मनका धनी, धनका धनी गैरआवासीय नेपाली डा.उपेन्द्र महतोले महाभूकम्पबाट पीडितहरुको प्रारम्भिक बसोबास र भत्किएका विद्यालयको पुर्ननिर्माणका लागि १५ करोड रुपैयाँको आर्थिक सहयोगको घोषणा गरेका छन्। नेपालमा गएको शनिबारको महाभूकम्पपछि निजी क्षेत्रबाट आर्थिक सहयोग घोषणा गरेको यो अहिलेसम्मकै ठूलो रकम हो।
यति ठूलो आर्थिक सहयोगको घोषणा किन? सेतोपाटीको जिज्ञासामा महतोले भने,‘एक व्यक्तिका लागि यो सहयोग निक्कै ठूलो हो, महाविपत्तिको कोणबाट हेर्दा यो सहयोग सानो हो।'
महतोले सहयोग भन्ने कुरा ठूलो सानो नहुने बताए। ‘सबैभन्दा ठूलो कुरा त मन हो। मेरै आँखा अगाडि यत्रो विपत्ति आईलाग्या। हामी बँाचेकाले केही न केही गरौं भन्ने भावले यो सहयोग गरेको हो।'
घोषणा गरेको सहयोग मध्येबाट रु ३ करोडबाट कम्तिमा १ हजार परिवारको प्रारम्भिक बसोबासको व्यवस्था गर्ने र बाँकी १२ करोड रुपैयाँ भूकम्पले भत्किएका शैक्षिक संस्थाका भौतिक संरचना निर्माणमा खर्च गरिने उनले बताए।
भूकम्पका कारण जसको घरबार ध्वस्त भएको छ। घर भत्किएर सडक बास भएको छ। ‘उनीहरुको अरु एक वर्ष घर निर्माणको संभावना छैन। त्यस्ता परिवारका लागि एउटा निश्चित गाउँका बासिन्दालाई मेरो सहयोगबाट वर्षामा पनि बस्न मिल्ने किसिमले प्रारम्भिक बसोबासमा खर्च गरिने छ', महतोले भने।
उनका अनुसार ५/७ जना अटाउने किसिमको संरचना, सुत्नेदेखि बाच्नका लागि खाने सामाग्री समेत उपलव्ध गराइनेछ।
भूकम्प प्रभावित एउटा ठाँउको छनोट गरेर यो सहयोग आफ्नी स्वर्गीय आमाको नाममा स्थापना गरेको फूलकुमारी महतो ट्रष्टको माध्यमबाट काम गर्ने उनले बताए। तर स्थानको छनोट स्थानीय प्रशासन, प्रमुख जिल्ला अधिकारीको सिफारिसमा यो काम सम्पन्न गर्ने भएको छ।
सरकार सामु महाविपत्तिको व्यवस्थापन गर्न धेरै चुनौती छ। धेरै कुराको व्यवस्थापन गर्न भ्याई नभ्याई छ। सिधै गर्दा सरकारलाई पनि केही भार कम हुने भएकाले आफूले सिधै प्रभावित मानिसहरुसँगै मिलेर आफ्नो सहयोगको सदुपयोग गर्ने जानकारी पनि उनले दिए। उनले सरकारलाई विश्वास नगरेर नभई भार कम गर्न आफैंले काम गर्न थालेको उनले बताए।
उनले मुलुकभित्रका निजी क्षेत्र र बाहिर रहेका सहयोगी मन भएकालाई भूकम्प प्रभावित मध्ये एउटा क्षेत्र जिम्मा लिएर राहत उपलव्ध गराउन र सरकारलाई भार नदिन उनको सुझाव दिए। ‘जसको व्यवस्थापन क्षमता पनि छ, केही गरौं भन्ने भावना पनि छ, त्यस्ता व्यक्ति या संस्थाले सिधै गरे भने सरकारलाई धेरै नै सहज हुन्छ' महतोले भने।
महाविपत्तिपछिको अवस्थालाई सामान्य बनाउन महतोले तीन कुरामा जोड दिएका छन्। उनका अनुसार विपद्पछि उद्धार, राहत र पूनर्स्थापना गर्नुपर्छ। त्यसका लागि सरकारी नेतृत्वमा निजी क्षेत्र र समाजका विश्वासिला व्यक्तिहरु सम्मिलित ‘फास्ट एक्सन कमिटी' बनाउनु पर्छ। त्यसमार्फत् विपद् व्यवस्थापन गर्न झन सजिलो हुन्छ।