भूकम्पका घाइतेको सम्पुर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरेको झन्डै एक हप्ता पछि मात्रै निजी अस्पतालमा उपचार गराएका बिरामीले तिरेको औषधिको पैसा फिर्ता पाउन थालेका छन्।
समयमै समन्वय र सरकारको स्पष्ट निर्देशन नहुँदा अधिकांश निजी अस्पतालले भुकम्पका बिरामीलाई अन्य उपचार निशुल्क उपलब्ध गराए पनि औषधि भने किन्न लगाएका थिए।
निजी अस्पतालहरुले घाइते को भर्ना, जाँच,बेड र डाक्टरको शूल्क नलिए पनि औषधी किन्न लगाएका थिए।
केही अस्पतालले यी सबै सेवाको पैसा लिएका थिए।सरकारी अस्पतालमा भने सबै उपचार र औषधी पनि भूकम्प आएको दिन देखिनै निशुल्क उपलब्ध थियो।
विएनवी अस्पतालले विहिबार देखि बल्ल औषधी उपचार निशूल्क गरेको छ। यो अस्पतालमा आएका भूकम्पका घाइतेहरुले भर्ना शूल्क समेत तिरेका थिए।
शान्तिनगर गेट लड्दा च्यापिएर तनहुँ थर्पुका संविव वाग्ले अहिले विएनविको आइसीयुमै छन्। उनका अभिभावकले भर्ना शूल्क देखि औषधी सम्म सबैको पैसा तिरेका थिए। अस्पतालले घाइतेको कार्ड बनाइदिएर सम्पूर्ण विल फिर्ता लिएको छ। उसले पहिले लिएको सबै पैसा फिर्ता गरिरहेको घाइतेका आफन्तहरुले बताए।
केएमसी अस्पतालले विहिबार बिहान सम्म काभ्रेको बाह्रकिलोका युनिक तामाङको जाँच र औषधीको पैसा लिएको थियो। तर, शुक्रबार देखि भने उसले पैसा मागेको छैन।
‘औषधि र जाँचको ३५ हजार भन्दा बढी पैसा तिरिसकेँ,अहिले मैले निशुल्कको कुरा उठाएपछि तिर्नुपरेको छैन, पहिलेको पैसा पनि फिर्ता दिनुहुन्छ रे विल राखेकी छु,’उनकी काकीले भनिन्।
घरले पुरेपछि युनिकलाई केएमसी ल्याइएको थियो।अहिले उनी एमआइसीयुमा अचेत अवस्थामा उपचाररत छन्।
यद्यपी केएमसीले सम्पूर्ण औषधी उपचार निशूल्क गरेको दावि गरेको थियो।
'भूकम्पका घाइतेलाई हामीले सम्पूर्ण औषधी उपचार खर्च सूरु देखि नै निशुल्क गरेका हौँ,कसैले झुक्कीएर पैसा तिरेको रैछ भने जहिले थाहा हुन्छ त्यहीबेला देखि फिर्ता गर्ने छौँ,'केएमसीका सिइओ दिपेन्द्रपुरुष ढकालले भने।
यस्तै दाबि गरेको ओम अस्पतालले पनि शनिबार देखि बल्ल औषधी निशूल्क गरेको छ।
ओम अस्पतालमा उपचाररत भुकम्पकी घाइते सुसन्ना सुब्बालाई खुवाउन पर्ने औषधी सुरुको दिन देखि अभिभावकले आफै किनेका थिए। सुरुका दिनको एक्स रे को पैसा समेत तिर्नु परेको थियो। लगभग १५ हजारको औषधी लागिसकेको उनका ठूलाबुवा कुमार सुब्बाले सेतोपाटीलाई बताए। शनिबार देखि भने उनले औषधीको पैसा पनि तिर्नुपरेको छैन। आइसीयु बाट अहिले उनलाई वार्डको २३५ नम्बर बेडमा सारिएको छ।
‘एकहप्ता सम्मको औषधी हामी आफैले किनेका हौँ, आज भने हामीलाई एउटा निवेदन लेख्न लगाएर कार्ड दिएको छ त्यो देखाएपछि औषधी पनि निशूल्क भएको छ,’ सुब्बाले सेतोपाटीसंग भने।
ओम अस्पतालका अध्यक्ष भोला रिजालले भने शूरुको दिन देखि नै आफूहरुले घाइतेलाई सम्पूर्ण सेवा पूर्ण निशूल्क गरेको बताए।
सरकारले घोषणा गर्नु भन्दा पहिले देखि नै आफूहरुले आफै निशूल्क सेवा दिएको उनको दावि छ।
सुब्बाको परिवारबाट ६ जना घाइते भएका थिए। तीनजनालाई सामान्य उपचार पछि घर फर्काइयो। संजोग र सिता देवानलाई भने न्यूरो अस्पताल बाँसबारी लगिएको थियो। त्यहाँ भर्ना र सम्पूर्ण उपचारको खर्च तिर्नुपरेको गुनासो सुब्बाले गरे।
न्यूरोले पनि शुक्रबारदेखि भूकम्पका घाइेतको खर्च नलाग्ने भनेको उनले बताए। ‘आज सम्म जति पैसा लाग्यो लाग्यो अब तपाईँहरुले पैसा दिनुपर्दैन भन्यो न्यूरोले पनि,’सुब्बाले सेतोपाटीसंग भने।
तर न्यूरो अस्पतालले भने सुरु देखिनै आफूहरुले निशूल्क उपचार गरेको दावि गरेको छ। 'भुकम्प आएको साँझ देखि नै हामीले अस्पतालमा उपचार गरुन्जेलको औषधी उपचार निशूल्क गरेका हौँ, झुक्किएर तिरेकालाई फिर्ता दिन्छौँ,' न्यूरोका प्रसासन अधिकृत विद्याधर अधिकारीले सेतोपाटीसंग भने।
नर्भिकका अस्पतालका निर्देशक राजेन्द्र बहादुरले सिंहले सबैलाई औषधीको शुल्क पनि निशूल्क गरेको बताए। केही दिन अघि सेतोपाटीसंगको कुराकानीमा आफ्नै मेडिकल नभएकोले, पैसा तिर्न सक्नेलाई औषधी किन्न लगाएको स्वीकार गरेका थिए।
'हाम्रो फार्मेसी नभएकोले बीचमा सक्नले तिर्नु भनेका थियौँ तर पैसै तिर्न सक्ने अवस्था भएका घाइतेहरुले पनि तिर्न नमानेपछि निशूल्क नै गरेका छौँ,'उनले भने,'फार्मेसीलाई हामीले भूकम्पका घाइतेलाई निशूल्क औषधी दिनु भनेर रिक्वेस्ट गरेका छौँ अन्य उपचार त निशूल्क नै थियो।'
सरकारले भूकम्पबाट घाइते भएकालाई निशूल्क उपचार गर्ने घोषणा गरेको थियो। तर, उसले निजि अस्पताललाई औपचारीकरुपमा पैसा नलिनु भनेकोथिएन।
‘हामीले सम्पूर्ण औषधी उपचार निशूल्क गर्ने भनेका हौँ, निजि अस्पतालसंग सम्बन्धित विभिन्न संगठनका प्रमुखहरुसंग कुरा गरेका छौँ,’ स्वास्थ्य मन्त्रालयका सहसचिव गुणराज लोहनीले भने, ‘भुकम्पका घाइतेको उपचार गर्दा पूर्ण निशरुल्क गर्नु र लिएको पैसा पनि फिर्ता गर्नु भनेर निर्दैशन दिदै छौँ,'