वैशाख २९ गते अाएको दोस्रो ठूलो भूकम्पपछि चन्द्र शमशेरका पालामा बनेको र अहिले प्रधानमन्त्री कार्यालय रहेको सिंहदरबारको मूल भवन प्रवेश गर्न नमिल्ने गरी क्षतिग्रस्त भएको छ। प्रधानमन्त्री कार्यालयका अलावा यो भवनमा रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग र मुख्य सचिवको सचिवालय थिए।
सिंहदरबार परिसरभित्रै रहेका सामान्य प्रशासन, श्रम र युवा तथा खेलकुद मन्त्रालय रहेका भवनमा पनि दोस्रो ठूलो भूकम्पपछि प्रवेश गर्न नमिल्नेगरी क्षति पुगेको छ। यसैगरी महालेखा परीक्षकको कार्यालय, सडक विभाग र स्थानीय पूर्वाधार विभागमा पनि बस्न नमिल्ने भएपछि कर्मचारीहरूलाई अन्य ठाउँमा स्थानान्तरण गरिँदै छ।
सिंहदरबार परिसरमा रहेका राणाकालीन सबै भवनहरू लगभग क्षतिग्रस्त भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग र मुख्य सचिवको सचिवालय मूल भवनको दक्षिणपट्टीको बगैचामा पाल टाँगेर सारिएको छ।
भवन विभागका इन्जिनियरले अाज सिंहदरबार मूल भवनको प्रारम्भिक निरीक्षण गरेका छन्। 'भवनको पश्चिम फर्केको अगाडिको मोहडा मर्मत सम्भार गर्न नमिल्ने गरी क्षति भएको छकि भन्ने इन्जिनियरहरूको भनाई छ' मुख्यसचिव लिलामणि पौडेलले सेतोपाटीसँग भने। थप अध्ययनपछि मात्र इन्जिनियरले अन्तिम निष्कर्ष निकाल्ने छन्।
साधारणत: नयाँ भवन बनाउन लाग्ने खर्चको ४० प्रतिशत रकम खर्च गरेर मर्मत सम्भार गर्न मिल्ने भए मर्मत गर्ने नत्र नयाँ बनाउने प्रचलन छ।