एकीकृत नेकपा माओवादीका सचिव तथा राष्ट्रिय विपत अनुगमन तथा निर्देशन समितिका सदस्य गिरिराजमणि पोखरेलले आज केन्द्रीय कारागार, भद्रगोल जेल र महिला जेलको अनुगमन गरेका छन्।
ती जेलमा १२ गतेको भुकम्पमा परी १७ जना बन्दीको मृत्यु भएको थियो भने ८० जना घाईते भएका थिए। सो क्रममा बन्दीहरुले पुर्ननिर्माणका लागि कारागारमा रहेका दक्ष जनशक्तिलाई परिचालन गर्न आग्रह गरे। उक्त अनुगमनमा क्रममा त्यहाँ अवस्थित कुनै पनि भवन बस्न उपर्युक्त नदेखिएको पोखरेलले बताए। जेलमा रहेका २ हजार ४ सय ८४ बन्दीहरुलेे अर्न्तराष्ट्रिय समुदायको अनुभवको आधारमा आम माफी दिई वन्दी मुक्त गर्न पहल गर्न आग्रह गरेका थिए।
आफूहरुसित पर्याप्त त्रिपाल नभएको भन्दै उनीहरुले पर्खाल कुन वेला भत्किएर लड्ने भन्ने अवस्थामा रहेकाले रातभर सुत्न नसकेको गुनासो गरे। वन्दीहरुसँगको भेटघाट र अनुगमन पश्चात पोखरेलले आफू अनुगमन समितिको सदस्य पनि भएको हैसियतले वन्दीहरुको माग राष्ट्रिय विपत अनुगमन तथा निर्देशन समितिको वैठकमा उठाई कैदीहरुको मागलाई सक्दो सम्वोधन गर्ने प्रतिबद्धता जनाए।