कलैयामा हिफाजत मियाँ भन्ने व्यक्तिको मृत्यु भयो। त्यसपछि वीरगञ्ज र काठमाडौँका मधेसी समुदायसम्म एउटा मिथक चर्चित बन्यो।
‘मिया ढलेपछि उनले पानी पानी भनेर चिच्याएका थिए। तर डिएसपीले उसको मुखमा पिसाब फेरिदियो।’
यही यसमाचार बनाएर एफएमहरुले फुके। ‘अहिले कलैयाको जोसुकैलाई मियामाथि भएको यो घटना साँचो हो भन्ने लागिसकेको छ।’ एक पत्रकारले सेतोपाटीसँग भने।
यो घटना साँचो होइन भनेर जिकिर गर्ने हो भने त्यहाँका सर्वसाधारणले भन्छन— साँच्चै हो। एफएमले त भनेको कसरी हुँदैन?
***
भोजपुरीया एफएम मनोरञ्जनात्मक कार्यक्रम चलाउने एफएम हो। जब तराईमा आन्दोलन चर्किदै गयो यसले राजनीतिक विषयवस्तुहरु पनि दिन थाल्यो। यही एमफएममा सभासद राजकुमार गुप्ताको अन्तरवार्ता थियो। कार्यक्रमको सुरु गर्दै सञ्चालकले सोधे ‘सभासद्ज्यू तपाईँ पहाडिया कि मधेसी?’
यो रेडियोले फोनइन कार्यक्रम होस या लाइभ आन्दोलनमा भइरहेका गतिविधिलाई प्राथमिकताका साथ प्रसारण गर्छ। यो रेडियोबाट एकदिन बज्यो,‘संविधानमा हस्ताक्षर गर्ने सबै सभासदहरुलाई बाँकि राख्नू हुन्न।’
***
वीरगञ्जमा प्रदर्शन भैराखेको थियो। त्यही बेला कोहिनुर एफएममा नारायणी अञ्चलको सञ्चालक समितिका उपाध्यक्षको बाइट प्रसारण भएको थियो। त्यहाँ उनले भनेका थिए ‘अस्पताल भित्र आठ जनाको लास छ अरू लास पनि ल्याइरहेका छन्।’ यो खबरले सन्सनी मच्चियो अन्ततः वीरगञ्जमा पाँच जनाको मात्रै मृत्यु भएको पुष्टी भयो।
***
संविधान जारी हुनु एकदिन अघि जगरामपुरमा शोक सभा थियो एउटा एफएमले लाइभ गरिदियो। भोलिपल्ट वीरगञ्ज घेर्न हजारौँ मानिस आए र कर्फ्यु तोडे। त्यहाँ प्रहरी र आन्दोलनकारी बीच भएको झडपमा परि एकजनाको मृत्यु भयो।
भोलिपल्टका राष्ट्रिय छापाहरुमा संविधान जारी भएपछि दिपावली बालिएको फोटोलाई मुख्य स्थान दिइएको थियो। ‘तर तराई आन्दोलनमा ज्यान गुमाएको समाचारले एउटा कुना आएको थियो,’ वीरगञ्जका एक पत्रकारले भने, ‘यहाँ ज्यान गुमाएको समाचार नछाप्नेहरू भन्दै आन्दोलनकारीले पत्रिकै जलाइदिए।’
***
हप्तादिन अघि तराईमा गएको पत्रकार महासंघको मिडिया मिसनमा सहभागी पत्रकार माधव पौडेलले ‘तराईका धेरै एफएमहरुले दिएका लाइभ प्रोग्रामहरु हिंसा भड्काउने खालका भएको’ बताए।
उनले सेतोपाटीलाई भने अनुसार, त्यहाँका एफएमहरुले दिने कार्यक्रम फुटबल क्रिकेटको लाइभ कमेन्ट्री जस्तो हुन्छ।
सेतोपाटीले महोत्तरी, विरगञ्ज, रौतहट र गौरका केही स्थानीय पत्रकारहरुलाई तराईका मिडियामा जाने विषयबारे सोधेको थियो। उनीहरु मध्ये केहीले एफएमहरुले आन्दोलनको लाइभ र आफ्ना फोनइन कार्यक्रमहरु आचारसंहिता विपरित गएर चलाइराखेको बताए। आफ्ना नियमित सेड्युल बन्द गरेर फोनइन र लाइभ कार्यक्रम दिन्छन्।
‘आन्दोलनकारीले प्रहरी प्रशासनलाई लगाएका आरोप, गाली जस्ताको तस्तै दिन्छन्,’ एक पत्रकारले भने, ‘यसले हिंसालाई बढावा दिन्छ।’ झडपका बेला भएको लाइभमा आन्दोलनकारीलाई आफ्ना भनाइराख्न फोन थमाउने गर्छन् एफएम रिपोर्टर। रिसको आवेगमा उसले जे पनि बोल्छ त्यो समाचार सुनेपछि सर्वसाधारणमा आक्रोस फैलिन्छ।
