जावलाखेलस्थित बुद्ध एयरको केन्द्रीय कार्यालयको माथिल्लो तलामा उनीहरू बैंकमा रकम जम्मा भए/नभएको, राहत सामग्री लिएको ट्रक कहाँ पुग्यो लगायत छलफल गर्दै थिए।
केही दिनदेखि बुढानीलकण्ठ स्कुल पढेका विद्यार्थी भूकम्प पीडितलाई राहत वितरण गर्न यो अफिसमा डेरा जमाएर बसेका छन। पेशा र व्यवसायमा फरक फरक क्षेत्रमा आवद्ध यी स्वयम्सेवकबीच बुढानिलकण्ठ स्कुल पढेको साइनो छ।
बुढानीलकण्ठ स्कुलमै पढेका बुद्ध एयरका निर्देशक विरेन्द्रबहादुर बस्नेतले बुढानीलकण्ठ भूतपूर्व विद्यार्थी समाजका स्वयम्सेवकलाई काम गर्न अफिसको ठाउँ उपलब्ध गराइदिएका हुन्।
भूतपूर्व विद्यार्थी समाजले त्यहीँबाट भूकम्पबाट बढी प्रभावित सिन्धुपाल्चोकका बासिन्दालाई राहत सामग्री पुर्याउने व्यवस्था मिलाइरहेका छन्।
भूकम्प पीडितलाई देशविदेशबाट व्यक्तिगत र संस्थागतरूपमा धेरैले सहयोग गरिरहेका छन्। ‘तर हामीले व्यवस्थित तरिकाले राहत बाँडिरहेका छौं’, विद्यार्थी समाजकी अध्यक्ष स्निधा मैनालीले सेतोपाटीसँग भनिन्, ‘हामी २३ सय २० रूपैयाँमा पाँच जनाको परिवारलाई त्रिपाल र तीन हप्ता पुग्ने चामल दिन्छौं।’
भूकम्प गएको तेस्रो दिन उनीहरूले पीडितका लागि केही राहत दिन सकिन्छ कि भनेर समाजका सदस्य बीच सल्लाह गरे। काठमाडौंमा उपलब्ध सदस्यले के गर्ने भन्ने कुरा छलफल गरे । ५६ देशमा फैलिएका समाजका ४३ सय सदस्यले अनलाइइनमा आफूले सकेको सहयोग गर्ने जनाए।
बुद्ध एयरले सुरूमै दिएको ५० लाख रुपैयाँबाट उनीहरुले राहातको काम सुरू गरे। पीडितहरुले बाटोबाटै राहत सामग्री खोसिदिन्छन् भन्ने समाचारले दुःखी पनि बनायो। त्यसपछि उनीहरु स्थलगत भ्रमणमा सिन्धुपाल्चोक निस्किए। बाह्रविसेमा सर्वपक्षीय बैठक गरेपछिमात्र काठमाडौंबाट राहत सामग्री ओर्सान थाले। सबै पक्षसँग समन्वय गरेकाले उनीहरुले राहत सामग्री सहज रुपमा वितरण भइरहेको छ।
मैनालीका अनुसार समाजले अहिले सिन्धुपाल्चोकमा १ नम्बर निवार्चन क्षेत्रमा राहत सामग्री पठाइरहेको छ। गत शनिबार बाह्रविसेमा हजार थान त्रिपाल र हजार बोरा चामल वितरण गरे भने मंगलबार मेलम्चीका लागि २ हजार थान त्रिपाल र त्यति नै बोरा चामल पठाइएको छ। उनीहरुले प्रत्येक गाविस सचिवलाई राहत सामग्री जिम्मा लगाउने गरेका छन्।
‘काठमाडौंमा पनि त्रिपाल किन्न खोज्यौं तर यहाँ साह्रै महंगो हुँदो रहेछ’, मैनालीले भनिन् ‘भारतबाट ल्याउँदा त्यही त्रिपाल १२ सयमा काठमाडौं पुग्छ यहाँ किन्दा २५ सयसम्म पर्दो रहेछ।’
उनीहरुले अहिले १८ फिट लम्बाई र १५ फिट चौडाईको ९० जिएसएमको त्रिपाल र सोना मन्सुली चामल ३० केजीको बोरा प्रत्येक पीडित परिवारलाई दिइरहेका छन्। उनीहरुले चामल बीरगञ्जबाट ल्याएका छन्। सो त्रिपालमा पाँच जना सम्मको परिवार बस्न मिल्छ भने चामलले सो परिवारलाई तीन हप्तासम्म खाना पुग्छ।
‘२३ सय रूपैयाँ हामी रेष्टुरेन्टमा जाँदा बिल पनि तिर्छौं, त्यही पैसाले पीडितको सिंगो परिवारले केही दिन पेटभरी खाना पाउँछ र राति ओत लाग्न पाउँछ भने किन नदिने?’ मैनालीले प्रश्न गरिन्।
सिन्धुपाल्चोकमा भूकम्पले ६५ हजार परिवार विस्थापित भएका छन्, उनीहरूका लागि खाना र छानाको व्यवस्थापन गर्न विदेशी गुहार्नु नपर्ने मैनालीको बुझाई छ। ‘अरुसँग हात फैलाउनुभन्दा नेपालीले नेपालीलाई सहयोग गरे धेरै राम्रो हुन्छ,’ उनले भनिन्।
आफूहरुमा सहयोगी बन्ने भावना बुढानीलकण्ठ स्कुलको वातावरणले दिएको उनले बताइन्। स्कुलको होस्टेलमा बस्दादेखि नै हामीलाई सामाजिक काममा सहभागी गराइन्थ्यो। अनि त्यही स्कुलमा पढेको नाताले विद्यार्थीको निकटतापनि बढको छ,’ उनले भनिन्। स्कुलका वर्तमान प्रिन्सिपल केशरबहादुर खुलाल पनि अहिले विद्यार्थीको राहत वितरणमा स्वयमसेवी बनेका छन्।
उनीहररुलाई अहिले धेरैले व्यक्तिगत सहयोग गरिरहेका छन्। बुद्ध एयर बाहेकको संस्थागत सहयोग आएको छैन।
उनीहरुले दोलखा र सिन्धुपाल्चोकमा २० हजार थान त्रिपाल र २० हजार बोरा चामल पठाउने लक्ष्य बनाएका छन्। ‘हामीसँग अहिले ५० लाख जति रुपैयाँ छ, आशा छ अरु पनि सहयोग आउनेछ’, मैनालीले भनिन्। बुढानीलकण्ठ स्कुलबाट पास भएका ४२ ब्याजमध्ये आधाले मात्र सहयोग गरे त्यो लक्ष्य पाइने मैनालीको आशा छ। आफ्नो लक्ष्य पुरा गर्न उनले अरु नेपालीलाई पनि आग्रह गरिन्– एक दिन बरु रेष्टुरेन्ट नजानुस्, नेपालीले रातमा ओत लाग्न र दुई छाक खान विदेशीको राहत नकुरौं। दुःखमा परेका नेपालीलाई हामी आफैं राहत दिनसक्छौं।
उनीहरुले जेठ १ गतेसम्म चन्दा संकलन गर्ने र जेठ १५ सम्म राहत बाँडने योजना बनाएका छन्। ‘त्यसपछि त हामी पनि आफ्नो काम फर्कनुपर्छ, त्यतिञ्जेलसम्म त सरकाले पनि केही गरीसक्ला नि’, किस्ट अस्पतालमा बाल दन्तचिकित्सक रहेकी मैनालीले भनिन्।