नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलको नेतृत्वमा आज भूकम्पबाट क्षतिग्रस्त यहाँका विभिन्न स्थानको सरसफाइ गरिएको छ।
भूकम्पपछि वाग्मती सरसफाइ रोकेर मुख्य सचिव पौडेलको निर्देशनमा भूकम्प प्रभावित क्षेत्रमा भत्किएका संरचना हटाउने र सरसफाइ गर्ने अभियानअन्तर्गत आज दोस्रो हप्ता पनि सरसफाइ गरिएको हो। गत शनिबारभन्दा आजको शनिबार सरसफाइमा सहभागी हुनेहरु कम भएपछि आगामी शनिबार यसलाई व्यापक बनाइने र सरसफाइलाई प्रभावकारी बनाइने पौडेलले बताए।
आज भक्तपुर नगरक्षेत्रका छ नाकाबाटै बिहान ७ देखि १० बजेसम्म एकैसाथ सुरु भएको सरसफाइबाट भक्तपुर नगरक्षेत्रमा भत्किएका सरंचनालाई व्यवस्थित गर्ने तथा भत्किएर थुप्रिएका संरचना हटाउने कार्य भएको छ ।
सरसफाइ अभियानमा सरकारी निकायका कर्मचारी, सुरक्षाकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसमेतको सहभागिता थियो । वाग्मती सफाइ अभियान १०२ हप्ता पुग्दा आएको विनाशकारी भूकम्पले वाग्मती सफाइ अभियान भत्किएका संरचना हटाउने अभियानमा परिणत भएको छ ।
'यतिबेला पीडितलाई आडभरोसा चाहिएको छ, त्यसका लागि सबैले स्वयम्सेवी भावनाले सहयोग पुर्याउनु जरुरी छ' पौडेलले भने।
पुरिएका सम्पदा जोगाउँदै विद्यार्थी
आरपी फाउन्डेसनले सञ्चालन गरेको भोकेसनल एकाडेमी पनौतीका विद्यार्थी भक्तपुरमा भूकम्पले पुरिएका सम्पदा जोगाउने अभियानमा लागेका छन् ।
गत वैशाख १२ गतेको शक्तिशाली भूकम्प र त्यसपछिका लगातारका पराकम्पनले भक्तपुरका ऐतिहासिक सम्पदा पुरिएका छन् । यहाँका २० विद्यार्थीले भक्तपुर नगरपालिकास्थित महालक्ष्मी स्थानमा रहेको महालक्ष्मी धाराको उत्खनन गरेका छन् । भूकम्पले धारासँगै रहेको पाटीसमेत भत्किएर पानी आउने ढुङ्गेधारा पुरिएकामा छोपिएको भाग हटाइएको छ । धारा सफा गरेर पानी प्रयोग गर्नयोग्य भएको छ ।
सम्पदा संरक्षणमा संलग्न भक्तपुरका रवीन्द्र पुरीले स्थापना गरेको फाउन्डेसनमा सम्पदासम्बन्धी अध्ययन गरिरहेका विद्यार्थी थपिएको फाउन्डेसनका अध्यक्ष पुरीले बताए। पनौतीदेखि भक्तपुर आएर टाउकामा हेल्मेट र हातमा पन्जा लगाएका विद्यार्थी यहाँ भेटिन्छ।
स्थानीयवासीको अनुमति लिएर उत्खननमा लागेका विद्यार्थीले भक्तपुर दरबारस्क्वायरको पनि सरसफाइ गर्न खोज्दा नगरपालिकाले अनुमति नदिएकामा चित्त दुखाए । भक्तपुरमा पुरिएका सम्पदाको उत्खनन सकेपछि साँखु र वज्रयोगिनीलगायत सम्पदाको सहरमा गएर अभियानलाई निरन्तरता दिइने फाउन्डेसनका अध्यक्ष पुरीले बताए।
विद्यार्थीको यस्तो प्रयासले सम्पदाप्रतिको चासो र माया बढाउने र उनीहरुमा सामाजिक सेवाको भावनामा अभिप्रेरित गर्ने पुरी बताउँछन्। रासस