‘त्यहाँका धेरै जसो एफएमहरु आन्दोलनका हिस्सा जस्तै भैसकेका छन्।’ तराई घुमेर आएका पत्रकार पौडेलले भने।
महोत्तरीका केही एफएमहरुले आन्दोलनको लाइभबाहेक सिके राउतको अभियानमा बजाइने गीतहरु बजाउँछन्। त्यसबाहेक लाइभ र फोनइन यहाँ पनि हिट छ।
गौरको कोइनुर एफएमलाई त प्रशासनले कारबाही गर्न समेत लेखेर गृहमा पठाएको बताइन्छ। गौरको कोइनुर एफएमका एमडि तथा पत्रकार रविन्द्र साहले लाइभ कार्यक्रम मार्फत आन्दोलनका बारेमा जानकारी गराउने गरेको बताए। ‘हामीले व्यवसायीक भएर काम गरेका छौँ, सत्यतथ्य दिनु हाम्रो धर्म हो। यो एफएम कसैको पक्ष र विपक्षमा छैन तर प्रशासनले पुरानो रिस फेरेको हो,’ साहले सेतोपाटीसँग भने।
वीरगञ्जका पत्रकार, चन्द्रकीशोर झाले भने विषयबस्तुका आधारमा तराईका मिडिया पनि दुई थरि भएकको देख्छन्। सीमानासँग नजिक रहेका एफएमका विषयबस्तु आन्दोलनको पक्षमा देखिन्छन् राजमार्गवरिपरिका एमएमहरुले तराईको आन्दोलनलाई महत्व दिएका हुन्नन्।
उनले भने, ‘राजमार्ग क्षेत्रका एफएमहरुले मधेसीहरुका जायज मागका बारेमा समेत बोल्दैनन्।’
राष्ट्रिय मिडियाले तराईका कुरा सुन्दैनन्
‘संविधानमा के लेखिएको छ भन्दा पनि राष्ट्रिय मिडियामा के लेखिएछ भन्नेमा तराईबासीले धेरै चासो दिन थालेका छन्,’ रौतहटका पत्रकार फणी महतले भने।
केन्द्रीय मिडियाले दिने समाचार एकपक्षीय हुन्छन् भनेर धेरै मधेसीहरुको चित्त दुखेको छ। आन्दोलनकारीहरु त आक्रोसमै समेत उत्रिन्छन्।
मधेसमा बसेर काठमाडौँका लागि काम गर्ने पत्रकारहरुका समाचार एक पक्षीय भएको भनेर आन्दोलनकारीहरु उनीहरुसँग आक्रोशित हुन्छन।
‘हामीले स्थानीयस्तरबाट पठाएका समाचार पनि डेस्कले मोडिदिएको हुन्छ,’ एक पत्रकारले भने, ‘तर आन्दोलनकारीले हामीलाई निसाना बनाउँछन्।’
पत्रकार असुरक्षीत
केही दिन अघि गौरमा आन्दोलनकारीहरुले संविधान जलाइरहेका थिए। त्यसको फोटो लिइरहेका थिए पत्रकारहरुले। पुलिस आयो आन्दोलनकारीहरुलाई भगायो। आगो लागिरहेको संविधान प्रहरीहरुले खुट्टाले कुल्चेर निभाइरहेका थिए। पत्रकारहरु फोटो खिचिरहेका देखेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर फोटो डिलीट गर्न लगायो। पत्रकारहरुलाई दुव्र्यव्यहार गर्यो र छोडिदियो। आन्दोलन भैरहने ठाउँमा पत्रकारहरु बढी नै जोखिम मोलेर काम गरिरहेको पत्रकार पौडेल बताउँछन्।
आन्दोलनकै दौरान, गौरको एक एफएमबाट बबनसिंहले पत्रकारहरुको नामै तोकेर पेट्रोल छरेर मार्ने धम्की दिएका थिए। अहिले गौर र रौतहटबाट त केही पत्रकारहरु विस्थापित जस्तै छन्।
राष्ट्रिय मिडियामा काम गर्ने पत्रकारहरु आन्दोलन भएका ठाउँमा गएर समाचार संकलन गर्न पाएका छैनन्। पत्रकारबाटै पत्रकार असुरक्षित हुने गरेको गौरका एक पत्रकारले बताए। ‘आन्दोलनका समाचार दिने होडबाजी चलीरहन्छ। आन्दोलनको कम कभरेज गर्ने पत्रकारलाई बढी गर्नेले गाली या धम्की पनि दिन्छन्,’ उनले भने।