शनिबारको भूकम्पबाट प्रभावित धेरैलाई तत्काल त्रिपाल चाहिएको छ। पीडितहरू धेरैले खानाको जोहो गर्न सकिने तर त्रिपाल अत्यावश्यक भएको बताइरहेका बेला सरकारले तत्काल त्रिपाल पुर्याउन नसकिने देखिएको हो।
‘अहिले ३ लाख जति त्रिपाल चाहिएको छ, तर हामीसँग मुस्किलले हजारमात्र त्रिपाल छन्’, विमानस्थल संयोजन केन्द्रका संयोजक तथा गृहमन्त्रालयका सहसचिव सागरमणि पराजुलीले सेतोपाटीसँग भने।
पराजुलीका अनुसार सरकारसँग भएको त्रिपालपनि बाँड्न समस्या भइरहेको छ। भौगोलिक विकटताका कारण पर्याप्त हेलिकोप्टर नभएकाले भनिएका ठाउँमा त्रिपाल लगायतका राहत सामग्री पठाउन सकिएको छैन्।
त्यसो त सरकारसँग अहिले कति मानिस वास्तविक रूपमा घरबारविहीन भएका छन् भन्ने आधिकारिक तथ्यांङ्क छैन्। ‘सिडिओसाब्हरूले पठाएको रिर्पोट पनि गाउँ गाउँ गएर बनाएको होइन’, पराजुलीले भने। विभिन्न मित्रराष्ट्र र दातृ निकायले पठाएको सहयोग विमानस्थलमा थुप्रिएको छ। तर बाँड्ने प्रभावकारी संयन्त्र बनिनसक्दा वितरण प्रभावकारी हुन नसकेको पराजुली स्वीर्काछन्।
विमानास्थलको कार्गो भवनसँगै विश्व खाद्य कार्यक्रमले एक महिनाअघि मात्र बनाईदिएको मानवीय सहायता कक्षको भवनमा अहिले विदेशी सरकारले नेपाल सरकारलाई दिएको सामग्री र दातृ निकायले आफ्नो तरिकाले ल्याएको सामग्रीलाई फरकफरक ठाउँमा गोदाम बनाएर राखिएको छ।
सुरुमा अल्मलियौं
विमानस्थलमा आउने विदेशी राहतलाई संयोजन गर्न खडा गरिएको विमानस्थल संयोजन केन्द्रका संयोजक सह–सचिव पराजुलीले १२ गते भूकम्प आएपछि सुरुमा के गर्ने कसो गर्ने भन्ने विषयमा सरकार नै अल्मलिएको बताए। त्यसपछिका दिनमा काम गर्दै जाँदा धेरै कुरा सिक्दै गएको पनि उनले उल्लेख गरे।
‘अब विस्तारै व्यवस्थित हुँदैछौं’, उनले भने। अहिले विमानस्थल संयोजन केन्द्रमा पराजुलीको नेतृत्वमा नेपाल प्रहरीका डिआइजी गोविन्द निरौला, सशस्त्र प्रहरीका डिआइजी अरविन्द धिताल लगायतको टोलीले विदेशी राहतको संयोजन गरिरहेको छ। उनीहरुलाई नेपाली सेनाको टोलीले सघाइरहेको छ।
केन्द्रले विदेशी सरकारले पठाएको राहत सामग्रीको लगत राख्ने र माग अनुसार राहत सामग्री पठाउने, नेपाली सेनाको इन्जिनियरिङ निर्देशनलायमा बसेर बाहिरबाट आएका शवहरु, घाइतेहरुलाई अस्पताल पठाउन संयोजन गर्ने काम गरिरहेको छ।
केन्द्रले प्राप्त राहत सामग्रीलाई नेपाली सेनाको हेलिकोप्टर, ट्रक र अन्य साधनको प्रयोग गरी सम्बन्धित जिल्लाका सिडिओ कार्यालयमा पठाइरहेको छ।
पूर्व तयारी भएन
नेपाल सरकारले भूकम्प लगायतका महाविपत्तिका लागि भनेर कुनै त्रिपाल लगायतका सामान स्टक राखेको आफूले नदेखेको पराजुलीले बताए। ‘भए रेडक्रसजस्ता संस्थामा होलान् तर सरकारले भने त्रिपाल स्टक राखेको मलाई थाहा भएन’, उनले भने। त्यसैगरी सहायता दिने विदेशीलाई आवश्यकता बताउन नसक्दा समस्या भएको उनले बताए। ‘हामीलाई चाहिएको त्रिपाल र विदेशतिर हुने त्रिपाल फरक हुँदो रैछ, एउटा ५५/५६ किलोको त्रिपाल आएको छ, त्यस्तोको हामीलाई के काम?’ उनले भने।
त्रिपाल नै अहिलको मुख्य आवश्यकता हो भन्ने थाहा पाउँदा पनि पठाउन नसकिएको बताउँदै उनले कहिलेसम्म सबैलाई त्रिपाल पुर्याउन सकिन्छ भन्ने टुंगो नभएको पनि बताए। ‘हामीले सकेजति काम गरिरहेका छौं, तर सीमित स्रोत साधन र भौगोलिक विकटताले सबैलाई त्रिपाल पनि दिन सकेका छैनौ’, उनले भने ‘अझ १०/१५ दिन लाग्छ होला।’ उनले मित्र राष्ट्र र सहयोगीलाई त्रिपाल पठाउन आग्रह गरिएको पनि उल्लेख गरे।
सरकारको भर पर्नुभन्दा आपसमा सहयोग गरौं
नेपाली समाजको स्वभाव नै एक अर्कालाई सहयोग गर्ने हो। यस्तो विपद्को बेला झन एक अर्काको सहयोग चाहिन्छ। पराजुली भन्छन्– यस्तो बेलामा सरकारले केही गर्ला भनेर कुर्नुको साटो हरेक नागरिकले आफूले सकेको सहयोग पीडितलाई गरे छिटो समस्या समाधान हुन्छ। उनले सरकारका पनि सीमितता भएकाले त्यसलाई बुझेर आपसमा सहयोगी बनी संकटको बेला एकजुट हुन पनि आग्रह गरे।