सदरमुकामबाट २० त्रिपाल लिएर गएका झुले गाविस सचिव सुनिल बस्नेत पीडितबाट बाटामै खोसेका छन् ।
वडा नं ८ का भूकम्पपीडितले त्रिपाल खोसेर लगेपछि गाविस सचिव बस्नेत आज सदरमुकाम चरिकोट फर्केका छन्। 'थोरै राहत लिएर गाउँमा जानु खतरापूर्ण छ' सचिव बस्नेतले भने। पीडितको सङ्ख्यालाई ध्यानमा राखेर राहत सामग्री लिएर जानुपर्ने अवस्था देखिएको उनले बताए।
यस्तै पीडितलाई त्रिपाल बाँड्न लापिलाङ गाविस पुग्नुभएका सचिव सुग्यान भण्डारी राहत उपलब्ध नगराइकनै चरिकोट फर्किएका छन्। वडा–९का लागि ३० त्रिपाल लिएर गएका उनलाई पीडितले राहत नलिने भन्दै फर्काइदिएका छन्। 'एउटा वडाका वासिन्दाले तीन वटा मात्रै त्रिपाल पाउने स्थिति छ, कसलाई दिने कसलाई नदिने ?' सचिव भण्डारीले भने।
बोच गाविस सचिव रामु पौडेल पनि राहत बाँड्न नसकेर सदरमुकाम फर्किएका छन्। 'पीडितलाई पुग्ने गरी राहत नलैजाँदासम्म गाउँ पस्ने स्थिति छैन', उनले भने। पुग्दो राहत सामग्री लिएर गाउँ जान थालेका सचिव असुरक्षित बनेका छन् ।
यसैगरी दुर्गम गाविस गौरीशङ्करका सचिव शिव खड्का त्रिपाल नलिइकनै पीडितलाई रकम हस्तान्तरण गर्न हेलिकप्टरमा गाउँसम्म त पुगे तर पीडितले त्रिपाल नलिई आएको भन्दै रकम लिन अस्वीकार गरे । राहतस्वरुप उपलब्ध गराउने भनिएको रकम असुरक्षाका कारण बाँड्न नसकेको सचिव खड्काले बताए। 'असुरक्षा कारण रकम बाँड्न सकिएको छैन', उनले भने। राहत सामग्री सँगसँगै सुरक्षाकर्मीसमेत पठाउन सचिव खड्काले स्थानीय प्रशासनसित माग गरेका छन्।
जिल्लाभरिका भूकम्पपीडितका लागि तीन सय क्विन्टल चामल र एक हजार पाँच सय थान त्रिपाल उपलब्ध भएको प्रजिअ प्रेमलाल लामिछानेले बताए। 'अपुग भएकाले खाद्यान्न र त्रिपाल पीडितलाई बाँड्न सकिरहेका छैनौं', उनले भने। रासस