तर जाँचेर घरको इन्जिनियरिङ निर्धारण गरे भुइँचालोको जोखिम धेरै हदसम्म घटाउन सकिन्छ।’
काठमाडौंका ४३ ठाउँमा गरिएको यो सर्वेको तथ्यांक विश्लेषण हुन बाँकी छ। यसका लागि थप दुई–चार महिना लाग्ने उनले बताए।
मैले भेट्दा चाम्लागाइँ ग्वार्को, ललितपुरमा अन्तिम दिनको सर्वे सकेर फर्केका थिए। र, ललितपुरको मंगलबजारमा आफ्ना विद्यार्थीसँग अर्को दिन मेलम्ची जानेबारे छलफल गर्दै थिए। मेलम्चीमा उनी ‘भुइँचालो र पहिरोको सम्बन्ध’ बारे अध्ययन गर्दैछन्।
‘एउटा पक्ष मात्र हेरेर भूगर्भ अनुसन्धान पूरा हुँदैन,’ चाम्लागाइँले भने, ‘भुइँचालोको इतिहास, भविष्यको पूर्वानुमान, जोखिम घटाउने उपाय र भुइँचालोले ल्याउनसक्ने पहिरोको सँगसँगै अनुसन्धान हुनुपर्छ।’
नेपालको सन्दर्भमा यस्ता विविध भूकम्पीय अनुसन्धानको खाँचो किन पनि छ भने, हामीले यो जोखिम विरासतमै पाएका छौं। सुन्तलाको बोक्रा टुक्रिएजस्ता पृथ्वीका प्लेट आपसमा ठोक्किने, घस्रिने, खप्टिने र फाटिने क्रम सम्भवतः सृष्टि रहेसम्म रोकिनेवाला छैन। दुर्भाग्यले नेपाल पृथ्वीको त्यस्तै एउटा दरारमाथि छ, जहाँ दक्षिणबाट बग्दै आएको इन्डियन प्लेट पाँच करोड वर्षअघि उत्तरको युरेसियन प्लेटसँग ठोक्किएर त्यसमुनि घुस्रिरहेको छ।
र, नेपाललाई भुइँचालोको झट्का दिइरहेको छ।
निरन्तर।