श्रीमान्ले आफ्नी १३ वर्षकी बहिनीलाई बलात्कार गरेको थाहा पाएपछि एक महिलाले शनिबार आत्महत्या गरेकी छन् ।
थापापुर गाविस वडा नम्बर ४ की १९ वर्षीया जुनी चौधरीले बहिनी बलात्कृत भएको पीडा सहन नसेकर आत्महत्या गरेको आफन्तले बताएका छन् ।
दिदीको घरमा बास बस्न गएकी पीडित बालिकालाई २१ वर्षीया भिनाजु राजकपुर चौधरीले शुक्रबार राति जबरजस्ती बलात्कार गरेको बताइएको छ । बहिनी बलात्कृत भएको थाहा पाएपछि शनिबार बिहान मृतक चौधरीले श्रीमानसँग विवाद गरेकी थिइन् ।
श्रीमतीले घटनाबारे सोधखोज गर्न थालेपछि चौधरी गाउँ नजिकैको पसलमा तास खेल्न गएका थिए । स्थानीयका अनुसार तास खेलिरहेका श्रीमानलाई खोज्दै मृतक चौधरी त्यही पुगेकी थिइन् ।
गाउँलेले चौधरी दम्पत्तिको तास खेलिरहेको स्थानमै समेत झगडा भएको बताएका छन् । तास खेल्दै गरेको स्थानबाट घरतर्फ सँगै फर्केका चौधरी दम्पत्ति मध्ये श्रीमती नजिकैको खेतमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
‘बहिनी र ज्वाइँसँगै फर्केको स्थानीयले बताए पनि बहिनी जामुनको रुखमा झुण्डिएको अवस्थामा भेटिइन्,’ दाइ चन्दर चौधरीले भने, ‘कान्छी बहिनी बलात्कृत भएपछि नै उनीहरूबीच झगडा भएको देखिन्छ ।’
उनले बलात्कृत भएकी बहिनीको स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएको बताए । शुक्रबार राति बलात्कृत भएकी बालिकाको अझै स्वास्थ्योपचार भएको छैन ।
‘गाउँकै मेडिकलबाट औषधी ल्याएर खुवाएको छु,’ उनले भने, ‘छिनछिनमा बेहोस हुने गरेकी छन् ।’
चौधरीले आफू र श्रीमती धनगढी आएकाले कान्छी बहिनी आफ्नो माइली बहिनीको घरमा बास बस्न गएको बताए । चौधरीका बुबा आमा धनगढीमा मजदुरी गर्दै आएका छन् ।