भूकम्पका कारण विद्यालय भवनमा क्षति पुगेपछि चितवन जिल्लाका केही विद्यालयमा त्रिपालमुनि पढाई सञ्चालन गरिएको छ।
जिल्लाका अधिकांश विद्यालयमा सामान्य प्रभाव देखिए पनि नौवटा विद्यालयका कक्षा कोठामा क्षति पुगेपछि दातासँग त्रिपाल मागेर त्रिपालमुनि पढाई थालिएको छ।
जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यका अनुसार छवटा विद्यालयमा दाताले त्रिपाल उपलब्ध गराएका छन् भने अन्य तीनवटा विद्यालयका लागि वैकल्पिक व्यवस्थाको खोजी भइरहेको छ।
भूकम्पका कारण कोठामा बस्न नमिल्ने भएका कविलासको राष्ट्रिय प्राथमिक विद्यालय भारलाङ, दारेचोकको पन्थ राप्रावि डुडे, माझगाउँ मावि दारेचोक, चण्डिभञ्ज्याङको देवीभञ्ज्याङ राप्रावि कालिखोला, लोथरको गणेश निमावि यौरालीटार र लोथरकै डुङवाङ प्रावि स्याम्राङमा लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ बी टु को एरिया नं ३ ले ठूला त्रिपाल उपलब्ध गराएपछि त्रिपालमुनि विद्यार्थीलाई पढाइएको छ।
मङ्गलपुरको मोहनपुर निमावि, सिद्धिको राप्रावि डौतेस र लोथरको हातीसुँढे प्राविको कक्षा कोठामा पढाउने अवस्था नभएपछि वैकल्पिक व्यवस्थाको खोजी भइरहेको जिल्ला शिक्षा अधिकारी आचार्यले बताए।
जिल्लामा रहेका ३८९ विद्यालयमध्ये १२५ वटा विद्यालयमा क्षति पुगेको उहाँले बताउनुभयो । सामान्य रुपमा सबै विद्यालयमा चर्किएको भए पनि १२५ वटा विद्यालय भने कक्षा कोठा, कार्यालय भवन मर्मत नगरी पठनपाठन गराउने अवस्था नरहेको बताए। आफ्नै प्राविधिक, भवन निर्माणका प्राविधिक र नगरपालिकाका प्राविधिक लगाएर विद्यालयको भवन परीक्षण गर्ने काम भइरहेको उनले।
चर्को गर्मीसँगै त्रिपालमुनि कक्षा सञ्चालन निकै कष्टकर हुन्छ। जिल्लामा आइतबारदेखि कक्षा सञ्चालन सुरु भएको हो । विद्यालय नखुलेसम्म प्रधानाध्यापकले विद्यालयको अवस्था नबुझेका कारण क्षतिको विवरण ढिलो गरी आएको उनले बताए। रासस